काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १२८ प्रतिशत वृद्धि भएको छ ।
गत आवमा कम्पनीले रू. ४ करोड ८५ लाख नाफा कमाएकोमा चालू आवमा बढेर रू. ११ करोड ८ लाख पुगेको छ । चालू आवमा कम्पनीको आम्दानीमा वृद्धि भएसँगै नाफा पनि बढेको हो । गत आवको तुलनामा चालू आवमा कम्पनीको कुल आम्दानी १६५ प्रतिशत वृद्धि हुँदा गत आवमा कम्पनीको कुल आम्दानी रू. ६८ करोड ६३ लाख रहेकोमा चालू आवमा बढेर रू. १ अर्ब ८२ करोड पुगेको छ ।
कम्पनीको चुक्ता पूँजी रू. ४ अर्ब १८ करोड छ । पहिलो त्रैमाससम्ममा कम्पनीले रिटेन्ड अर्निङमा रू. ८२ करोड ४६ लाख र महाविपत्ति कोषमा रू. १० करोड ७५ लाख सञ्चिति गरेको छ । सो अवधिमा कम्पनीको जीवन बीमा कोषमा रू. ११ अर्ब ८२ करोड छ ।
त्यस्तै कम्पनीको नाफामा वृद्धि भएसँगै प्रतिशेयर आम्दानी पनि वृद्धि भएको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ७१ पैसा रहेकोमा चालू आवमा बढेर १० रुपैयाँ ६० पैसा पुगेको छ । चालू आवमा कम्पनीको मूल्य आम्दानी अनुपात ३९ दशमलव ९१ गुणा र प्रतिशेयर नेटवर्थ १२२ रुपैयाँ ७६ पैसा छ ।