काठमाडौं । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले २०७८ भदौ २५ गते प्रतिस्थापन विधेयकमार्फत स्पन्ज आइरन आयातमा लाग्ने ५ प्रतिशत भन्सार महशुललाई शून्य बनाउने घोषणा गरे । उनले बिलेट आयातमा प्रतिकेजी २ दशमलव ५ रुपैयाँ अन्त:शुल्क लगाउने घोषणा पनि गरेका थिए । उनको त्यो घोषणापछि फलामे छड तथा यसका सामग्री उत्पादन गर्ने व्यवसायी दुई कित्तामा विभाजन भए ।
वर्तमान सरकारले आगामी आर्थिक वर्ष (आव) २०८१/८२ को बजेटमार्फत उक्त निर्णय उल्टाएको छ । अर्थमन्त्री वर्षमान पुनले नयाँ बजेटमार्फत स्पन्ज आइरनको भन्सार महशुल १ प्रतिशतबाट बढाएर २ दशमलव ५ प्रतिशत पुर्याउने घोषणा गरेका छन् । यस्तै मेल्टिङ युनिटकै प्रमुख कच्चा पदार्थ स्क्र्याप, पिग आइरन र सिलिको म्याग्नेजको आयातमा लाग्दै आएको शून्य प्रतिशत महशुललाई बजेटबाट १ प्रतिशत पुर्याइएको छ । तर, उनले बिलेट आयातमा लाग्ने अन्त:शुल्क खारेज गरिदिएका छन् ।
अर्थ मन्त्रालयमा बुधवार आयोजित पत्रकार सम्मेलनमा मन्त्री पुनले विगतमा भएको गल्ती यो सरकारले सच्याएको दाबी गरे । ‘व्यक्ति विशेषलाई हेरेर करका दर फरक पारिएको छैन,’ उनले भने, ‘पूर्वसरकारले स्पन्ज आइरन र बिलेटमा ल्याएको नीति करेक्सन गरिएको मात्रै हो, कच्चा पदार्थभन्दा तयारी सामानमा एक तह बढी कर हुनुपर्छ भन्ने हो ।’
सरकारको यो निर्णयले फलामजन्य उद्योग सञ्चालन गर्ने व्यवसायीलाई दुई कित्तामा बाँडिदिएको छ । एकथरी व्यवसायी नयाँ निर्णयको स्वागतमा उभिएका छन् भने अर्काथरीले विरोधको स्वर उरालेका छन् ।
बिलेट आयात गरेर फलामे छड उत्पादन गर्दै आएका व्यवसायीले सरकारी घोषणाको स्वागत गरेका छन् भने स्पन्ज आइरन र मेल्टिङ प्लान्ट जडान गरेका फलामजन्य सामग्री उत्पादन गर्ने व्यवसायीले सरकारको नयाँ कर नीतिको विरोध गरेका छन् ।
फलामे छडदेखि अन्य फलामजन्य सामग्री उत्पादन गर्ने व्यवसायीको संस्था नेपाल फलामे छड उत्पादक संघले काठमाडौंमा बुधवार पत्रकार सम्मेलन नै गरेर सरकारी नीतिले ३६ अर्ब रुपैयाँको उद्योग डुब्ने अवस्थामा भएको दाबी गर्यो । प्रतिस्थापन विधेयकले स्पन्ज आइरन र मेल्टिङ युनिटमा ल्याएको नीतिबाट उत्साहित भएर लगानी थपेका उद्योगी मर्कामा परेको संघको भनाइ छ ।
सरकारले गरेको निर्णयले औद्योगिकीकरणमा दीर्घकालीन प्रभाव पार्ने पनि न्यौपानेले बताए । स्पन्ज आइरनबाट फलामे छड उत्पादन गर्दै आएका उनले भने, ‘पहिला रोलिङ मिलमा ५ मेगावाट बिजुली थियो अहिले ४५ मेगावाट लिएको छु । विद्युत् संरचना, प्रणालीमै लगानी बढी भएको छ । यसको सुरक्षा कसले गर्ने ?’
बिलेट आयात गरेर फलामे छड उत्पादन गर्दै आएको साख: ग्रूपका किरण साख: भने स्पन्ज आइरनबाट बिलेट उत्पादन गर्ने उद्योगीले आफ्नो लागत बढाइचढाई गरी प्रस्तुत गरेको बताउँछन् । ‘प्रतिस्थापन विधेयकअघि सातओटा मेल्टिङ कारखाना थियो, पछि सातैओटा थपिए,’ उनले भने, ‘एक मेल्टिङ उद्योगमा ७० करोडभन्दा धेरै लगानी हुँदैन । कहाँको ३६ अर्ब लगानी हुनु ?’
उनले स्वास्थ्य तथा गुणस्तरका हिसाबले पनि यस्ता उद्योगलाई प्रोत्साहन दिन नहुने बताए । सरकारी नीतिको समर्थन र विरोधमा व्यवसायी बाँडिए पनि उनीहरू सरकारले नीतिगत स्थिरता दिन नसकेको बताउँछन् ।
पत्रकार सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले सरकारको यो अस्थिर नीतिले लगानीको वातावरण बिग्रेको बताए । ‘हिजो घटाइएको भन्सार अहिले किन बढाउन आवश्यक पर्यो ?’ उनले प्रश्न गरे, ‘सरकारले लिने नीतिहरू निरन्तर परिवर्तन भइरहन्छन् । हामीले नीतिमा निरन्तरता र स्पष्टता खोजेको हो । व्यवसायीले कसलाई विश्वास गर्ने, व्यवसायीले किन व्यवसाय गर्ने ?’
संघले एक तहको भन्सार सुविधा नदिए मेल्टिङ प्लान्ट चलाउन नसक्ने धारणा सार्वजनिक गरेको छ । उत्पादन, उत्पादकत्व र रोजगारी वृद्धि गर्ने उद्देश्य राख्दै सार्वजनिक भएको आगामी आवको बजेटले उक्त लगानी र ३ हजार ५०० भन्दा बढीलाई रोजगारी दिइरहेका मेल्टिङ प्लान्टलाई धराशयी बनाउने काम गरेको उनीहरूले उल्लेख गरे ।
संघका अध्यक्ष साहिल अग्रवालले स्पन्ज, स्क्र्याप र पिग आइरनमा भन्सार महशुल बढाएर बिलेटको घटाइएको भन्दै नेपालमा भ्यालु एड गर्ने उद्योगलाई प्रोत्साहनभन्दा पनि निरुत्साहित गर्न खोजिएको बताए । ‘नेपालमा धेरैजसो स्टील उद्योगले मेल्टिङ प्लान्ट लगाइसकेका छन्,’ उनले भने, ‘सरकारको नीतिले उद्योग धराशयी अवस्थामा पुग्छ । यसलाई सच्याउनुपर्छ ।’ संघका अनुसार मुलुकमा हाल सञ्चालित २३ उद्योगमध्ये १८/१९ ओटाले मेल्टिङ प्लान्ट जडान गरिसकेका छन् । यस्ता प्लान्टमा स्पन्ज, पिग, स्क्र्याप आइरनलगायत अन्य कच्चा पदार्थ आयात गरी त्यसलाई पगालेर बिलेट बनाइन्छ ।
सौरभ ग्रूपका अध्यक्ष विष्णु न्यौपानेले स्वदेशमा आफैले बिलेट उत्पादन गर्ने उद्योगले आयातित बिलेटबाट डन्डी बनाउनेको तुलनामा छुट्टै संरचना जडान गर्नुपर्ने र त्यसका लागि २ अर्बदेखि ४ अर्ब रुपैयाँ थप लगानी आवश्यक पर्ने बताए ।
उनले सरकारको नयाँ घोषणाले स्वदेशमै बिलेट उत्पादन गर्ने उद्योगलाई नकारात्मक असर गर्ने बताए । ‘संरचना जडानका लागि हुने लगानीमा ब्याज पनि हुन्छ । यो अवस्थाबीच यस्ता उद्योगको संरक्षण सरकारले नगरे कसले गर्छ ?’ उनले प्रश्न गरे, ‘अहिलेको स्थितिमा सबैजसो उद्योगीहरूसँग रोलिङ मिल (बिलेट आयात गरेर फलामे छड बनाउने) संयन्त्र पनि छ । अब हामीले पनि बाध्य भएर बिलेट नै ल्याउने स्थिति आउँछ । यो अवस्थाले मुलुकलाई २० वर्ष पछाडि धकेल्छ ।’