उहिले रिन लागोस् तर दिन नलागोस्, भन्थे । अहिले आएर बल्ल यो उखान चरितार्थ भएको छ । देशलाई टन्न रिन लाग्या छ । हाम्रो देशको वार्षिक बजेट रू. १८ खर्ब हाराहारी, तर वैदेशिक ऋण करीब २४ खर्ब पुगिसकेको छ । यो हो नि तरीका । आम्दानी अठन्नी, खर्च रुपैयाँ भनेको यही त होला । पुर्खाले घाँटी हेरी हाड निल्नु पनि भन्थे । तर अहिले त हाड हेरी घाँटी फुलाउने जमाना जो छ ।
ऋण लिनु मानिसको आशावादी हुनुको सबैभन्दा ठूलो प्रमाण हो । र उधारो दिनु त आशावादको परीक्षा नै हो । हाम्रो जीवन, समाज र यहाँसम्म कि पूरै देश नै उधारोमा वा ऋणमा टिकेको छ । व्यक्ति व्यक्तिका ऋण कति छ त यसको लेखाजोखा शायद कसैसँग छैन । तर बैंकले दिएका ऋणहरू थाहा पाउन त हाम्रा दैनिक पत्रपत्रिकाहरू पढे पुग्छ । त्यहाँ समाचारभन्दा ऋण तिर्न नसकेर वा नचाहेर असुलीका लागि बैंकहरूले ऋणीहरूलाई जारी गरिराखेका ३५ दिने सूचनाहरूको बाढी नै हुन्छ ।
ऋण लिनु पनि एउटा कला हो । र, त्यसलाई फिर्ता नगर्नु झन् ठूलो कला हो । यो त बिए पास गरेपछि एमए गरे जस्तै हो । अर्थात् जसले धेरै ऋण लिन्छ, विस्तारै विस्तारै उसले त्यो फिर्ता नगर्ने कला पनि सिकिहाल्छ । वास्तवमा यो एउटा साधना हो । जो यसमा सिद्ध हुन्छ, उसको जीवन पनि सफल हुन्छ । निरन्तरको प्रयास, सुझबुझ, धैर्य, वाणीमा मधुरता आदि कलाले मानिस ऋण लिने, तर फिर्ता नगर्ने कलामा कुशल हुन पुग्छ । मानव सभ्यताको विकासको कथा परस्पर ऋण–धनको कथा हो । के पशुहरूले एक–अर्कासँग ऋण लिन्छन् र ?
ऋणको मूलमा एउटा गहिरो सिद्धान्त हुन्छ । त्यो के हो मलाई नि थाहा छैन ! नत्र म पनि ऋण लिइहाल्थेँ नि । तर कुनै न कुनै सिद्धान्त त पक्कै छ । जुन गुण हाम्रो राष्ट्रिय र निजी जीवनको एउटा विशेषता बनिसक्या छ भने यसको गहिराइमा कुनै न कुनै दर्शन त पक्कै होला नै । यस्तो दर्शनलाई चार्वाकले प्रतिपादन गरेका थिए । तर त्यति बेला यो चलेन । अहिले चाहिँ यसकै जमाना छ । उहिले ऋणलाई घिन भन्थे, अहिले यसलाई धन भन्छन् । हजुरबावुले खाएको नातिले तिर्छ भन्दै ऋण लिन जोसिनेको संख्या बढ्दो छ ।
भिडियोमा हेर्नुहोस् ।
सरकारको गति र मति हेर्ने हो भने हामीले विश्वमा भएका प्राय: सबै देशबाट ऋण लिने लाइनमा छ । यदि हामीले ठूलासाना सबै टापुरूपी देशबाट समेत ऋण लिन सक्यौं भने उनीहरूको केही पनि बिग्रँदैन, तर हाम्रो चैं देशको बजेटै बन्छ ।
सम्पूर्ण मानव जाति नै अहिले दुई भागमा बाँडिएका छन् । एउटा जो ऋण लिन्छ, अर्को जो दिन्छ । मानिस–मानिसबीच आज उधारोको साना–ठूला पुल बनेका छन् । जुन बेला यी पुल भाँचिन्छन्, मानिस एक्लो हुन्छ । उधारो हाम्रो जीवनको मूल शक्ति हो । कति मानिसहरू यो आशामा बाँचेका छन् कि उनीहरू एक दिन आफ्नो उधारो असुल गर्ने नै छन् । अन्य कति मानिसहरू पनि यो विश्वासमा बाँचेका छन् कि उधारो कहिल्यै फिर्ता गर्नुपर्ने छैन । यो दोस्रो वर्गका मानिसहरूको जीवन चैं सफल छ । यसमा अरूलाई पनि सफल पार्न एकथरी मानिसले देशमा ऋण नतिर्ने आन्दोलन नै चलाइरहेका छन् ।
उधारोको यो धारो निरन्तर बग्दो छ । चुनावमा नेताले उधारो सपना बेचे । सत्ता लेनदेनमा दलहरूबीच उधारोमै कारोबार हुन्छ । फरक यति हो– सर्वसाधारणको उधारो उठाउन गाह्रो छ, दलहरूको उधारो कुनै न कुनै बेला उठिहाल्छ । हाम्रो सामाजिक, आर्थिक, राजनीतिक जीवनको जमीन त्यसैबाट सिञ्चित छ । यो जीवनधारा हो । अमृतधारा हो । हाम्रो देशमा उधारो वा ऋण लिने सबैभन्दा राम्रो वातावरण छ । किनकि हामी पुनर्जन्ममा विश्वास गर्छौं नि त । ऋण लिनेलाई थाहा छ कि यो जन्ममा सकिएन भने पनि अर्को जन्ममा त पक्का तिर्नैपर्छ । तर यो जन्ममा भने कसैगरी तिर्ने छैन । यस्तो क्रेडिट सुविधा छ अरू कुनै धर्ममा ? वा कुनै देशमा ? हामी आत्माको अमरत्वमा विश्वास गर्छौं । आत्मा स्थायी पूँजी हो, जो अमर छ । शरीर त एउटा यात्री न हो । महत्त्व त्यो शरीरको हैन, बरु लेनदेनको त्यो महान् परम्पराको हो, जो वर्षौंदेखि चलिआएको छ ।
प्रत्येक पुरानो पिढीले नयाँ पिढीका नाममा ऋण थोपरेर जाने संस्कृति छ । तर प्रत्येक नयाँ पिढीले त्यसलाई तिर्न स्पष्ट रूपमा असमर्थता देखाइरहेको छ । किनकि उधारो हाम्रो एउटा परम्परा हो । उधारो तिर्नु भनेको परम्परासँग विद्रोह गर्नु हो । त्यसैले हामी नयाँ ऋण लिन्छौं र पुरानो पनि तिर्दैनौं । त्यसैले हेर्दाहेर्दै हामी हाम्रै जीवनकालमा ऋणमा चुर्लुम्म डुब्न पुगेका छौं । तर के तपाईं माछालाई पानीमा डुबेको छ भन्न सक्नुहुन्छ र ? त्यही त उसको जीवन हो । बरु हामीलाई ऋणको नदीबाट बाहिर निकाल्नुभयो भने त हामी तड्पिन पो शुरू गर्छौं । अनि हामी फेरि पानीमै हामफाल्नेछौं, अर्थात् फेरि ऋणमै डुब्नेछौं ।
मान्छेले मात्र हैन, देशले पनि ऋण लिन्छ । हाम्रो देशले पनि धेरै ऋण लिइसकेको छ । अहिले हाम्रा सरकारहरूको गति र मति हेर्ने हो भने हामीले विश्वमा भएका प्राय: सबै देशबाट ऋण लिने लाइनमा छ । यदि हामीले ठूलासाना सबै टापुरूपी देशबाट समेत ऋण लिन सक्यौं भने उनीहरूको केही पनि बिग्रँदैन, तर हाम्रो चैं देशको बजेटै बन्छ । उधारोको त कुनै सीमा हुन्न । यो त अनन्त आकाशजस्तो हुन्छ । ऊ त्यो चन्द्रमा, तारामण्डल हेर्नुस् त । मंगल ग्रहमा छिमेकीले भर्खरै रकेट पठायो जस्तो छ । कसैले हाम्रा अर्थमन्त्रीलाई त्यसमा बसाउन सक्ने हो भने त्यहाँबाट पनि ऋण ल्याउन पो सक्थे कि ! अनि श्रममन्त्रीलाई पनि मंगल ग्रहमा पठाउन पाए त्यहाँबाट पनि कुनै रोजगारीका कोटा हात पार्न सक्थे कि ! यो आकाश यति धेरै फैलिएको छ । हामीलाई आकाशसँग धेरै लिनुदिनु केही पनि छैन । हामीलाई त त्यहाँबाट अलिकति ऋण मात्र चाहिएको छ ।
कतिपय मानिसहरू ऋणलाई बोझ ठान्छन् । ऋण कदापि बोझ हैन, यो त जोश हो । त्यसैले होश भएका सबै देश ऋणैऋणमा छन् । फरक यति छ– तिनीहरू ऋणबाट देशको विकास गर्छन् । यहाँ नेता र कर्मचारीले पेट भर्छन् । ऋण त तातो बेलुन हो, जसले हामीलाई माथि माथि आकाशमा शयर गराउन सक्छ । जब सरकारले सबैसँग ऋण माग्दै हिँडिरहेको छ भने ऋण लिनु प्रत्येक नागरिकको अधिकार मात्र होइन, कर्तव्य पनि हो । ऋण लिनु भनेको राष्ट्रको विकासमा सक्रिय योगदान दिनु पनि हो । त्यसैले त बैंकहरूले तपाईंलाई ऋण लिन बोलाइरहन्छन् । त्यसैले तपाईं पनि सकेजति ऋण लिनोस् । ऋण लिएपछि तिर्नैपर्छ भन्ने केही छैन । तपाईंका सन्तानले मन लागे तिर्लान्, नलागे मुग्लान छिर्लान् । तपाईंलाई के को चिन्ता छ र ? चार्वाक काकाले उहिल्यै ‘ऋण लिएर भए पनि घिउ चैं पिउनोस्’ भनेर त्यसै भन्या हुन् त ? त्यसैले आज ऋण लिऊँ, भोलि भर्सेला परोस् ।