काठमाडौं । सानिमा लिमिटेडले सार्वजनिक शेयर निष्कासन (आईपीओ) जारी गर्नेलगायतका प्रस्ताव पारित गर्न आगामी कात्तिक १४ गते प्रथम वार्षिक साधारणसभा बोलाएको छ ।
कम्पनीको असोज १८ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे सभा बस्ने निर्णय गरेको हो ।
सभाले आईपीओ निष्कासन गर्ने, सोबाट प्राप्त रकमको उपयोगका लागि रणनीति बनाउने र सोका लागि आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।
साथै शेयरधनीका नाममा कायम शेयरबापत भुक्तानी गर्न बाँकी रकम चुक्ता गर्ने गरी ७५ दशमलव ७४२१ प्रतिशत (करसहित) लाभांश वितरण गर्ने, वार्षिक र लेखापरीक्षक प्रतिवेदनसहित गत आर्थिक वर्षका वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने, चालु आवका लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने र सञ्चालकहरूको नियुक्ति गर्ने प्रस्ताव पारित हुनेछ ।