सरकारको नेतृत्व जुनसुकै दलले गरेको किन नहोस् सरकारको संरचना सानाठूला दलको गठबन्धन वा समर्थनले बनेको हुन्छ । यही समर्थनका कारण सरकारले विश्वासको मत प्राप्त गर्छ । तर, यसरी बहुमत बटुली बनेको सरकार स्थायी रहिरहँदैन । राजनीतिक समीकरण बदल्न नेपालका नेताहरू खप्पिस देखिन्छन् । कहिले एउटासँग समीकरण हुन्छ त कहिले अर्कैसँग । पालैपालो सरकारमा जाने सबैको चाहना र लक्ष्य पूरा हुन्छ र हुने गरेको छ । यसरी पटकपटक राजनीतिक समीकरण बदल्नुको लक्ष्य हुन्छ, सत्तामोह र महत्त्वाकांक्षा ।
आलोपालो गरी सरकारमा गएका र जाने सबै दलसँग नेपाललाई बस्नलायक देश बनाउने खासै योजना र कार्यक्रम भएको कसैले पनि महसूस गर्न पाएको पाइँदैन । केही राम्रो गर्न वा सामाजिक–आर्थिक अवस्थालाई सबल बनाउन नैतिकता, सिद्धान्त र मान्यताको आवश्यता पर्छ । तर, नेपालमा यी सबै विशेषता दुर्गन्धित ठाउँमा फ्याल्ने गरिएको छ र फ्यालिन्छ ।
नेपालमा साना र ठूला भ्रष्टाचारका मुद्दाहरू छताछुल्ल छन्, तस्करी व्याप्त छ । नेपाल विश्वमा तस्कर राज्यको मान्यता पाउने तर्खरमा लागिरहेको छ । अनुसन्धानले पुष्टि गरिरहेको छ कि प्रशासन संयन्त्रका साथै राजनीतिक वृत्तका मानिस तस्करी र भ्रष्टाचारमा संलग्न छन् ।
नेपालका सबै दलका नेता–कार्यकर्तामा दूरदर्शिताको अभाव छ । दूरदर्शिता नभएका नेता–कार्यकर्ताले आफ्नो र सानो समूहको भलाइका लागि स्रोतसाधन परिचालन गर्छ । यसले देशको विकास र जनसमुदायको भलाइलाई कोमामा राख्ने कार्य गर्छ ।
दूरदर्शिता भएका नेता–कार्यकर्ताको शक्ति हत्याउने एकमात्र उद्देश्य रहेको हुन्छ । नेताहरू शक्तिको आडमा रङ्गीचङ्गी हुने गर्छन् । सत्ताप्राप्तिका लागि जता र जसरी पनि परिवर्तित हुन्छन् । समयअनुसार उनीहरूले पालुवा फेर्ने गरेका छन् । चिल्लो हुने र नहुने कुरा सत्ता र शक्तिमा निर्भर रहेको हुन्छ । सत्ताप्राप्तिका लागि नेताहरू एकलाई छोडेर अर्कोसँग गठबन्धन गर्छन् । उनीहरूको दिनचर्या यसरी नै व्यतीत भइरहेको हुन्छ । यो र यसप्रकारको कार्यशैलीले देशलाई अस्थिरतातिर धकेलिरहेको छ ।
कानून र मान्यता सबै निकम्मा बन्छन् र बनिरहेका छन् । देश अराजकतातिर उन्मुख भइरहेको छ । यसका अतिरिक्त राजनीतिक अस्थिरताले देश आक्रान्त भइरहेको छ । यस परिप्रेक्ष्यमा सर्वसाधारणले देश विकासको अपेक्षा राख्नु मूर्खता हो । नेताहरूसँग न त नैतिकता छ, न उपलब्ध स्रोतसाधनलाई विवेकपूर्ण ढंगले परिचालन गरी देशलाई समृद्धिको बाटोमा लैजाने गहन सोच छ ।
प्रतिफल दिन सक्ने आर्थिक क्षेत्रहरू जस्तै कृषि, घरेलु, साना र मझौला उद्योग, पर्यटन र जलविद्युत्को विकास हुन सकेको छैन । यी क्षेत्रको विकासले नेपालको अर्थतन्त्रलाई नयाँ उचाइमा लैजान सक्छ । तर, तिनीहरूको विकासमा एक प्रकारको तगारो नै हाल्ने कार्य भइरहेको छ ।
आर्थिक दुरवस्था
विदेशिने युवायुवतीलाई देशभित्रै पर्याप्त रोजगार प्रदान गर्न सक्ने गरी नेपालका कुनै पनि आर्थिक क्षेत्रको विकास हुनसकेको छैन । विगतमा कृषिक्षेत्रले युवायुवतीलाई केही हदसम्म मौसमी रूपमा भए पनि रोजगार प्रदान गरिरहेको थियो । समयको अन्तरालसँगै यो क्षेत्रको विकास पनि उपेक्षित भइरहेको छ । प्रतिफल दिन सक्ने आर्थिक क्षेत्रहरू जस्तै कृषि, घरेलु, साना र मझौला उद्योग, पर्यटन र जलविद्युत्को विकास हुन सकेको छैन । यी क्षेत्रको विकासले नेपालको अर्थतन्त्रलाई नयाँ उचाइमा लैजान सक्छ । तर,
तिनीहरूको विकासमा एक प्रकारको तगारो नै हाल्ने कार्य भइरहेको छ ।
निजीक्षेत्रको योगदानलाई बेवास्ता गरिएको छ । आर्थिक क्षेत्रहरूको विकासमा निजीक्षेत्रको सहभागिता अपरिहार्य हुन्छ । राजनीतिक र नीतिगत अस्थिरताका करण निजीक्षेत्र उत्साहित नभएको मात्र होइन, पलायन नै भइरहेको छ । यतिमात्र होइन, आर्थिक क्षेत्रहरूमा सरकारी क्षेत्रको टुटेफुटेको पहल र खर्चले निजीक्षेत्रलाई छायामा पारिरहेको छ । निजी र सरकारी क्षेत्रको सहकार्य हुने नमूनाले नेपालमा खासै उपलब्धिमूलक नतिजा निकाल्न सकेको देखिँदैन । यसको ज्वलन्त उदाहरण हो, नेपालका सबै युवायुवती रोजगारका लागि विदेशिनु । विपन्नतामा बाँच्नु नेपाली नागरिकको बाध्यता हो ।
नेपालको कुल जनसंख्याको २० प्रतिशत वा ६० लाखभन्दा बढी जनसंख्या गरीबीको रेखामुनि रहेको छ । सापेक्ष गरीबी अझ छताछुल्ल छ । अनुमान गर्न सकिन्छ, नेपालको कुल जनसंख्याको करीब ६० प्रतिशत अंश सापेक्ष गरीब छन् । नेपालीहरू बेरोजगारको शिकार भइरहेका छन् । तिनीहरू जीवन निर्वाहका लागि संघर्ष गरिरहेका छन् किनभने अत्यावश्यक वस्तुहरूको आपूर्तिका लागि उनीहरूसँग स्रोतसाधन दुवैको अभाव छ । त्यसैले उनीहरू जीवन निर्वाहका लागि विदेशिएका छन् र उनीहरूले सास हाल्ने काम गरिरहेका छन् । नेपालीहरूको यो एउटा दु:खदायी बाध्यता हो जसको जीवनले विप्रेषणको भरमा सास फेरिरहेको छ ।
शैक्षिक अस्तव्यस्तता
नेपालको नजिकको छिमेकीहरू मध्ये भारत एक हो । भारतमा गुणस्तरयुक्त शैक्षिक प्रणाली छ । आज विश्वका धनाढ्य मुलुकहरूमा सञ्चालित व्यापारिक कम्पनीहरूमा तल्लो तहदेखि माथिल्लो तहसम्म भारतीयहरूले रोजगारी पाउन सफल भएका छन् । विश्वका कतिपय प्रतिष्ठित कम्पनीहरूको कार्यकारी निर्देशक भारतीयहरू छन् । यो सबै भारतमा आर्जित शिक्षाको परिणाम हो । यसले के देखाउँछ भने भारतीय शिक्षाप्रणाली गुणस्तरयुक्त छ । तर, नेपालमा यस प्रकारको शिक्षाप्रणालीको अभाव छ । एकातिर शिक्षालाई राजनीतिक भागबन्डाले उथलपुथल पारिरहेको छ भने अर्कोतिर जाँच लिने र नतिजा प्रकाशन गर्ने समयतालिकाको अभाव छ । यदि भएमा पनि त्यो तालिकाको आक्षरश: पालना हुन सकेको छैन । नेपालमा शिक्षाको गुणस्तर खस्कँदै जानुमा अध्ययन र अनुसन्धानरहित राजनीतिको भरमा उभिएका मानिसका जमातको शैक्षिक संस्थाहरूमा पकड बढी हुनु हो ।
यही जमातले नेपालको शिक्षालाई गुणस्तरहीन बनाइरहेका छन् । राजनीतीकरणका कारण शिक्षाको गुणस्तर खस्कँदै गएको छ । शैक्षिक संस्थाहरू राजनीतिले समस्याग्रस्त बनिरहेका छन् । सिक्ने, सिकाउने र अनुसन्धान गर्ने वातावरण लोपोन्मुख भइरहेको छ । त्यसैले आज नेपालका शैक्षिक संस्थाहरू विनाविद्यार्थीका हुने अवस्थामा पुगेका छन् । विद्यार्थीहरू शिक्षा आर्जनका लागि विदेशिन बाध्य भएका कारण नेपालका शैक्षिक संस्थाहरूका कक्षा कोठाहरू रित्तिन पुगेका हुन् । सातु वा जुस खाएर अनशन बसी प्राध्यापक बनेका जमातको जगजगीका कारण नेपालको शिक्षा धराशयी बन्न पुगेको छ ।
कुशासन
नेपालको समग्र शासन दिन प्रतिदिन कमजोर हुँदै गएको छ । नेपालमा साना र ठूला भ्रष्टाचारका मुद्दा छताछुल्ल छन् । तस्करी व्याप्त छ । नेपाल विश्वमा तस्कर राज्यको मान्यता पाउने तर्खरमा लागिरहेको छ । अनुसन्धानले पुष्टि गरिरहेको छ कि प्रशासन संयन्त्रका साथै राजनीतिक वृत्तका मानिस तस्करी र भ्रष्टाचारमा संलग्न भएका छन् र भइरहेका छन् । देश सञ्चालनको जिम्मा लिएका उच्च व्यक्तित्वहरू नै अनैतिक र भ्रष्ट भएपछि देश र जनता निरीह हुनु कुनै अनौठो होइन । नेताहरू व्यक्तिगत स्वार्थसिद्धिका लागि लिप्त छन् भने कर्मचारीहरू जीवन निर्वाहका लागि साधनको खोजीमा छन् । यी दुवै समूहको संयोगले नेपालमा भ्रष्टाचार मौलाइरहेको छ । राज्य सञ्चालन गर्ने व्यक्तिहरूबाट नै सार्वजनिक स्रोतको दुरुपयोग हुने गरेको छ । अर्थात् सार्वजनिक सम्पत्ति अपचलन गरी व्यक्तिगत स्वार्थपूर्तिका लागि प्रयोग हुने गरेको छ । नेताहरूको दिनचर्या नै यही उद्देश्य परिपूर्तिका लागि प्रेरित छ । यसले नैतिकता, मूल्यमान्यतामा प्रश्न उठाइरहेको छ । व्याप्त भ्रष्टाचार र तस्करीले पुष्टि गरिरहेको छ कि नेपालका १० जना मानिसमध्ये नौ जना भ्रष्ट वा तस्कर छन् । चाकडी र आफन्त प्रथाले सर्वसाधारण पाखा परिरहेका छन् । यही कुरीति र खराब संस्कारका कारण नेपालको विकासले गति लिन सकिरहेको छैन ।
लेखक अर्थशास्त्री हुन् ।