धितोपत्र राफसाफ तथा फछ्र्योट २ कार्यदिनमा नै सक्ने टी प्लस टुको व्यवस्था लागू गरिएको छ तर शेयर विक्रीको रकम भुक्तानी नपाएको भन्दै नियामक निकाय नेपाल धितोपत्र बोर्डमा गुनासो गर्नेको संख्या बढ्दै छ । राफसाफ प्रक्रिया छिटो सक्न टी प्लस वनको व्यवस्था लागू गर्नुपर्ने आवाज उठिरहेको अवस्थामा विद्यमान नियमकै कार्यान्वयन नभएको हो भने शेयर बजारका लागि नराम्रो हो । यद्यपि नेपाल स्टक ब्रोकर एशोसिएशनले भने भुक्तानी नभएको कुरालाई अस्वीकार गरेको छ । भुक्तानीको यो विवादमा समस्या कतै न कतै पक्कै छ । त्यसको समाधान खोजिनुपर्छ ।
धितोपत्र राफसाफ तथा फछ्र्योट जति छिटो हुन्छ त्यति नै धितोपत्रको तरलता वृद्धि हुन्छ । लगानीकर्ताले खरीद गरेको धितोपत्र छिटो उनीहरूको खातामा आउँछ र पुन: विक्री गरी मुनाफा आर्जन गर्न सक्छन् । त्यही भएर टी प्लस थ्रीको व्यवस्थामा सुधार गरी टी प्लस टु व्यवस्था कार्यान्वयनमा ल्याइएको हो । समयमा आफ्नो खातामा शेयर नआइपुग्दा भाउ बढेका बेला विक्री गर्न नपाउने अवस्था अझै छ । त्यस्तै विक्रीकर्ताको खातामा पैसा आउन पनि समय लाग्ने गरेको छ । कतिपय विक्रीकर्ताले २ महीनाभन्दा बित्दा पनि भुक्तानी नपाएको गुनासो गरेका छन् । यस्तो गुनासो नियामक निकाय बोर्डमा बढ्दै गएको देखिन्छ । केही ब्रोकरले नियम पालनामा अटेरी गरेर पनि यस्तो भएको हुन सक्छ । खासगरी अहिले खरीदकर्तासँग नगद नभए पनि उधारो खरीद गर्ने गरेका छन् । यो सुविधा ब्रोकर कम्पनीहरूले विश्वासिला ग्राहकहरूलाई दिने गरेका छन् । यस्तो रकम उठ्न समय लागेपछि विक्रीकर्तालाई भुक्तानी दिन ढिला गरिएको हो भन्ने भनाइ छ । यस्तो विलम्ब महीनौं नभएको भन्ने आरोप कति सत्य हो त्यो बोर्डले छानबिन गरेर पत्ता लगाउनुपर्छ र त्यस्तो भएकै हो भने कारबाही पनि गर्नुपर्छ । शेयर विक्रीको रकम भुक्तानी ढिला हुनुमा कारोबार प्रणाली टीएमएसमा आएको समस्या पनि एउटा कारण भएको देखिन्छ । यसको जानकारी ब्रोकर एशोसिएशन र सम्बद्ध ब्रोकरहरूले आफ्ना ग्राहकलाई दिएका पनि छन् । राफसाफ ढिलो हुनुमा अनलाइन प्रणाली कमजोर र प्रयोगकर्तामैत्री नहुनु पनि हो । शेयरबजारको खरीदविक्री अहिले पूर्ण अनलाइन भएको छ । राफसाफ पनि अनलाइन नै हुने गरेको छ । तर, कतिपय विक्रीकर्ताले शेयर हस्तान्तरण गर्न नजान्दा क्लोजआउटमा परी जरीवाना तिर्नु परेको छ ।
कतिपय लगानीकर्ता अझै पनि भौतिक शेयर प्रमाणपत्र राखेर बसिरहेका छन् । तिनलाई डिम्याट गर्नुपर्नेबारे थाहा नभएको समेत पाइन्छ । त्यसैले बोर्ड, नेप्से र ब्रोकरहरूले शेयर सचेतनाका लागि अझै काम गर्न बाँकी रहेको देखिन्छ । सचेतनाका लागि उनीहरूले मिलेर कार्यक्रम सञ्चालन गर्नु जरुरी छ ।
अहिले सकेसम्म सबै आवेदनकर्तालाई प्राथमिक शेयर वितरण गर्ने ध्येयका साथ १० कित्ते नीति लागू गरिएको छ । त्यसो हुँदा धेरै व्यक्तिको हातमा शेयर पुगेको छ । तिनले शेयर खरीदविक्रीको प्रक्रिया पूर्णरूपमा नजान्दा पनि समस्या भएको देखिन्छ । शेयर खरीद विक्रीका लागि टीएमएस एप प्रयोग हुन्छ भने शेयर हस्तान्तरणका लागि मेरो शेयर एप प्रयोग हुन्छ । कतिपय लगानीकर्ता यसको प्रक्रियाबारे अनभिज्ञ हुँदा क्लोजआउटमा परेका छन् । मेरो शेयरबाट शेयर हस्तान्तरण गर्दा औसत लागत भार निकाल्नुपर्छ र शेयर धारण भएको अवधि पनि निकाल्नुपर्छ । यो प्रक्रिया नजानेर धेरै लगानीकर्ता अलमलिएको पाइन्छ । यसो हुनुको कारण एप गन्जागोल हुनु हो । खरीदविक्रीका लागि जुन एप प्रयोग हुन्छ त्यसमै हस्तान्तरण प्रक्रिया पनि राखिदिएको भए वा त्यससम्बन्धी जानकारी दिएको भए यो समस्या आउने थिएन ।
शेयरबजारमा सक्रिय वा निष्क्रिय रूपमा सहभागी हुने हितग्राहीको संख्या ६० लाख पुग्न लागिसकेको छ । यीमध्ये अधिकांशलाई यसको प्रक्रियाबारे थाहै छैन । अझ विडम्बना कतिपय लगानीकर्ता अझै पनि भौतिक शेयर प्रमाणपत्र राखेर बसिरहेका छन् । तिनलाई डिम्याट गर्नुपर्नेबारे थाहा नभएको समेत पाइन्छ । त्यसैले बोर्ड, नेप्से र ब्रोकरहरूले शेयर सचेतनाका लागि अझै काम गर्न बाँकी रहेको देखिन्छ । सचेतनाका लागि उनीहरूले मिलेर कार्यक्रम सञ्चालन गर्नु जरुरी छ ।