काठमाडौं । सिद्धार्थ म्युचुअल फण्डअन्तर्गत सञ्चालित सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को धितोपत्रमा भएको लागत मूल्यभन्दा बजार मूल्य कम छ ।
भदौ मसान्तसम्म यस फण्डले धितोपत्र दलाल कमिसनसहित रू. १ अर्ब २५ करोड ५७ लाखभन्दा बढी धितोपत्रमा लगानी गरेको छ । यो लगानीको मूल्य भने रू. ९७ करोड ४ लाखभन्दा बढी मात्र छ । साउन मसान्तसम्मको तुलनामा योजनाको बैंक मुद्दती निक्षेप पनि कम छ । साउन मसान्तसम्म रू. १२ करोड रहेको मुद्दती निक्षेप भदौ मसान्तसम्म रू. १० करोड छ ।
योजनाले लगानी गरेको सूचीकृत धितोपत्रको बजार मूल्य रू. ९३ करोड १७ लाखभन्दा बढी छ भने ऋणपत्र तथा बण्डमा रू. २ करोड ६४ लाख र सार्वजनिक निष्कासन, हकप्रद तथा बोनस शेयरमा लगानी भएको बजार मूल्य रू. १ करोड २२ लाखभन्दा बढी छ ।
धितोपत्र बजारमा लगानी गर्ने मुख्य उद्देश्यसहित सञ्चालनमा रहेको यस फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य साउन मसान्तसम्मको तुलनामा कम छ । साउन मसान्तसम्म रू. ११ दशमलव शून्य २ रहेको योजनाको प्रतिइकाई खुद सम्पत्ति मूल्य भदौ मसान्तसम्म रू. ९ दशमलव ६० छ ।
साउन मसान्तसम्म रू. ५ लाख २१ हजार नाफामा रहेको योजना भदौ मसान्तसम्म रू. ४ करोड ९९ लाखभन्दा बढी नोक्सानीमा छ । बन्दमुखी प्रकृतिको यो योजना २०८६ भदौ ९ गते परिपक्क हुनेछ । यस योजनाले १२ करोड इकाई जारी गरेको थियो ।