विज्ञापनमा नेपाली कलाकार प्रयोग गर्ने वाचा
फागुन २५, काठमाडौं । बलिउड नायक शाहरुख खानले कान्साइ नेरोल्याक पेण्ट्सको ‘यू–क्यान’ नामक नयाँ सामाजिक क्याम्पेनको शुरुआत गरेका छन् । आफ्नै निजी विमानमा सोमवार काठमाडौं आएका खानले कान्साइ पेण्ट्सका खाली बट्टा (क्यान)लाई गमला बनाई फूल रोप्ने क्याम्पेन उद्घाटन गरेका हुन् ।
हातमा फूल रोपिएको कान्साइ पेण्टको बट्टा लिएर सञ्चारकर्मीमाझ उदाएका खानले भने, ‘यो एउटा सानो तर निकै महत्त्वपूर्ण कदम हो । यसले पर्यावरणलाई नकारात्मक असर पर्नबाट मात्र जोगाउँदैन, तपाईंको घरलाई सिंगार्न पनि सघाउँछ ।’ पेण्ट्सका उपभोक्ताले कान्साइ नेरोल्याकको फेसबूक पेज लाइक गरी ‘डेकोरेटिभ र्याप’ र पेण्ट्सका बट्टा सिँगार्ने विधिका बारेमा जानकारी माग्न सक्नेछन् । त्यस्तै उनीहरूले सिंगारिएका र फूल रोपिएका बट्टाको तस्वीर पनि फेसबूक पेजमा पोष्ट गर्न सक्नेछन् । तीमध्ये ६० दिन अवधिका उत्कृष्ट पाँच तस्वीरलाई पेण्ट्सको आधिकारिक पेजको ‘वाल अफ फेम’मा राखिने कम्पनीले जानकारी दिएको छ ।
तीन बजे शुरू हुने भनिएको पत्रकार सम्मेलनमा झण्डै तीन घण्टा ढिलो आइपुगेका शाहरुखले ढिला भएकोमा सञ्चारकर्मीसँग माफी मागेका थिए ।
पौने चार बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ओर्लिएका उनले ट्वीटमार्फत यो आफ्नो दोस्रो नेपाल भ्रमण भएको र त्यसले आफूलाई सुखद अनुभूति दिएको बताएका थिए । विमानस्थल, चाबहिल चोकदेखि ह्यात होटलको प्रवेशद्वारसम्म प्लेकार्ड र ब्यानर लिएका फ्यानहरूको भीड छिचोल्दै ह्यात पुगेका शाहरुखले भने, ‘नेपालमा पाएको मायाबाट म ज्यादै उत्साहित भएको छु ।’
‘यू–क्यान’ अभियानले कान्साई पेण्ट्सका उपभोक्तालाई अझ बढी सचेत र जिम्मेवार बनाउने कान्साई पेण्ट्स नेपालका निर्देशक अशोक वैद्यले बताए । कान्साई पेण्ट्स नेपालका अध्यक्ष तथा कान्साई नेरोल्याक पेण्ट्स, इण्डियाका प्रबन्ध निर्देशक एचएम भारुकाले शाहरुखलाई नेपाल ल्याउनु ज्यादै सुखद अनुभूति भएको बताएका छन् । ‘शाहरुखकै कारण नेपालमा पनि कान्साई पेण्ट्सका उपभोक्ता बढिरहेका छन्,’ उनले भने, ‘मीट द डन – अभियानले त्यसमा ज्यादै ठूलो योगदान दिएको छ ।’
कान्साई पेण्ट्स नेपालले आफ्ना उत्पादनका प्रयोगकर्ताहरूमध्येबाट चुनिएका केहीलाई शाहरुख खानसँग भेट्ने अवसर जुटाउने घोषणा गरेको थियो । सो अभियानका विजेताहरूले सोमवार साँझ खानसँग भेट्ने मौका पाएका छन् । कान्साईजस्तो सामाजिक उत्तरदायित्व बुझेको कम्पनीको ब्राण्ड एम्बासडर बन्न पाउनु आफ्ना लागि खुशी र अवसर दुवै भएको शाहरुखले बताए ।
पत्रकार सम्मेलनमा बोल्दै भारुकाले आगामी दिनमा कान्साई पेण्ट्सको विज्ञापन क्याम्पेनमा नेपाली कलाकार र मोडल प्रयोग गर्ने वाचा गरेका छन् ।
पत्रकारको जिज्ञासाको जवाफ दिँदै उनले भने, ‘स्थानीय स्तरमा ब्राण्डलाई अझ सबल बनाउन हामीले नेपाली कलाकारलाई प्रयोग गर्नेछौं ।’ कार्यक्रममा कम्पनीका निर्देशक अनुज जैनले कम्पनी र यसका उत्पादनहरूका बारेमा जानकारी दिएका थिए ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2024 New Business Age Ltd. All rights reserved.