काठमाडौँ । सान्भि इनर्जी लिमिटेडले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको आईपीओ बाँडफाँट गरेको छ । कम्पनीले वैशाख ५ गतेदेखि वैशाख १९ गतेसम्म पहिलो चरणको आईपीओ निष्कासन गरी वैशाख ३१ गते बाँडफाँट गरेको हो ।
कम्पनीले आफ्नो जारी पूँजी ८८ करोड रुपैयाँको आधारमा सर्वसाधारणका लागि ४३ दशमलव शून्य ७ प्रतिशतले हुने ३७ करोड ९० लाख रुपैयाँ बराबरको आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डको अनुमति पाएको हो । सर्वसाधारणमा जारी हुने कुल कित्ता आईपीओमध्ये कम्पनीले पहिलो चरणमा ८ लाख ८० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि र २ लाख ९१ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरी बाँडफाँट गरेको हो ।
पहिलो चरणको आईपीओ निष्कासन तथा बाँडफाँट सम्पन्न गरेको कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि जेठ ९ गतेदेखि आईपीओ निष्कासन गर्न लागेको छ । सर्वसाधारणका लागि कम्पनीले २४ लाख १५ हजार ३०० कित्ता आईपीओ सार्वजनिक निष्कासनमा ल्याउन लागेको हो । आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बाँडफाँट गरी बाँकी रहेको शेयरमध्ये पनि सामूहिक लगानी कोषका लागि १ लाख ४५ हजार ५०० कित्ता र कम्पनीका कर्मचारीहरूका लागि ५८ हजार २०० कित्ता आईपीओ बाँडफाँट गरिसकेको जानकारी कम्पनीले दिएको छ ।
कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ निष्कासन गर्न लागेको हो । सर्वसाधारण लगानीकर्ताहरूलाई छिटोमा जेठ १३ गतेसम्म आईपीओ निष्कासन हुनेछ । छिटो अवधिभित्र मागबमोजिम आवेदन नपरेमा भने जेठ २३ गतेसम्म निष्कासन लम्बिने जानकारी कम्पनीले दिएको छ । तर पछिल्लो समय सर्वसाधारणमा आईपीओ निष्कासन हुँदा पहिलो दिनमा नै मागभन्दा बढी आवेदन पर्दै आएकाले कम्पनीको आईपीओ पनि छिटो अवधिभित्र मात्र निष्कासनमा रहने निश्चितप्रायः जस्तै छ ।
कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयमार्फत आवेदन पेश गर्नुपर्नेछ । साथै मेरो शेयर अनलाईनमार्फत पनि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।
कम्पनीले आईपीओ निष्कासन प्रयोजनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले समयमै वित्तीय दायित्व प्रदान गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी प्लस इम्युअर रेटिङ प्रदान गरेको छ । हाल संस्थापकतर्फ ५६ दशमलव ९३ प्रतिशत शेयर स्वामित्व रहेको कम्पनीको स्थानीयमा १० प्रतिशत र कर्मचारी समेत सर्वसाधारणमा ३३ दशमलव शून्य ७ प्रतिशत स्वामित्व रहने गरी आईपीओ निष्कासन गरेको हो । आईपीओ निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी ८८ करोड रुपैयाँ कायम हुनेछ ।
कम्पनीले इलाम जिल्लामा ७ दशमलव ६ मेगावाट क्षमताको जोगमाई खोला साना जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी २०७४ साल वैशाख १८ गतेदेखि व्यापारिक उत्पादन शुरु गरिसकेको छ भने ५ दशमलव २ मेगावाट क्षमताको जोगमाई क्यासकेड जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा छ । यो कम्पनी सञ्चित नाफामा सञ्चालनमा छ । गत आर्थिक वर्ष ०८०/८१ सम्मको वास्तविक वित्तीय विवरणअनुसार कम्पनी १० करोड ३८ लाख रुपैयाँभन्दा बढी सञ्चित नाफामा रहेको छ । सो अवधिसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ १२० रुपैयाँ ७४ पैसा र प्रतिशेयर आम्दानी १७ रुपैयाँ ३ पैसा छ ।