नेपालको प्रमुख व्यापारिक साझेदार भारतसँग खुला सिमाना भएका कारण अनौपचारिक व्यापारको अंश पनि उत्तिकै रहेको छ । नेपालीहरू उपभोग्य सामान खरीदका लागि भारत जाने गर्दा सीमाक्षेत्रका नेपाली बजारमा व्यापार नगण्य हुन्छ । भारतमा सामान किनेर झोलामा ल्याउँदा भन्सार नलाग्ने भएकाले हूल बाँधेर नै भारततर्फ जाने प्रचलन छ । दशैं व्यापारका लागि ठूलो अवसर मानिन्छ । कुल व्यापारको झन्डै ३० प्रतिशत कारोबार दशैंमा हुन्छ भन्ने मानिन्छ । तर, यही बेला भारतीय बजारमा नेपालीहरूको भीडभाड देखिनु र नेपालतर्फका सुनसान देखिनु अर्थतन्त्रका लागि राम्रो संकेत होइन । यसरी भारतबाट सामान ल्याउँदा सरकारले भन्सारशुल्क आदि आम्दानी गर्न सक्दैन । हाते झोलामा बोकेर सामान ल्याए पनि धेरै परिमाणमा सामान आइरहेको छ । भन्सार तिरेर ल्याइएको सामान महँगो हुँदा सर्वसाधारणले खरीद गर्ने कुरा पनि आएन । कतिपय व्यक्ति दशैंका बेलामा सीमापारि गएर किनमेल गर्ने र ती सामान मुलुकका अन्य भागमा लिएर जाने गर्छन् । एउटा व्यक्तिको खपतका लागि यो सामान सानो परिमाणको भए पनि लाखौं व्यक्तिले त्यस्तो गर्दा मुलुकमा उपभोग हुने वस्तु विनाभन्सार अनौपचारिक माध्यमबाट नेपाल भित्रिइरहेको छ भन्न सकिन्छ । यसले अनौपचारिक अर्थतन्त्रलाई मलजल गरेको छ । त्यसैले यस्तो समस्याको कारण खोतलेर समाधान गरिनु आवश्यक छ ।
केही वर्षअघि भाटभटेनी सुपरस्टोरले विराटनगरमा शाखा खोल्दा भारतकै मूल्यमा चिनीलगायत वस्तु विक्री गर्दा त्यहाँ भीडभाड भएको समाचार आएको थियो । पारिकै मूल्यमा वारि सामान किन्न पाए कोही पनि पारि जाँदैनन् । त्यसैले त्यस्तो अवस्था ल्याउनका लागि सरकारले मूल्य अभिवृद्धि करमा सुधार गर्नु आवश्यक छ । भारतमा अहिले जीएसटी लागू भएको छ र त्यो नेपालको भ्याटभन्दा बढी लचिलो पाराको छ ।
जीएसटी कम लाग्ने सामानमा नेपालले त्यसअनुसार करका दरको समायोजन गर्नु उपयुक्त हुन्छ । त्यसैले व्यवसायीले भ्याटमा बहुदर लागु गर्न माग गरेका छन् । तर, सरकारले त्यसको सुनुवाइ गर्न मानेको छैन । अहिले काठमाडौंमा चिनीको मूल्य ११५ रुपैयाँ प्रतिकिलोको हाराहारीमा छ । सिमानामा त्यसको मूल्य ९० छ । भारतीय बजारमा जाने हो भने ६५/७० रुपैयाँमा पाइन्छ । त्यसो भएपछि पारि गएर किन चिनी नल्याउने ? यो एउटा उदाहरण हो । चियापत्तीदेखि लुगाधुने साबुनसम्म, कपडादेखि जुत्तासम्म मूल्यमा अन्तर छ । मोबाइलदेखि सौन्दर्य प्रसाधनसम्म भारतीय बजारमा सस्तो पाइन्छ भने नेपालमा किन किन्ने ?
यो अवस्था रोक्न सरकारले झोलामा सामान ल्याउँदा कर तिर्नुपर्ने व्यवस्था पनि नगरेको होइन तर त्यो व्यावहारिक रूपमा सम्भव भएन र हुँदैन पनि । साइकलमा रातारात सामान ओसारपसार हुन्छ । त्यसैले यस्तो समस्यालाई सम्बोधन गर्ने भनेको नीतिगत सुधारबाट नै हो । सरकारले केकस्ता सामानमा कति भ्याट लगाउने हो, कति भन्सार र अन्त:शुल्क लगाउने हो भन्ने कुरा नेपालको आन्तरिक बजारलाई मात्र हेरेर हुँदैन । भारतले लिएको सानो नीतिले पनि नेपालको बजारमा प्रत्यक्ष प्रभाव पर्ने भएकाले त्यसैअनुसार करको नीति बन्नु आवश्यक छ ।