काठमाडौं । चालू आर्थिक वर्ष २०८०/८१ को बजेटमा स्टार्टअप उद्यम गर्नेहरूलाई सघाउन सरकारले २५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । तर, स्टार्टअप उद्यमका लागि कर्जा माग गर्दै परेका व्यावसायिक परियोजनाको कुल लगानी सरकारले विनियोजन गरेको बजेटभन्दा बढी रहेको पाइएको छ ।
सरकारले स्टार्टअप उद्यम गर्न चाहनेलाई सघाउने उद्देश्यले परियोजना धितो राखेर ३ प्रतिशत ब्याजमा कर्जा दिने योजना ल्याएको छ । उक्त योजनाअनुसार छनोटमा परेका ३३५ परियोजनाको अनुमानित लगानी ३६ करोड रुपैयाँ छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका कार्यकारी निर्देशक उमेशकुमार गुप्ताले कर्जाका लागि उक्त लगानीका परियोजना छनोट भएको जानकारी दिए । प्रतिष्ठानले यस्तो कर्जा दिन २०८० माघ १९ गते इच्छुक स्टार्टअप उद्यमीलाई परियोजना पेश गर्न आह्वान गरेको थियो । २१ दिनको अवधिमा १ हजार ६५८ परियोजना कर्जाका लागि प्रतिष्ठानमा दर्ता भएका थिए ।
परियोजना प्रस्ताव संख्या उल्लेख्य परे पनि कर्जा पाउने सूचीमा पर्नेको संख्या भने कम छ । यो कर्जाका लागि प्रारम्भिक रूपमा ३९४ ओटा परियोजना छनोट भएका थिए । प्रतिष्ठानले शुरुआती छनोटमा परेकाले व्यावसायिक योजनाबारे प्रस्तुति दिनुपर्ने व्यवस्था गरेको थियो । त्यसअनुसार वैशाख २१ देखि जेठ ३ गतेसम्म व्यावसायिक योजना प्रस्तुत गर्ने समय दिइएको थियो । त्यसमा ३३५ जनाले मात्र व्यावसायिक योजनाबारे प्रस्तुतीकरण गरेका हुन् । प्रतिष्ठानका कार्यकारी निर्देशक गुप्ताले व्यावसायिक योजना प्रस्तुत गरेकालाई प्रतिष्ठानले राष्ट्रिय वाणिज्य बैंकमा ‘क्रेडिट एप्राइजल’का लागि पठाइसकिएको जानकारी दिए । क्रेडिट एप्राइजलमा बैंकले सम्बन्धित स्टार्टअपको चालू अवस्थाको व्यवसाय कस्तो छ, सरकारले दिने ऋण थप्दा मासिक साँवा/ब्याज तिर्न सक्छ कि सक्दैन, अन्य वित्तीय अवस्था कस्तो छ भन्ने विषयमा अध्ययन गर्छ ।
- बजेट रू. २५ करोड, परियोजनाको प्रस्तावित रकम रू. ३६ करोड
- छनोट भएका उद्यमीले बैंकको शाखाबाट ऋण पाउने
प्रस्तावित उद्यमीलाई व्यावसायिक योजना प्रस्तुत गर्न दिइएको थियो । विभिन्न विधामा गरी ५० अंकभन्दा बढी नम्बर ल्याउने परियोजनाले राष्ट्रिय वाणिज्य बैंकबाट ऋण पाउनेछन् । व्यावसायिक परियोजना पेश गरेका र अंक प्राप्त गर्ने परियोजनाको अन्तिम सूची बनाउने काम २–३ दिनमा सकिने गुप्ताले बताए । त्यसपछि बैंकलाई सूची बुझाइनेछ र बैंकले ऋण प्रवाहको सिफारिश गर्नेछ । ‘उद्यमीले यस्तो ऋण भने सम्बन्धित जिल्लामा रहेका राष्ट्रिय वाणिज्य बैंकका शाखा कार्यालयबाट पाउनेछन्,’ गुप्ताले भने, ‘यसले सेवाग्राहीलाई थप सुविधा हुनेछ ।’ जेठको अन्तिमतिरबाट यस्तो कर्जा प्रवाह हुनेछ ।
अहिलेको तथ्यांकअनुसार करीब २२० परियोजनाले ५० अंकभन्दा बढी अंक पाएका छन् । ‘यो कार्यक्रमको कुल बजेट २५ करोड रुपैयाँको हो,’ गुप्ताले भने, ‘यही बजेटको सीमाभित्र रहेर उद्यमीको सूची निकालिनेछ, सूची निकाल्ने, तर कर्जा नपाउने अवस्था आउन नदिन ५० भन्दा बढी अंक ल्याउने परियोजनाको कुल लगानी जोडेर उक्त रकमको दायराभित्र रहेर कर्जा उपलब्ध गराइनेछ ।’
गुप्ताका अनुसार २५ लाख रुपैयाँ कर्जा माग भएका परियोजना पनि छन् । ‘तर, कर्जा माग भएअनुसार व्यवसायको मूल्यांकन गर्दा १७ लाख रुपैयाँमा झरेको पनि छ,’ उनले भने, ‘यसरी हेर्दा जति माग भएको छ, उति नै कर्जा पाउने अवस्था हुँदैन, यो घट्छ ।’ सरकारले एउटा स्टार्टअप उद्यमका लागि अधिकतम २५ लाख रुपैयाँसम्म सहुलियत कर्जा उपलब्ध गराउने नीति लिएको छ ।
सरकारले परियोजनाको अवस्था, माग लगायत अवस्था हेरेर आवश्यकताका आधारमा उक्त सीमामा रहेर कर्जा उपलब्ध गराउनेछ । यो रकम एकैपटक भने पाइँदैन । पहिलो किस्ता लिएपछि दोस्रो किस्ता लिनुपूर्व परियोजनाको साइटमै गएर कर्जाको सदुपयोग भए/नभएको हेरेर मात्र दोस्रो किस्ता दिइनेछ । तेस्रो किस्ताका लागि पनि सोही प्रक्रिया पूरा गरिनेछ ।
सरकारले स्टार्टअप उद्यम कर्जा माघ ११ गते जारी गरेको ‘स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि–२०८०’ अनुसार उपलब्ध गराउनेछ । विभिन्न १६ ओटा क्षेत्र तोकेर ती व्यवसाय दर्ता गरेको ७ वर्षसम्म नकटेको उद्यमी यस्तो कर्जा पाउन योग्य हुने व्यवस्था प्रतिष्ठानले गरेको छ । कृषि तथा पुशपन्छी, वन पैदावार, पर्यटन प्रवर्द्धन तथा मनोरञ्जन, आथित्य सत्कार, विज्ञान, प्रविधि, सूचना तथा सञ्चार, मानव स्वास्थ्य सेवा, शिक्षा तथा शिक्षण सिकाइ, सुरक्षित यातायात तथा पारवहन सेवा, अटोमोबाइल, वैकल्पिक तथा नवीकरणीय ऊर्जा, जलवायु परिवर्तन न्यूनीकरणलगायत क्षेत्रका व्यवसायलाई कर्जा उपलब्ध गराउने नीति सरकारको छ ।
संखुवासभा, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, धादिङ, चितवन, नुवाकोट, रसुवा, मोरङ, सुनसरी, कैलाली, लम्जुङ, गोरखा, अर्घाखाँची, कास्की, बारा, अछाम, दाङ, बाजुरा, बैतडी, झापा, बाँके, मकवानपुर, हुम्ला, दार्चुला, कालिकोट, सल्यान, पाँचथर, गुल्मी, सप्तरी, प्युठान, कास्की लगायत जिल्लाबाट यस्तो कर्जाका लागि परियोजना पेश भएका छन् ।