काठमाडौं । यस वर्षको षडानन्द राष्ट्रिय तथा क्षेत्रीय पुरस्कारको घोषणा गरिएको छ । कात्तिक २२ गते बसेको आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठानको १२०औं बैठकले यस वर्षको षडानन्द राष्ट्रिय पुरस्कार, षडानन्द राष्ट्रिय समाज सेवा पुरस्कार र षडानन्द क्षेत्रीय पुरस्कारको घोषणा गरेको हो ।
बैठकले यस वर्षको ‘षडानन्द राष्ट्रिय पुरस्कार’ नेपालको राजनीतिक, सामाजिक, कानूनी, सांस्कृतिक तथा भाषिक इतिहासको खोज, अध्ययन र अनुसन्धानको क्षेत्रमा उल्लेख्य योगदान पुर्याएका प्राडा. जगदीश चन्द्र रेग्मीलाई प्रदान गर्ने निर्णय गरेको छ । काशी हिन्दु विश्व विद्यालयबाट लिच्छवीकालीन नेपाली संस्कृतिका केही पक्ष विषयक अध्ययनमा इस्वी सन् १९७० मा विद्यावारिधि उपाधि प्राप्त रेग्मीका नेपालको प्राचीन इतिहास, कला, संस्कृति, वास्तुकला, भाषा आदिको खोज, अध्ययन, अनुसन्धानसँग सम्बन्धित दर्जनौ पुस्तकका साथै प्राचीन नेपालको कानूनी भाषा, धर्म, संस्कृति, कला र सांस्कृतिक भूगोलको ऐतिहासिक पक्षसँग सम्बन्धित अध्ययन प्रतिवेदन तथा कार्यपत्र पनि प्रकाशित छन् ।
उक्त पुरस्कार आबाल ब्रह्मचारी षडानन्द अधिकारीको स्मृतिमा दाताहरूको सहयोगमा स्थापना गरिएको हो । पुरस्कारको राशी १ लाख रुपैयाँ रहेको छ ।
यसैगरी यस वर्षको षडानन्द राष्ट्रिय समाज सेवा पुरस्कार समाजसेवी, कलाकार तथा साहित्यकार भद्रकुमारी घलेलाई प्रदान गर्ने निर्णय गरिएको छ । नर्स तथा मिड वाइफ तालीम प्राप्त घले काशी विद्यापीठ बनारसबाट शास्त्री उपाधि हासिल गरेकी छिन् । उनीद्वारा स्थापित भद्रकुमारी घले सेवा सदनले समाज सेवाका क्षेत्रमा काम गर्दै आएको छ । यस्तै अन्य विभिन्न सामाजिक तथा शैक्षिक संस्थामा पनि घलेको संलग्नता र योगदान छ । नेपालमा समाज सेवाका विविध क्षेत्रमा महत्त्वपूर्ण योगदान गर्ने व्यक्ति/संस्थालाई प्रदान गरिने यो पुरस्कारको राशी ५१ हजार रुपैयाँ छ ।
बैठकले यस वर्षको षडानन्द क्षेत्रीय पुरस्कार साहित्यकार कुन्ता शर्मालाई प्रदान गर्ने निर्णय गरेको छ । यो पुरस्कार पूर्वाञ्चलमा शिक्षा, संस्कृति र साहित्यका क्षेत्रमा विशिष्ट योगदान पुर्याउने व्यक्ति वा संस्थालाई प्रदान गरिन्छ । उक्त पुरस्कारको राशी ५१ हजार रुपैयाँ रहेको छ । घोषित तीनओटै पुरस्कार मङ्सिर २१ गते (विवाहपञ्चमीका दिन) आबाल ब्रह्मचारी षडानन्दको १९०औं जन्मजयन्ती विशेष कार्यक्रमको अवसरमा प्रदान गरिने प्रतिष्ठानले जानकारी दिएको छ ।