काठमाडौं । नेपालको हवाई सुरक्षाबारे निरन्तर प्रश्न उठिरहेका बेला बुधवार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलभित्रै सौर्य एयरलाइन्सको जहाज दुर्घटना भई १८ जनाले ज्यान गुमाएका छन् ।
जहाजको सम्पूर्ण मर्मतसम्भार (सी–चेक)का लागि काठमाडौंबाट पोखरा जाने क्रममा सौर्य एयरलाइन्सको कलसाइन ९एनएमई/सीआरजे–२०० जहाज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा एक विदेशी नागरिकसहित १८ जनाको निधन भएको हो ।
जहाजमा १९ जना कम्पनीकै कर्मचारी रहेकोमा जहाजका क्याप्टेन मनीषरत्न शाक्यको भने जीवितै उद्धार गरिएको छ । शाक्य कम्पनीका अपरेशन प्रमुखसमेत हुन् । उनको हाल काठमाडौंको केएमसी अस्पतालमा उपचार भइरहेको छ ।
सौर्य एयरलाइन्सका व्यवस्थापन समूहका वरिष्ठ कर्मचारी तथा अन्य प्राविधिक कर्मचारीका साथै एकजना कर्मचारीका परिवारका दुई सदस्यको समेत निधन भएको छ । प्राविधिक कर्मचारी मनुराज शर्मा, उनकी श्रीमती प्रिजा खतिवडा र छोरा अधिराज शर्माको मृत्यु भएको सौर्य एयरलाइन्सले जानकारी दिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार जहाज उडेको १७ सेकेन्डमै धावनमार्गको पूर्वतिर रहेको स्थानमा दुर्घटना भएको हो । सामाजिक सञ्जालमा आएको भिडियो हेर्दा जहाज उड्नेबित्तिकै मोडिएर तल झरेको देखिन्छ ।
- सी–चेक गर्नुपर्ने स्थिति र उड्नेबित्तिकै दुर्घटना भएकाले जहाज प्राविधिक रूपमा ठीक भएकोमा शंका
- प्राधिकरणले प्राविधिक रूपमा ठीक छ भनेर उडान भर्न अनुमति दिएपछि जहाज उडेको एयरलाइन्सको भनाइ
- जहाज प्राविधिक ठीक भएको विवरण एयरलाइन्सको इन्जिनीयरले नै दिएपछि सामान्यतया सोही कागजी विवरण परीक्षण गरेर उडान अनुमति दिने गरेको प्राधिकरणको भनाइ
- उड्नेबित्तिकै इन्जिन फेल वा कन्ट्रोल कोलम (जहाजलाई माथि/तल र दायाँ/बायाँ गर्ने) जाम भएर दुर्घटना हुन सक्ने एक वरिष्ठ पाइलटको आकलन
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार जहाज दुर्घटना बुधवार बिहान ११ बजेर ११ मिनेट जाँदा भएको थियो । काठमाडौंबाट पोखरा उडानको क्रममा उड्नेबित्तिकै दाहिनेतिर मोडिएर धावनमार्गको पूर्वतिरको स्थानमा विमान दुर्घटना भएको विज्ञप्तिमा उल्लेख छ । दुर्घटनामा ज्यान गुमाउनेको शव परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा राखिएको छ ।
सौर्य एयरलाइन्सका अध्यक्ष दीपक पोखरेलले जहाज पूर्ण परीक्षण तथा मर्मतसम्भारको अवधि बाँकी छँदै दुर्घटनामा परेको बताए । ‘जहाजको सी–चेकको समय बाँकी नै थियो, थप १ महीना जहाज उडान गर्न सकिने अवस्था थियो । यहीबीचमा दुर्घटना भयो र कम्पनीले वरिष्ठ एवं अनुभवी कर्मचारी गुमाउनुपर्यो,’ पोखरेलले आर्थिक अभियानसँगको कुराकानीमा भने, ‘दशकौंदेखि काम गरेका अनुभवी जनशक्ति, विदेशी इन्जिनीयरले समेत प्रमाणीकरण गरेर वरिष्ठ कर्मचारी बसेको जहाज दुर्घटना भएको छ । मेरा धेरै इन्जिनीयरले ज्यान गुमाए । भान्जा (अश्विन निरौला)को समेत निधन भएको छ ।’
उनका अनुसार विमानस्थलले जहाज प्राविधिक रूपमा ठीक छ भनेर उडान गर्न अनुमति दिएपछि उड्छ । ‘उडेको १७ सेकेन्डमै कसरी दुर्घटना भयो, आफै आश्चर्यमा परेका छौं,’ पोखरेलले भने । जहाज सी–चेकका लागि उडेको र उड्नेबित्तिकै दुर्घटना भएका कारण प्राविधिक रूपमा जहाजको अवस्था ठीक थियो कि थिएन भन्ने प्रश्न उठेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता हंसराज पाण्डेका अनुसार सम्बद्ध वायुसेवाका इन्जिनीयरले प्राविधिक रूपमा जहाज उड्नका लागि ठीक छ भनी प्रमाणित गरेपछि प्राधिकरणले प्रक्रियागत ढंगले त्यो निष्कर्षमा पुगेको हो कि होइन भनी रूजु गरेपछि उडान अनुमति दिन्छ । ‘प्राधिकरणले सामान्यतया जहाजको जाँच गर्दैन,’ उनले भने । ‘हामी सम्बद्ध कम्पनीको इन्जिनीयरकै रिपोर्टमा बढी भर पर्छौं ।’
दुर्घटनामा ज्यान गुमाउनेहरू
१. अमितमान महर्जन
२. सागर आचार्य
३. दिलीप वर्मा
४. मनुराज शर्मा
५. अश्विन निरौला
६. सुदीपलाल जोशी
७. सर्वेश मरासैन
८. श्याम बिन्दुकार
९. नवराज आले
१०. राजाराम आचार्य
११. प्रिजा खतिवडा
१२. अधिराज शर्मा (बालक)
१३. उद्धव पुरी
१४. यज्ञप्रसाद पौडेल
१५. सन्तोष महतो
१६. पुण्यरत्न शाही
१७. आरेफ रेडा (यमन)
१८. को–पाइलट सुशान्त कटुवाल