काठमाडौं। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) र नेपाल पर्वतारोहण संघबीच बीमा सुविधासम्बन्धी सम्झौता भएको छ । नेपाल पर्वतारोहण संघका आफ्ना स्रोत सदस्य पदयात्रा एजेन्सीमार्फत पर्वतारोहण लागि जाने सहयोगी पथप्रदर्शक, सरदार, वरिष्ठ सहयोगी तथा अन्य सहायकका लागि न्यूनतम मूल्यमा ट्रेकिङ बीमा सुविधा उपलब्ध गराउने गरी सम्झौता भएको बताइएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट जारी पर्यटन नियमावली अनुसार पर्वतारोहण दलका सहयोगी सदस्यका लागि न्यूनतम रू. १५ लाख बराबरको दुर्घटना बीमा, रू. ४ लाख बराबरको स्वास्थ्य उपचार बीमा तथा अमेरिकी डलर १० हजार बराबरको खोजतलास तथा हेलिकोप्टर उद्धार बीमा गरिनुपर्ने व्यवस्था अनुरूप विशेष बीमा योजना ल्याइएको बताइएको छ । साविकमा पदयात्रा एजेन्सीले महँगो शुल्कमा बीमालेख खरीद गर्नुपरेको अवस्थालाई ध्यानमा राखेर सहुलियत दरमा यो बीमा योजना ल्याइएको बताइएको छ । हालै भएको सम्झौतापत्रमा संघका अध्यक्ष निमानुरु शेर्पा र सलिकोका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले हस्ताक्षर गरेका छन् । यो सिजनका लागि ट्रेकिङ बीमा योजना मार्च १ देखि लागू हुने बताइएको छ ।