काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले आगामी चैत २१ गते वार्षिक साधारण सभा बोलाएको छ । फागुन २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले अमृतभोग कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई वितरण गर्ने लाभांश पारित गर्नुका साथै हकप्रद शेयर निष्कासन प्रस्तावलाई पनि संशोधन गर्नेछ । यसअघि छैटौं वार्षिक साधारण सभाबाट पारित २५ प्रतिशत हकप्रद शेयर संशोधन गरी १७ प्रतिशत हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव सभाले पारित गर्नेछ ।
सभाले हाल कायम चुक्ता पूँजी २ अर्ब रुपैयाँको ७ दशमलव ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि शून्य दशमलव ३९४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावलाई पनि स्वीकृति प्रदान गर्नेछ । साथै सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्दै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पनि पारित गर्नेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले चैत ८ गते बुक क्लोज गर्ने भएको छ । बुक क्लोजका आधारमा चैत ७ गतेसम्म कायम शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।