काठमाडौं । सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालित सिटिजन्स सुपर ३० म्युचुअल फण्ड, सिटिजन्स म्युचुअल फण्ड १ र सिटिजन्स म्युचुअल फण्ड २ ले साउन मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका छन् ।
उक्त वित्तीय विवरण अनुसार यी तीनओटै फण्डको सूचीकृत धितोपत्रमा लगानी घटेको छ । सिटिजन्स म्युचुअल फण्ड १ ले असार मसान्तसम्ममा सूचीकृत धितोपत्रमा रू. ५५ करोड ११ लाख लगानी गरेकोमा साउन मसान्तमा घटेर रू. ४५ करोड ४९ लाखमा झरेको हो ।
त्यस्तै सिटिजन्स म्युचुअल फण्ड २ ले असार मसान्तसम्ममा सूचीकृत धितोपत्रमा ४५ करोड ५८ लाख लगानी गरेकोमा साउन मसान्तसम्ममा घटेर रू. ३७ करोड २२ लाखमा सीमित भएको हो । त्यस्तै सिटिजन्स सुपर ३० ले साउन मसान्तसम्ममा सूचीकृत धितोपत्रमा रू. २१ करोड ३८ लाख लगानी गरेको छ । यो लगानी असार मसान्तसम्ममा रू. २८ करोड ५९ लाख थियो । यस फण्डको न्याभ भने असारको तुलनामा साउनमा बढेको छ ।
असार मसान्तसम्ममा फण्डको न्याभ १० रुपैयाँ २३ पैसा रहेकोमा साउन मसान्तमा बढेर १० रुपैयाँ ४६ पैसा पुगेको छ । यस फण्डले साउन मसान्तसम्ममा रू. १ करोड ७६ लाख नाफा कमाएको छ । यो नाफा असार मसान्तसम्ममा रू. १ करोड ७० लाख थियो ।
सिटिजन्स म्युचुअल फण्ड २ को न्याभ भने असारको तुलनामा साउनमा केही घटेको छ । असार मसान्तसम्ममा फण्डको न्याभ १० रुपैयाँ ८० पैसा रहेकोमा साउन मसान्तमा भने १० रुपैयाँ ४९ पैसामा झरेको छ । यो फण्डले साउन मसान्तसम्ममा रू. १ करोड ७२ लाख नोक्सानी व्यहोरेको छ । असार मसान्तमा भने फण्ड रू. ४ करोड ९० लाख नाफामा थियो । साउनमा फण्डको जम्मा आम्दानी रू. १ करोड ६२ लाख ऋणात्मक रहेकाले नोक्सानीमा देखिएको हो ।
सिटिजन्स म्युुचुअल फण्ड १ को न्याभ पनि घटेको छ । असार मसान्तसम्ममा फण्डको न्याभ १० रुपैयाँ २४ पैसा रहेकोमा साउन मसान्तमा १० रुपैयाँ ०८ पैसा कायम भएको छ । त्यस्तै यो फण्ड साउन मसान्तसम्ममा रू. १ करोड ३७ लाख नोक्सानीमा छ । असार मसान्तमा भने फण्ड रू. ९ करोड ५ लाख नाफामा थियो ।
सिटिजन्स म्युचुअल फण्ड १ को रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्
सिटिजन्स म्युचुअल फण्ड २ को रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्