काठमाडौं। राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र एमएडब्ल्यू वृद्धि मोटर्स प्रालिबीच विद्युतीय गाडी (ईभी)मा कर्जा लगानी गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौताअनुसार वार्षिक ७ दशमलव ७७ प्रतिशत स्थिर ब्याजदरमा निजी सवारी (रातो प्लेट)को नामी र सेरेस ईभीका लागि मासिक किस्ताबन्दीमा कर्जा भुक्तानी गर्ने गरी बैंकले अधिकतम १ करोड रुपैयाँसम्म कर्जा लगानी गर्ने बताइएको छ ।
कर्जा रकमको शून्य दशमलव ७५ प्रतिशत सेवा शुल्क लाग्ने छ । गाडीको कोटेशनमा अंकित मूल्यको ईभीको बढीमा ८० प्रतिशतसम्म बैंकले कर्जा लगानी गर्नेछ भने बढीमा सात वर्षसम्म कर्जा अवधि दिइने यो सम्झौता कात्तिक मसान्तसम्म लागू हुने बैंकले जानकारी दिएको छ । बैंकले २९४ शाखा, ३१२ एटिएम र ७३ एक्स्टेन्सन काउन्टरमार्फत बैंकिङ सेवा दिँदै आएको छ ।
कल सेन्टर चौबीसै घण्टा सञ्चालन
बैंक लिमिटेडको केन्द्रीय कार्यालय सिंहदरबार प्लाजामा कल सेन्टर अब चौबीसै घण्टा सञ्चालन हुने भएको छ । बैंकको सेवाका बारेमा टेलिफोन नम्बर ०१–५९७००१८ कल गरेर सेवाका बारेमा जानकारी लिन सकिने बताइएको छ । यसबाट बैंकको सेवाका बारेमा जानकारी लिन थप सहज भई बैंकको गुणस्तरीय बैंकिङ सेवा प्रवाहमा थप सुधार आउने अपेक्षा गरिएको छ ।