काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको अध्यक्ष पदमा वेणुगोपाल रंगनाथन नियुक्त भएका छन् ।
सञ्चालक समितिको ४६९औं बैठकले सन् २०२५ मार्च २१ (गत शुक्रवार) देखि लागू हुने गरी उनलाई बैंकको अध्यक्ष पदमा नियुक्त गरेको हो ।
उनले आइतवार शपथ पनि लिइसकेका छन् । कार्यवाहक गभर्नर डा. नीलम ढुंगाना तिम्सिनाले उनलाई शपथ ग्रहण गराइन् ।
वेणुगोपाल सन् २००७ जुनदेखि स्ट्याण्डर्ड चार्टर्डसँग आवद्ध छन् । उनले मुख्य रूपमा कर्पोरेट र इन्भेस्टमेन्ट बैंकिङ (सीआईबी) का लागि जोखिम व्यवस्थापन कार्यमा विभिन्न उच्च पदमा काम गरिसकेका छन् ।
हाल उनी भारत र दक्षिण एसिया क्लस्टर (जसमा बंगलादेश, श्रीलंका र नेपाल समावेश छन्) का लागि प्रमुख जोखिम अधिकृत (सीआरओ)समेत रहेका छन् ।
उनीसँग ३२ वर्षभन्दा बढी समयको बैंकिङ अनुभव छ । उनी क्ऋ मोडेलिङ र एनालिटिक्स कम्पनी इन्डियाका बोर्डका अध्यक्ष र स्ट्याण्डर्ड चार्टर्ड भियतनामको बोर्ड जोखिम समितिका अध्यक्षको रूपमा पनि कार्यरत छन् । उनी चार्टर्ड एकाउन्टेन्टसमेत हुन् ।