बेरोजगारी मुलुकको मुख्य समस्या हो । यसको समाधानका लागि आन्तरिक रोजगारी सृजना हुनु जरुरी हुन्छ । रोजगारी सृजना बहुआयामिक र अन्तरसम्बन्धित विषय भएकाले सबै क्षेत्र र पक्षको सहकार्य, समन्वय र सहयोग आवश्यक हुन्छ । उपलब्ध रोजगारीका अवसरलाई पनि विभिन्न प्रवर्द्धनात्मक क्रियाकलापमार्फत उपयोगमा ल्याउने गरिन्छ । रोजगारी प्रवर्द्धनका लागि रोजगार मेला एउटा महत्त्वपूर्ण अभियान हो ।
यसले रोजगार खोज्ने र रोजगार दिनेलाई जोड्छ । यसलाई कार्यरूप प्रदान गर्न हालै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘श्रमाधान’ नामक अभियानसहित देशव्यापी रोजगार मेलाको आयोजना गरिरहेको छ । यसमा निजीक्षेत्र र दाताहरू पनि जुटेका छन् । मन्त्रालयले आन्तरिक रोजगारी प्रवर्द्धन गर्दै वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने उद्देश्यले मेला आयोजना गरिएको बताएको छ । यसका लागि अलग्गै वेबसाइट पनि तयार गरी रोजगारदाता र रोजगार खोज्नेले विवरण भर्न पाउने व्यवस्था गरी रोजगार बजारलाई पहुँचयोग्य समेत बनाइएको छ । यस प्रकारको नवीन प्रयत्न प्रशंसनीय छ ।
रोजगार मेलाले मात्र देशको बेरोजगारीको समस्याको निकास दिन सक्दैन । नागरिक सचेत भइसकेकाले अब आशा निराशामा परिणत हुने काम सरकारी निकायले गर्नु पनि हुँदैन । यस प्रकारको प्रयास रोजगारी सृजनाकै लागि गर्न सक्नुपर्छ ।
तर, रोजगार मेलाले मात्र देशको बेरोजगारीको समस्याको निकास दिन सक्दैन । नागरिक सचेत भइसकेकाले अब आशा निराशामा परिणत हुने काम सरकारी निकायले गर्नु पनि हुँदैन । आगामी दिनमा यस प्रकारको प्रयास रोजगारी सृजनाकै लागि गर्न सकियो भने मात्र नागरिकले निराशा भोग्नुपर्ने थिएन । खाना खान खाना पकाउनु महत्त्वपूर्ण विषय हो, खाना पस्कनु होइन । रोजगार मेला आयोजना गर्नु नराम्रो काम नभए तापनि ‘श्रमाधान’ का लागि रोजगारी सृजना नै प्राथमिकतामा रहनुपर्छ । यही सन्दर्भमा यस आलेखमा रोजगार मेलाको सैद्धान्तिक र व्यावहारिक पक्षका बारेमा चर्चा गरिएको छ ।
रोजगार मेलाका केही सकारात्मक पक्ष छन् । यसले रोजगारदाता र काम खोज्नेलाई एकै ठाउँमा ल्याएर रोजगारी प्रदान गर्न वा रोजगारी पाउन मद्दत गर्छ । कामदार पाउने यो सजिलो उपाय भएकाले करीब पूर्ण–रोजगार अर्थतन्त्र भएका जापान, कोरिया, अमेरिकाजस्ता देशमा यस्ता मेला रोजगारदाताकै अगुवाइमा आयोजना गरिने गरिएको पाइन्छ । यसबाट रोजगार खोज्न झन्झट लाग्नेहरूले पनि सीधै रोजगारी प्राप्त गर्ने भएकाले ती देशमा श्रम बजारमा बचेखुचेका बेरोजगारले पनि रोजगारी पाउने गरेका छन् । मेलामा शीपको बेमेललाई मिलाउने काम हुन्छ । यसको अर्थ रोजगार मेलामा जाने सबै बेरोजगारले रोजगारी पाउँछन् भन्ने हो । यसमा नै वास्तवमा रोजगार मेलाको सार्थकता रहन्छ ।
यसका साथै रोजगार मेलाले शीप तथा तालीमका अवसरका बारेमा पनि जानकारी प्रदान गर्छ । यस्ता मेलाबाट कामदार नपाएका रोजगारदाताले शीप प्रदान गरेर पनि यस्ता कामदारको आवश्यकता परिपूर्ति गरेको पाइन्छ । यसमा रोजगारदाताले कामदारमा लगानी पनि गर्छन् । तर, यस्तो अवस्था पूर्ण–रोजगार भएको रोजगार बजारमा मात्र हुने स्पष्ट छ ।
यस अर्थमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा निजीक्षेत्र र दातृ निकायहरू समेतको सहयोगमा सञ्चालित देशव्यापी रोजगार मेला केही हदसम्म मात्र उपयोगी र समसामयिक पहल हो भन्ने लाग्छ । मेलाबाट केही व्यक्तिले रोजगारी पाउने र केहीले शीप प्राप्त गर्ने सम्बन्धी सूचना र जानकारी पाउने भए तापनि धेरै बेरोजगार भएको देशमा ठूलो तामझामका साथ गरिने मेलाले बेरोजगारलाई थप निराश बनाउन सक्ने सम्भावनाको बेलैमा आकलन गरिनुपर्छ । स्पष्ट के छ भने अनलाइन र भौतिक रूपमै उपस्थित भएर रोजगारी र शीपका लागि आवेदन गर्ने सबैले रोजगारी र शीप पाउने छैनन् । यसबाट उनीहरूको निराशा बढ्ने देखिन्छ ।
मेलाबाट अहिले नै ठूलो संख्यामा रोजगारी सुनिश्चित गराउन नसकिए पनि दीर्घकालीन रोजगारीका अवसर सृजना गर्न र शीप विकास गर्न सहज हुने विश्वास गर्न सकिन्छ । अहिलेको मेलाबाट श्रम बजारको अवस्थाबारे बुझ्ने र आवश्यकताअनुसार श्रमशक्ति उत्पादन गरेर रोजगारी प्रवर्द्धन गर्न केही हदसम्म योगदान मिल्ने नै छ ।
नागरिकको जीवनमा खुशी ल्याउन र आशा जगाउन काम गर्न चाहने सबैलाई रोजगारीका अवसर प्रदान गरिनु आवश्यक छ । त्यसो त श्रम गर्न पाउने र रोजगारी पाउने नागरिकको संवैधानिक हक हो । यसको प्रत्याभूतिका लागि सरकारले नीतिगत, कानूनी, संस्थागत र अन्य कार्यक्रमिक प्रयास पनि गरेको छ । आगामी १६औं योजनामा उत्पादनशील काम र मर्यादित रोजगारीको सुनिश्चितता गर्ने गरी रणनीति तथा कार्यक्रमहरू पनि तय गरिएका छन् । आगामी वर्ष २०८१–८२ र १६औं योजनामा यस प्रकारको सहकार्यबाट उत्पादनशील रोजगारी, मर्यादित काम र दिगो सामाजिक सुरक्षा प्रदान गर्ने गरी रणनीति, कार्यक्रम तथा आवश्यक बजेटको प्रबन्ध गरिएको छ । यसका लागि आगामी दिनमा आयात प्रतिस्थापनसहितको आर्थिक क्रियाकलापमा वृद्धि नगरेसम्म देशमा रोजगारीका अवसर सृजना नहुने स्पष्ट छ । यस अर्थमा रोजगार सृजना हुने आर्थिक क्रियाकलापमा वृद्धि गर्नु पहिलो काम हो भने रोजगार मेलाजस्ता अन्य काम सहायक मात्र हुन् । यतिबेला हामी पहिलोको काममै केन्द्रित हुनु जरुरी छ ।
मेलाको सफलता तथ्यांकमै हेर्न सकिन्छ । विराटनगर र जनकपुरमा सम्पन्न मेलाबाट केही बेरोजगार व्यक्तिले रोजगार प्राप्त गरिसकेको जानकारी प्राप्त भएको छ । यो यस मेलाको सफलताको स्पष्ट प्रमाण हो । अन्य प्रदेशका मेलाबाट पनि यस्तै परिणाम प्राप्त हुने आशा छ । मधेशलगायत सबै प्रदेशका रोजगार मेलामा काम खोज्नेको घुइँचो देखिएका समाचारहरू पनि प्रकाशित भएका छन् । जनकपुरमा मात्र ६ हजारले मेला अवलोकन गरेको तथ्यांक सार्वजनिक भएको छ ।
मेलाबाट रोजगारीका लागि होटेलतर्फ १०५ जना, अटोमोबाइल क्षेत्रमा ३५, बैंकमा २७ र सुरक्षा गार्डमा ८० गरी २४७ जनालाई रोजगारीका लागि अन्तर्वार्तामा बोलाइएको छ । उनीहरूबाट सर्टलिस्ट गरेर आवश्यकताअनुसार दक्ष जनशक्तिलाई रोजगारी दिइने रोजगारदाताले बताएका छन् । यसबाट बेरोजगारीको वास्तविक अवस्थाको पनि जानकारी मिलेको छ । युवाहरूले कस्तो काम चाहेका छन् भन्ने पनि स्पष्ट भएको छ । तर, मेला सहभागीमध्ये २ प्रतिशतले पनि रोजगारी नपाउने अवस्था देखिएको छ ।
रोजगारी सृजना र यस्ता रोजगारीमा सबैको पहुँच सुनिश्चित गर्नु मुलुकको सबैभन्दा ठूलो चुनौती रहेको विद्यमान अवस्थामा रोजगार मेलामा निजीक्षेत्रलगायत सबैको सहकार्य हुनु उत्साहजनक विषय हो । निजीक्षेत्र नै मुख्य रोजगारदाता रहेको सन्दर्भमा आगामी दिनमा यस क्षेत्रले आन्तरिक रोजगारी सृजनामा पनि मुख्य भूमिका निर्वाह गर्नु जरुरी छ । अब उद्योगपतिहरू व्यापारी बन्ने क्रमको अन्त्य हुनुपर्छ । देश विदेशी सामान बेच्ने स्थल बनेकाले आन्तरिक उत्पादन नहुँदा युवाहरू विदेशिनु परेको कटुसत्य सबैले स्वीकार्नुपर्छ र नागरिकलाई देशमा मर्यादित रोजगारीको सुनिश्चितता हुनुपर्छ । व्यापक रोजगारीका अवसर उपलब्ध भएमा रोजगार मेला नै आवश्यक नपर्न पनि सक्छ ।
अन्त्यमा, रोजगार मेलाजस्तो नवीन पहल गरी श्रम बजारलाई चलायमान बनाउन गरिएको प्रयासका लागि सम्बद्ध सबै पक्षलाई धन्यवाद त ज्ञापन गर्नुपर्छ । तर, प्राथमिकताबाट विचलन पनि हुनु हुँदैन । मेलाका लागि खर्च गरिएको साधन–स्रोत रोजगारी सृजनामा लगाएको भए सबैले गर्व गर्ने र संविधान, योजना र नीति तथा कार्यक्रमको लक्ष्यअनुसारको उपलब्धि पनि प्राप्त हुने थियो । तथापि मेलाबाट अहिले नै ठूलो संख्यामा रोजगारी सुनिश्चित गराउन नसकिए पनि दीर्घकालीन रोजगारीका अवसर सृजना र शीप विकास गर्न सहज हुने विश्वास गर्न सकिन्छ । अहिलेको मेलाबाट श्रम बजारको अवस्थाबारे बुझ्ने र आवश्यकताअनुसार श्रमशक्ति उत्पादन गरेर रोजगारी प्रवर्द्धन गर्न केही हदसम्म योगदान मिल्ने नै छ ।
लेखक राष्ट्रिय योजना आयोगमा कार्यरत छन् ।
– डा. लोकनाथ भुसाल