समावेशी सिद्धान्तको आधारमा राज्यले कानून बनाई विशेष व्यवस्थाका रूपमा आरक्षण दिने गर्र्छ । आरक्षण सीमान्तकृत समुदायलाई व्यवस्थापिका र कार्यकारिणी पदहरूमा प्रतिनिधित्व सुनिश्चित गरिने प्रक्रिया हो । नेपालमा संविधान तथा अन्य प्रचलित कानूनमा आरक्षणको व्यवस्था गरिएको छ ।
आरक्षणको पनि नीति र सिद्धान्त रहेको हुन्छ । आरक्षणले आर्थिक, सामाजिक, सांस्कृतिक रूपले उत्पीडनमा परेका वर्ग वा समूहलाई सम्बोधन गरी सहयोग प्रदान गर्छ । राजनीतिक तथा प्रशासनिक क्षेत्रमा गरिने आरक्षणले उत्पीडित वर्ग पनि नीति निर्माणको तहसम्म पुग्न सफल हुन्छ । शारीरिक रूपले अशक्त, अपांगता भएका व्यक्ति, महिला, ज्येष्ठ नागरिकको सामाजिक सुरक्षाका लागि आरक्षण अति आवश्यक रहेको हुन्छ ।
जाति, भाषा, धर्म, संस्कृति, लिंग, क्षेत्रका आधारमा बहिष्करणमा परेका जनताको अर्थपूर्ण सहभगितालाई सुनिश्चित गर्ने काम समावेशी लोकतन्त्रको सिद्धान्तले गर्छ । आरक्षणले समावेशितालाई सबल बनाउने गर्छ । नेपालको अन्तरिम संविधान २०६३ मा समावेशिता र आरक्षणलाई स्वीकार गरिएको छ । पछि संघीय शासन व्यवस्थालाई मान्यता दिँदै २०७२ सालमा जारी भएको नेपालको संविधानले धारा ५१ मा समावेशितासम्बन्धी नीतिहरूलाई आत्मसात् गरियो । असहाय, एकल महिलालाई शीप, क्षमता र योग्यताको आधारमा रोजगारीमा प्राथमिकता दिने, मधेशी समुदाय, मुस्लिम र पिछडा वर्गलाई आर्थिक, सामाजिक तथा सांस्कृतिक अवसरको समान वितरणको व्यवस्था गर्ने र त्यस्ता समुदायभित्रका विपन्न नागरिकहरूको संरक्षण, उत्थान, सशक्तीकरण र विकासका अवसर र लाभका लागि विशेष व्यवस्था गर्ने, सामाजिक सुरक्षा र सामाजिक न्याय प्रदान गर्दा सबै लिंग, क्षेत्र, समुदायभित्रका आर्थिक रूपले विपन्नलाई प्राथमिकता दिने जस्ता नीतिगत व्यवस्था संविधानमा गरिएको छ ।
राष्ट्रपतिले समावेशी सिद्धान्तको आधारमा नेपाली राजदूत र खास प्रयोजनका लागि विशेष प्रतिनिधि नियुक्ति गर्न सक्छ । संघीय निजामति सेवालगायत संघीय सरकारी सेवामा प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्दा संघीय कानूनबमोजिम खुला र समानुपातिक समावेशी सिद्धान्तको आधारमा गर्नुपर्ने गरी संविधानमा उल्लेख गरेको छ । नेपालको संविधानको धारा १८ अनुसार सामाजिक वा सांस्कृतिक दृष्टिले पिछडिएका महिला, दलित, आदिवासी, जनजाति, मधेशी, थारू, मुस्लिम, उत्पीडित, पिछडा वर्ग, अल्पसंख्यक, सीमान्तकृत, किसान, श्रमिक, युवा, बालबालिका, ज्येष्ठ नागरिक, लैंगिक तथा यौनिक अल्पसंख्यक, अपांगता भएका व्यक्ति, गर्भावस्था भएका व्यक्ति, असहाय वा अशक्त, पिछडिएको क्षेत्र र आर्थिक रूपले विपन्न खस आर्यको संरक्षण, सशक्तीकरण वा विकासका लागि कानूनद्वारा विशेष व्यवस्था गर्न सकिन्छ । संविधानले त्यस्ता वर्गको संरक्षणका लागि सामाजिक न्यायको हक प्रदान गरेको छ । यो हकअनुसार त्यस्ता वर्गले राज्यको हरेक निकायमा समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागिताको लागि अवसर प्रदान गरेको छ । शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षामा सकारात्मक विभेदका आधारमा महिला, दलित आदिलाई सशक्तीकरण, प्रतिनिधित्व र सहभागिता, उच्च शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाका लागि राज्यले कानूनबमोजिम विशेष व्यवस्था गर्न सक्छ ।
नेपालमा संविधान तथा कानूनमा समावेशी सिद्धान्तको आधारमा आरक्षणको व्यवस्था गरेको छ । संविधानको धारा ८६ अनुसार ५९ सदस्यीय राष्ट्रिय सभाको गठन हुँदा संघीय कानूनबमोजिम प्रदेशसभाका सदस्य, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख, उपप्रमुखको मतको भार फरक हुने गरी प्रत्येक प्रदेशबाट कम्तीमा तीनजना महिला, एकजना दलित र एकजना अपांगता भएका व्यक्ति पनि रहने व्यवस्था छ । निजामती सेवा दोस्रो संशोधन २०६४ अनुसार निजामती सेवामा खोलिने पदहरूमा जम्मा संख्यालाई शतप्रतिशत मानी त्यसमध्ये ४५ प्रतिशत आरक्षण छुट्ट्याई त्यसलाई पनि क्लष्टरमा विभाजन गरी महिलालाई ३३ प्रतिशत, जनजातिलाई २७ प्रतिशत, मधेशीलाई २२ प्रतिशत, दलितलाई ९ प्रतिशत, अपांगलाई ५ प्रतिशत र ४ प्रतिशत पिछडिएका क्षेत्रका समुदायका लागि छुट्ट्याइको छ । सरकारी तथा निजीक्षेत्रबाट सञ्चालित २५ शय्याभन्दा बढी भएका अस्पतालमा कम्तीमा २ शय्या अपांगता भएका व्यक्तिका लागि सुरक्षित राख्नुपर्छ । त्यस्तै सार्वजनिक यातायातले पूर्ण अशक्त, अति अशक्त र मध्यम अपांगता भएका व्यक्तिलाई परिचयपत्रका आधारमा बस, रेल, हवाईजहाजजस्ता सार्वजनिक सवारीसाधनमा सीट आरक्षणको व्यवस्था गरेको छ । नेपाल सरकारले छात्रवृत्तिका रूपमा ४५ प्रतिशत स्थान महिलालाई सुरक्षित गरिएको छ र यसलाई शतप्रतिशत मानी सामुदायिक विद्यालयबाट प्रवेशिका परीक्षा उत्तीर्ण गर्ने महिलालाई ३३ प्रतिशत स्थान सुरक्षित गरिएको छ । सार्वजनिक सवारीसाधनमा ६० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई २ सीट सुरक्षित गरेको छ ।
चिकित्सा शिक्षाका लागि आरक्षणको कोटा पाऊँ भनी परेको रिट निवेदनमा सर्वोच्च अदालतले ‘आरक्षणको कोटा भनेको वर्गीयता वा जातीयताको आधारमा नभई आवश्यकताको आधारमा दिइने व्यवस्था हो, जात र लिंगका आधारमा होइन’ भनी २०७७ पुस १ गते व्याख्या भएको छ । संविधानमा गरेको व्यवस्थाभन्दा अलिकति फरक ढंगमा अदालतबाट व्याख्या भएको छ । राजनीतिक, सामाजिक, आर्थिक रूपमा उच्च वर्गमा पुगेको मन्त्री, सांसद, संवैधानिक परिवार, उद्योगपति, प्रोफेसर आदिको सन्तानलाई आरक्षण नपाउने वर्गमा राख्न सकिने भनी उक्त फैसलामा भनिएको छ । संविधान र कानूनको मर्म पनि त्यस्ता उच्च वर्गका लागि आरक्षणको व्यवस्था गरेको पक्कै होइन । जातीय वा वर्गीय रूपमा आरक्षणको व्यवस्था गर्दा आवश्यक वर्ग वा समूहका बीचमा नपुग्न सक्छ । राज्यले सकारात्मक विभेदको आधारमा आवश्यकतालाई प्राथमिकता दिई आरक्षणको व्यवस्था गर्नुपर्ने कुरामा अदालतको फैसलाले जोड दिएको छ ।
आरक्षण सकारात्मक विभेदको आधारमा राज्यको सेवासुविधाबाट वञ्चित साना तथा सीमान्तकृत, अल्पसंख्यक, पिछडिएको वर्गलाई लक्षित गरी आरक्षण नीति बनाई कार्यान्वयन गर्नु पर्छ । आरक्षण सधैं एउटै व्यक्ति वा परिवारमा नदोहोरिने हुनुपर्छ । आर्थिक, सामाजिक, सांस्कृतिक रूपले समाजमा पिछडिएका, उत्पीडित तथा उपेक्षित वर्ग वा समूहको उत्थान, सशक्तीकरण, संरक्षण, विकासका लागि अनिवार्य रूपमा आरक्षणको आवश्यकता रहेको हुन्छ । संविधानले विशेष व्यवस्था गरेको व्यक्ति तथा अन्य आवश्यक व्यक्तिको पहुँचमा पुग्ने गरी आरक्षणको व्यवस्था हुनुपर्छ । अहिले राजनीतिक दलका नेता, कार्यकर्ताले संगठनको आडमा आफ्नो परिवार, नातेदार, इष्टमित्रका लागि प्रयोग गरिँदै आएको आरक्षणको अन्त्य हुनुपर्छ ।
लेखक अधिवक्ता हुन् ।