काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ललितपुरको कुपन्डोलस्थित जननी फर्टिलिटी क्लिनिकबीच बैंकका ग्राहकलाई छूट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपश्चात् बैंकका कार्डवाहक र मोबाइल बैंकिङ प्रयोगकर्ताले क्लिनिकमा सेवा लिँदा औषधीमा ५ प्रतिशत, प्याथोलोजीमा १० प्रतिशत र डाक्टर परामर्शमा ५० प्रतिशतसम्म छूट पाउने बताइएको छ ।
यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकको छ । बैंकले डिजिटल बैंकिङको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छूटसम्बन्धी विस्तृत विवरण बैंकको वेबसाइटमा प्राप्त गर्न सकिने बताइएको छ ।
प्रतिष्ठित अवार्ड ‘बैंक अफ द इयर २०२४’ को उपाधि प्राप्त सिटिजन्स बैंकले केही समयअघि फोनपे सँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको छ । साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एपमार्फत नै शेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुविधा पनि ल्याइएको बताइएको छ । बैंकले १९९ शाखा, १६५ एटीएम, ३ विस्तारित काउन्टर र ७४ शाखारहित बैंकिङ इकाइबाट बैंकिङ सेवा दिँदै आएको छ ।