काठमाडौं । सरकारले रासायनिक मल खरीद गर्दा लाग्ने समय घटाएको छ । सार्वजनिक खरीद नियमावली- २०६४ को १४औं संशोधनमार्फत पहिलो पटक रासायनिक मल खरीद सम्बन्धी प्रावधान समेटिएको हो । संशोधित नियमावली वैशाख १५ गतेको राजपत्रमा प्रकाशित गरिएको छ ।
संशोधित नियमावलीले रासायनिक मल खरीदका लागि आर्थिक प्रस्ताव खोल्ने स्थान, मिति र समय उल्लेख गरी सो मिति र समयमा उपस्थित हुन राष्ट्रियस्तर वा अन्तराष्ट्रिय स्तरको बोलपत्रको हकमा कम्तीमा ७ दिनको अवधि दिई सूचना गर्नुपर्ने उल्लेख छ ।
त्यस्तै नियमावलीमा बोलपत्रदाताले पेस गरेको प्राविधिक प्रस्ताव खोलेको मितिदेखि ३० दिनसम्म बोलपत्र मान्य हुने अवधि उल्लेख गर्नुपर्ने प्रतिबन्धात्मक नियम पनि थप गरिएको छ ।
मल खरीद प्रक्रिया लामो भएकाले यसलाई सहज बनाउन कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीको पहलमार्फत खरीद नियमावलीको संशोधनमा यस्तो प्रावधान राखिएको हो ।
रासायनिक मल खरीद प्रक्रिया लामो समय लाग्ने तर अन्तरराष्ट्रिय बजारमा छिटो–छिटो मूल्य परिवर्तन हुने अहिलेको अवस्थालाई घटाउने गरि नियमावली संशोधन भएको मन्त्रालयले जनाएको छ ।
खरीद प्रक्रिया लामो हुँदा समयमै मल आयात गर्न सकिएको थिएन, जसका कारण किसानले समयमै रासायनिक मल पाउन सकेका थिएनन् ।
अधिकारीले मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि नै रासायनिक मल खरीद गर्न लाग्ने समय अवधि घटाउने प्रतिवद्धता व्यक्त गर्दै आएका थिए । 'नियमावलीमा भएको संशोधनले अब एक महीनाभित्रै मल खरीदको प्रक्रिया टुंग्याउने बाटो खुलेको छ,' मन्त्री अधिकारीले भने ।
किसानलाई आवश्यक पर्दा मल नपाउने अवस्था आउनुमा खरीद नियमावली पनि बाधक रहेकाले संशोधनले उक्त समस्यालाई अन्त्य गर्ने विश्वास मन्त्री अधिकारीको छ ।