काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले वैशाख ६ गते आठौं वार्षिक साधारण सभा बोलाएको छ । चैत ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले तनहुँको बन्दीपुरस्थित मर्स्याङ्दी रिभर म्यू रिसोर्टमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।
एक जना महिला सञ्चालकसहित सात जना सञ्चालकहरूमध्ये संस्थापतर्फबाट चार जना र सर्वसाधारणतर्फबाट दुई जना सञ्चालक निर्वाचनसमेत सभाले गर्नेछ । साथै कम्पनीको रजिष्टर्ड कार्यालय स्थानान्तरण गर्ने प्रस्ताव गरेको कम्पनीले सोहीबमोजिम हुने गरी कम्पनीको नियमावली संशोधन तथा थप गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रियामा जाने संकेत गरेको कम्पनीले त्यसका लागि सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय सभामार्फत गर्नेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत २६ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा चैत २५ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन् ।