विश्वभर ३ अर्बभन्दा बढी मानिसमा सरसफाइका लागि अत्यावश्यक शौचालयको पहुँच नभएको मानिन्छ । गुणस्तर जीवनका लागि शौचालयको निकै ठूलो महत्त्व छ ।
शौचालयको राम्रो व्यवस्थापन भएमा हैजा, झाडापखला जस्ता संक्रामक रोग लाग्न पाउँदैनन् । शौचालयको व्यवस्थापनबाट विभिन्न सरुवा रोगको समेत व्यवस्थापनमा सहज हुने भएकाले सार्वजनिक शौचालय व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखी त्यसको व्यवस्थापन गर्नु अति जरुरी छ । स्तरीय शौचालयको सम्बन्ध पर्यटनसँग समेत जोडिएको छ ।
काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरी क्षेत्रमा शौचालयको अभावमा पेटभरि खाएर घुम्न हिँड्न नै गाह्रो मान्नुपर्ने अवस्था छ । कतिपय पर्यटक खान मन नभए पनि केही किनेर खान र त्यहाँको शौचालय प्रयोग गर्न बाध्य छन् । पर्यटकलाई स्तरीय शौचालय छैन । नेपाल आउने विदेशी पर्यटकको यसबारे ठूलो गुनासो छ । साथै, आन्तरिक पर्यटन तथा गाउँबाट शहरी क्षेत्रमा विभिन्न कामले आउने मानिसले समेत यही समस्या भोग्नुपरिरहेको छ । पशुपति, स्वयम्भू, बौद्घलगायत विश्व सम्पदा सूचीमा सूचीकृत क्षेत्रमा पनि पर्यटकका लागि गुणस्तरीय र आवश्यक शौचालय छैनन् ।
उपत्यकाको जनसंख्या आधा करोड पुगिसक्दा पनि सार्वजनिक शौचालय मुस्किलले करीब १५० ओटा छन् । ती पनि अव्यवस्थित तथा सशुल्कका कारण सर्वसाधारणले प्रयोग गर्न नसक्ने अवस्था छ । त्यसमा पनि उचित व्यवस्थापनको अभावका कारण दुर्गन्धले भित्र पस्नै सकिँदैन । अहिले काठमाडौं महानगरपालिकाले यसलाई प्राथमिकतामा राखी कार्य शुरू गरेको छ । काठमाडौं महानगरपालिकामा मुख्यत: तीन तरीकाबाट शौचालय सञ्चालन भएको पाइन्छ । पहिलो, स्थानीय सरकार आफैले शौचालयका लागि ठाउँ व्यवस्थापन गरी सञ्चालन गरेको छ । दोस्रो, ठाउँ मात्र उपलब्ध गराउने र सञ्चालनको जिम्मा निश्चित शर्तसहित सम्झौता गरी निजीक्षेत्रलाई दिएको छ । तेस्रो, सम्पूर्ण जिम्मेवारी निजीक्षेत्रलाई दिई सञ्चालन गरेको छ । यसरी शौचालय सञ्चालनको कार्यविधि अभाव छ । भएको कार्यविधि पनि लागू नगरी शौचालय अस्तव्यस्त भई प्रयोगयोग्य छैनन् । निजीक्षेत्रको साझेदारीमा बनाइएका शौचालय त पसलमा परिणत भएका छन् भन्नुपर्दा दु:ख लागेको छ ।
काठमाडौं महानगरपालिकाले अहिले महानगरभित्र रहेका रेस्टुराँ, होटेल, पेट्रोल पम्प, सरकारी तथा गैरसरकारी आदि विभिन्न निकायसँग सहकार्य गरी निश्चित मापदण्ड तोकी त्यहाँ रहेको शौचालय सार्वजनिक प्रयोगका लागि व्यवस्थापन मिलाएको छ । देशका अन्य शहरमा पनि यो अवधारणा लागू हुन थालेको छ । यो नयाँ अवधारणा सकारात्मक छ तर यो दिगो समाधान भने होइन ।
नेपाल १३ असोज २०७६ मा नै खुला दिशामुक्त भएको घोषणा गरिसकिएको छ । अहिले सार्वजनिक स्थलमा पर्याप्त शौचालय बनाउने र तिनको सरसफाइ राख्ने विषयलाई प्राथमिकतामा राखेको त पाइन्छ तर, शौचालयको आवश्यक व्यवस्था भने भइसकेको पाइँदैन । सरसफाइ र शौचालयको व्यवस्था सभ्यताको सूचक भएकाले देशका सबै शहरमा तिनै तहको सरकारले आवश्यक व्यवस्था मिलाउन अति जरुरी छ ।
संयुक्त राष्ट्रसंघका विभिन्न प्रकाशनमा जनाइएअनुसार अझै पनि ६७ करोड ३० लाख मानिस खुला दिसापिसाब गर्छन् । राष्ट्रसंघको अगुवाइमा शुरू भएको दिगो विकास लक्ष्यको लक्ष्य नं ६ ले सबैलाई दिगो र पर्याप्त पानी तथा सरसफाइको सुविधा उपलब्ध हुने सुनिश्चित गर्ने उद्देश्य राखेको छ । यसको लक्ष्य नं ६.२ मा खुला दिसापिसाब रोक्ने र स्वास्थ्य तथा सरसफाइमा पहुँच पुर्याउने कुरा उल्लेख छ । खुला स्थानमा दिसा तथा पिसाब गर्नाले यसले खानेपानीका स्रोत, मुहान, खोला, नाला, नदी प्रदूषित गराउने र त्यसबाट हैजा, टाइफाइड, झाडापखालाजस्ता रोग फैलिन गई आम नागरिकको स्वास्थ्यलाई असर पार्ने भएकाले शौचालय निर्माण र उपयोगको कार्यलाई प्राथमिकता दिनु अति आवश्यक छ ।
घरमा शौचालय हुनु र खुलास्थानमा दिशापिसाब रोकिनुले सरसफाइको लक्ष्य प्राप्त हुँदैन । ढल प्रणालीमा नजोडिएका शौचालयमा जम्मा भएका दिशा र खोलानालामा निकास गरिएका ढल हाम्रा लागि ठूलो चुनौतीका विषय भएका छन् । देशभरका ७ सय ५३ पालिकाहरूमा ढल प्रशोधन र व्यवस्थापन ठूलो चुनौती देखिएको छ । ढल प्रशोधन प्रणाली विकास र व्यवस्थापनका लागि पर्याप्त बजेट विनियोजन गर्नुपर्ने खाँचो छ । यसका लागि तीनै तहका सरकार, दातृराष्ट्र तथा निकाय, अन्तरराष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी संस्था र समुदायको साझेदारी, सहयोग र सहकार्य अति आवश्यक छ ।
शौचालय सफा नभएको ठाउँमा रोगको महामारी फैलिने जोखिम उच्च रहन्छ । जहाँ व्यवस्थित र सफा शौचालय हुँदैन, त्यहाँ सरुवा रोगको महामारी फैलिने जोखिम सधैं उच्च रहन्छ । शौचालयमै भएको फोहोरले सरुवा रोगका बिरामीहरू बढी हुन्छन्, त्यसैले झाडापखला, हैजालगायत रोगबाट बच्न सफा र व्यवस्थित शौचालय प्रयोग गर्नुपर्छ । अझ हाम्रा अस्पतालका शौचालयहरूमा विभिन्न किसिमका रोगका बिरामी आउने भएकाले उनीहरूले प्रयोग गर्ने शौचालय सफा र व्यवस्थित हुनु अति नै आवश्यक छ । अस्पताल प्रशासनले पनि सरसफाइको विषयमा विशेष ख्याल गर्नुपर्छ ।
काठमाडौं महानगरपालिकाको अहिलेको अवधारणा धेरै राम्रो छ । अन्य स्थानीय सरकारले पनि यसको सिको गर्नु अति आवश्यक छ । स्वास्थ्य र सरसफाइको क्षेत्रमा गरिएको १ हजारको लगानीले ५० हजारसम्म प्रतिफल दिन्छ । यसले औषधोपचार खर्चमा बचत गर्नुका साथै व्यक्तिको उत्पादकत्व बढाउँदै सेवा शृंखलामा रोजगारी पनि सृजना गर्छ । अझ महिला र बालिकाको लागि घर, विद्यालय र कार्यस्थलमा शौचालय हुँदा तिनीहरूले आफ्नो सम्पूर्ण सामथ्र्य काममा लगाउन पाउँछन् र समाजमा पूर्ण भूमिका निर्वाह गर्न सक्छन् । यसबाट प्रत्यक्ष रूपमा आर्थिक समृद्धि हुन्छ । हाम्रो देशमा सार्वजनिक शौचालयको संख्या ज्यादै न्यून भएकाले जनताको घरदैलोको सरकारले आवश्यक मात्रामा सार्वजनिक शौचालयको उचित व्यवस्थापन गरी गुणस्तरीय जीवनयापनको वातावरण सृजना गर्नु आजको आवश्यकता हो । यसबाट देश आर्थिक समृद्धिको पाटोमा अगाडि बढ्न सहयोग मिल्छ ।
लेखक गुणस्तर जीवन विषयमा विद्यावारिधि हुन् ।