काठमाडौं । सान्भि इनर्जी लिमिटेडले २०८२ वैशाख ५ गतेदेखि पहिलो चरणको आईपीओ निष्कासन गर्न लागेको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट सर्वसाधारणका लागि ३७ करोड ९० लाख रुपैयाँ बराबरको आईपीओ निष्कासनका लागि कम्पनीले अनुमति पाएको हो ।
कम्पनीले आफ्नो जारी पूँजी ८८ करोड रुपैयाँको आधारमा सर्वसाधारणका लागि ४३ दशमलव शून्य ७ प्रतिशत आईपीओ निष्कासनका लागि बोर्डको अनुमति पाएको हो । सर्वसाधारणमा जारी हुने कुल कित्ता आईपीओमध्ये कम्पनीले पहिलो चरणमा ८ लाख ८० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि र २ लाख ९१ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गर्न लागेको हो ।
स्थानीयमा जारी हुने आईपीओ इलाम जिल्लाको इलाम नगरपालिका वडा नं. १० (साविकको गोदक गा.वि.स. का १ देखि ९ नम्बर सम्मका वडाहरू), माईजोगमाई गाउँपालिका वडा नं. १ (साविकको नयाँ बजार गा.वि.स.का १ देखि ४ र ६ देखि ९ नम्बर वडाहरू) माई गोजमाई गाउँपालिका वडा नं. ३ र ४ (साविकको नाम्सालिङ्ग गा.वि.स.का १ देखि ९ नम्बरसम्मका वडाहरू तथा नयाँबजार गा.वि.स.को वडा नं. ५), सूर्योदय नगरपालिका वडा नं. १० (साविकको फिक्कल गा.वि.स. का ६ देखि ९ नम्बरसम्मका वडाहरु) तथा सूर्योदय नगरपालिका वडा नं. १ (साविकको पञ्चकन्या गा.वि.स. का २, ६, ८ नम्बर वडाहरूका) बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।
कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ निष्कासन गर्न लागेको हो । दुबै तर्फका खरीदकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म माग गर्दै आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूमा छिटोमा वैशाख १९ गतेसम्म आईपीओ निष्कासन गरिनेछ भने सो अवधिसम्म मागबमोजिम आवेदन नपरेमा ढिलोमा जेठ ३ गतेसम्म निष्कासन लम्बिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने वैशाख १९ गतेभित्र आवेदन पेश गर्नुपर्नेछ ।
कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ । स्थानीय बासिन्दाले आयोजना स्थल, नेपाल धितोपत्र बोर्डबाट सि–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । साथै नबिल बैंकको फिक्कल शाखा कार्यालयबाट पनि आवेदन दिन सकिने व्यवस्था छ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले पनि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरूसँगै मेरो शेयर अनलाईनमार्फत आवेदन दिन पाउने व्यवस्था छ । कम्पनीको आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्गस् नेपालले कम्पनीलाई वित्तीय दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।
यस कम्पनीले ७ दशमलव ६ मेगावाट क्षमताको जोगमाई खोला साना जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७४ वैशाख १८ गतेदेखि व्यापारिक उत्पादन शुरु गरिसकेको छ भने ५ दशमलव २ मेगावाट क्षमताको जोगमाई क्यासकेड जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा छ ।
यो कम्पनी सञ्चित नाफामा सञ्चालन छ । गत आर्थिक वर्ष ०८०/८१ सम्मको वास्तविक वित्तीय विवरण अनुसार कम्पनी १० करोड ३८ लाख रुपैयाँभन्दा बढी सञ्चित नाफामा छ । सो अवधिसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ १२० रुपैयाँ ७४ पैसा र प्रतिशेयर आम्दानी १७ रुपैयाँ ३ पैसा छ ।