काठमाडौं । नेपाली बजारमा आज (शुक्रवार) सुनको मूल्यमा कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवारको तुलनामा सुनको मूल्य तोलामा ५०० रुपैयाँले वृद्धि भएको हो ।
शुक्रवार प्रतितोला १ लाख ५६ हजार तीन सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आजका लागि १ एक लाख ५६ हजार ८०० रुपैयाँ निर्धारण भएको छ । यो हालसम्मकै उच्च विन्दु हो ।
यस्तै, आज चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले वृद्धि भएको छ । शुक्रवार प्रतितोला एक हजार ८६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आजका लागि १ हजार ९०० रुपैयाँ निर्धारण भएको छ ।
रसिया–युक्रेन युद्ध र इजरायल–हमास द्वन्द्वका कारण विश्वव्यापी सुरक्षामा खतरा उत्पन्न हुनुका साथै अमेरिकी ब्याजदर कटौतीको बढ्दो अनुमानका कारण मूल्य वृद्धि भएको व्यापारीहरू बताउँछन् । युरोपियन सेन्ट्रल बैंकले ब्याजदर घटाएको छ भने अमेरिकी फेडरल रिजर्भले पनि यसै साता कम्तिमा २५ बेसिस प्वाइन्टले ब्याजदर घटाउने अनुमान गरिएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
महासंघका वरिष्ठ उपाध्यक्ष दियेशरत्न शाक्यले अमेरिकी ब्याजदर कटौतीको अनुमानका साथै ब्रिक्स राष्ट्रहरूले चाँडै नै साझा मुद्रा ल्याउने अनुमानले डलरको मागलाई थप कमजोर बनाएको बताए । 'पछिल्लो समय भारत, चीन, रसियाजस्ता देशले पनि सुनको मौज्दात बढाएका छन्,' शाक्यले भने, 'यही प्रवृत्ति रहिरहने हो भने आगामी महीनामा नेपालमा सुनको मूल्य प्रतितोला एक लाख ८० हजार पुग्न सक्छ ।'
'पाँच महीनामा अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस तीन हजार अमेरिकी डलर पुग्ने अनुमान गरिएको थियो,' शाक्यले भने, 'यदि त्यसो भयो र अहिलेकै भन्सार व्यवस्था कायम रह्यो भने सुनको मूल्य प्रतितोला एक लाख ८० हजार रुपैयाँसम्म पुग्न सक्छ ।
ज्याला र अन्य शुल्कसमेत समावेश गरी सुनका गहनामा ग्राहकले ७ देखि १० प्रतिशतसम्म बढी लिने गरेको शाक्यको भनाइ छ । यस वर्षको शुरूमा सुनको मूल्य उकालो लाग्न थालेपछि विज्ञहरूले सुनको मूल्य प्रतिऔंस ३ हजार अमेरिकी डलरसम्म पुग्न सक्ने अनुमान गरेका थिए ।
गत मार्चमा सुनको मूल्य प्रतिऔंस २ हजार १ सय ६० डलर पुगेको थियो । अप्रिल र मे महीनामा पनि यो रेकर्ड तोड्ने क्रम जारी रह्यो । जुनमा मूल्य घटे पनि जुलाईमा भने नयाँ उचाइमा पुगेको थियो ।
अन्तरराष्ट्रिय बजारमा आइतवार सुनको मूल्य प्रतिऔंस दुई हजार ५७९.७ अमेरिकी डलरमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले बढेर १ हजार ९ सय रुपैयाँ पुगेको छ । गत शुक्रवार चाँदी प्रतितोला १ हजार ८६० रुपैयाँ तोकिएको थियो ।