कच्चापदार्थको आपूर्तिमा समस्या तथा केही जिल्लामा निर्यात प्रतिबन्धका कारण भारतसँगको सीमानजिकका रोडा उद्योगहरू समस्यामा पर्न लागेका छन् । रूपन्देही र कपिलवस्तु जिल्लाबाट यसको निर्यातमा प्रतिबन्ध लागेपछि त्यसको असर देशभरि नै परेको छ । सरकारी निकायको असहयोग र समन्वयको अभावमा स्रोतबाट समयमा नै ढुङ्गा निकाल्न नपाएको गुनासो व्यवसायीहरूले गरेका छन् । राष्ट्रपति चुरे संरक्षण कार्यक्रम शुरू भएपछि रोडाढुङ्गा निकासीमा निकै समस्या आएको बताइन्छ । तर, नेपालबाट जति निकाले पनि नसकिने खालको यस पदार्थको निकासीमा पूर्ण प्रतिबन्ध लगाउने होइन, उचित मापदण्ड बनाउन आवश्यक थियो । भारतमा पूर्वाधार निर्माणमा अहिले जति काम भइरहेको छ, अबको १०–२० वर्षपछि त्यो नहुन सक्छ । व्यवसायी र सरकार दुवैलाई तुलनात्मक लाभ भएको रोडा निकासीलाई प्रवर्द्धन गर्ने किसिमले नीतिनिर्माण गर्नेतर्फ सबैले सोच्न आवश्यक छ ।
नेपालसँग सीमा जोडिएका भारतीय राज्यहरू विहार तथा उत्तर प्रदेशमा सडकलगायतका पूर्वाधार निर्माणको क्रम तीव्र बनेपछि सृजना भएको मागबाट फाइदा लिन व्यवसायीहरूले नेपाल क्रसर उद्योग स्थापना गरे र यसमा निकै ठूलो लगानी गरे ।
(सम्पादकीयबाट) वर्ष ८, अंक ७२, शुक्रवार १४ मङ्सिर, २०६९