मुगु । रारा विमानस्थलमा निर्माणाधीन टर्मिनल भवन अन्तिम चरणमा पुगेको छ । खानेपानी तथा सरसफाइ, रङ्गरोगनबाहेक भवन निर्माणको सबै काम सकिएसँगै टर्मिनल भवन अन्तिम चरणमा पुगेको हो ।
विमानस्थलस्थित टर्मिनल बिल्डिङ एन्ड कन्ट्रोल टावरका आयोजना प्रमुख महेश नेपालीले हालसम्म ८५ प्रतिशत काम सम्पन्न भएको जानकारी दिए । निर्धारित समयावधिमा भवन निर्माणको काम सम्पन्न नभएपछि पटकपटक गरी चारपटक म्याद थप गरिएको थियो ।
विसं २०७६ असोज १६ गते नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत एरोड्रम इन्जिनियरिङ विभाग र ओम बुद्ध इन्टरनेसनल प्रालिबीच ट्रमिनल भवन निर्माणका लागि सम्झौता भई सोही वर्षको कात्तिक १ गतेदेखि काम थालिएको थियो । विभिन्न बहाना बनाउँदै पहिलो सम्झौता अवधिको तीन वर्षमा काम सम्पन्न नभएपछि हालसम्म चारपटक म्याद गरिएको आयोजना प्रमुख नेपालीले बताए ।
निर्माण कम्पनीका प्रतिनिधि विवेक श्रेष्ठका अनुसार मौसमले साथ नदिएको अवस्थामा बाहेक करीब ३० दिनभित्र बाँकी काम सम्पन्न गरी भवन हस्तान्तरण गर्नेगरी काम भइरहेको जानकारी दिए । भौगोलिक कठिनाइ, यातायातको असुविधा, विभिन्न समयमा वर्षाले बाटो अवरुद्ध हुनु, दक्ष कामदारको अभावलगायत कारणले निर्माण समय सम्पन्न गर्न नसकिएको उनले स्वीकारे ।
विमानास्थलको टर्मिनल भवन निर्माणको वर्तमान, प्रगति र ढिलाइबारे जानकारी लिन बुधवार जिल्ला समन्वय समितिका संयोजक मञ्जनबहादुर कार्कीको संयोजकत्वमा कर्णाली प्रदेशका सांसदद्वय जितबहादुर मल्ल र मङ्गलबहादुर शाही, प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेका साथै जनपथ, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, पत्रकार र नागरिक अगुवाको उपस्थितिमा निर्माणाधीन भवनको निरीक्षण गरिएको थियो ।
निरीक्षणपछि भवन यथाशीघ्र समपन्न गर्न निर्माण कम्पनीलाई ताकेता गरिएको जिल्ला समन्वय समितिका प्रमुख कार्कीले बताए । वर्षाले विमानस्थलको मुनितिर क्षति पुगी पहिरोको जोखिममा परेकाले उक्त समस्या समाधानका लागि सरोकार भएका निकायमा आवश्यक पहल र समन्वय गर्ने निर्णय पनि गरिएको उनले जानकारी दिए ।
सुविधासम्पन्न ट्रमिनल भवन, यात्री सहायता कक्ष र प्रतीक्षालय नहुँदा विमानस्थलबाट बाहिरिने र भित्रिने यात्रीले चर्को घाम लाग्दा, झरी, हिउँ पर्दा तथा जाडोयाममा सास्ती भोग्दै आएका छन् । नागरिक उड्डयन कार्यालयले लामो समयदेखि काठको टहराबाट ‘एयर ट्राफिक कन्ट्रोल’को कार्य गर्दै आइएको जनाएको छ । रासस