तेस्रो मुलुकबाट सुपारी आयात गरी भारत निर्यात गर्ने प्रवृत्ति रोकी नेपाली सुपारीको निर्यात सहज बनाउन खोज्दा उल्टै नेपाली किसान र निर्यातकर्ता मर्कामा परेका छन् । कुनै पनि कुराको निर्देशन दिएपछि त्यसले केकस्तो समस्या आउन सक्छ भन्नेमा पर्याप्त अध्ययन नगरी दिइने निर्देशनले ‘झिकिदे गाँडभन्दा थपिदे गाँड’ को काम गरेको छ । सुपारी निर्यातमा मात्र होइन अन्य विषयमा समेत यस्तो समस्या आउने गरे पनि संसदीय समिति वा सरकारले सम्भावित असरको अध्ययन गर्नुपर्ने आवश्यकतालाई आत्मसात् गर्न सकेको देखिँदैन । यसो हुनु निकै विडम्बना हो ।
इन्डोनेशियाबाट सुपारी आयात गरी नेपाली सुपारी भन्दै भारत निर्यात हुने क्रम बढेपछि यसलाई रोक्न संसदीय समितिले डीएनए परीक्षण गरेर उत्पत्तिको प्रमाणपत्र दिन निर्देशन दियो । नेपालमा सुपारीको डीएनए परीक्षणका लागि प्रयोगशाला नभएको र विगतमा यस्तो परीक्षण नहुने गरेकाले यो निर्देशनका कारण किसानहरूले सुपारी निर्यात गर्न सकेनन् । संसदीय समितिले निर्देशन दिनुपूर्व यस्तो निर्देशनले कहाँकहाँ असर पर्छ, त्यस्तो परीक्षणको प्रयोगशाला छ कि छैन र त्यसले अन्तरराष्ट्रिय मान्यता पाउँछ कि पाउँदैन भनेर ध्यान नदिएको यसले पुष्टि हुन्छ । यस्तो हचुवा निर्देशन दिने र त्यो गलत भएको भनेर थाहा पाएपछि तत्कालै सच्याउने परिपाटीसमेत नहुँदा निर्यातमा समस्या परेको देखिन्छ ।
सुपारीमात्र होइन, विगतमा मुसुरोका दाल पनि अन्य देशबाट आयात गरेर बंगलादेशमा निर्यात गरिन्थ्यो । तर, अहिले त्यो क्रम रोकिएको छ र निर्यात पनि निकै घटेको छ । त्यसो त विगतका वर्षहरूमा नेपालले तेस्रो मुलुकबाट सूर्यमुखीको कच्चा तेल आयात गरी भारत निर्यात गथ्र्यो । यसमा चाहिँ नेपालमा केही प्रतिशत मूल्यअभिवृद्धि गरिने भएकाले सरकारको आँखामा कुनै समस्या देखिएन । यद्यपि यस्तो निर्यात क्षणिक हुन्छ भन्ने कुरा बारम्बार उठेको थियो । नभन्दै भारतले सूर्यमुखी तेलमा लगाएको भन्सार दर घटाउना साथ नेपालबाट निर्यात ठप्प भयो ।
यसरी अन्य मुलुकबाट आयात गरेर मूल्यअभिवृद्धि गरी निर्यात गर्नु गलत होइन । तर, अवैध आयात गरी निर्यात गर्नु र त्यस्तो निर्यातले गर्दा नेपाली उत्पादनको निर्यातमा समस्या आउनुचाहिँ गलत मात्र होइन, दण्डनीय पनि हो । तर, यहाँनेर के स्मरणीय छ भने नेपालमा जति उत्पादन हुन्छ त्यो भन्दा निकै गुणा बढी सुपारी नेपाली भनेर निर्यात हुन्छ ।
नेपालको निर्यात नबढ्नु र निर्यात भइरहेका वस्तुको निर्यात परिमाण घट्नुमा यस्तै खालका विकृति कारण हुन् । कानूनी छिद्र छलेर गरिने यस्तो व्यापारमा आयातकर्ताले पनि आँखा लगाइरहेको हुन्छ । त्यसो हुँदा यस्तो आयातमा उसले कुनै न कुनै अवरोध खडा गरिहाल्छ । भारत नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो । नेपालबाट भारतमा केही वस्तुको निर्यात हुन्छ तर यस्तो निर्यात दिगो देखिएको छैन । कुनै पनि वस्तु बढी मात्रामा निर्यात भयो भने उसले त्यसका बारेमा चासो राख्छ र गैरभन्सार अवरोध खडा गरिदिन्छ । नेपालले वनस्पति घ्यू ठूलो परिमाणमा निर्यात गरे पनि अहिले त्यो नाममात्रको हुन थालेको छ । यसमा भारतको यस्तै नीतिले काम गरेको देखिन्छ ।
त्यसैले नेपालले उत्पादन बढाउने काम गर्नुपर्छ । आफ्ना उत्पादनमा प्रयोगशालाको रिपोर्ट वा उत्पत्तिको प्रमाणपत्रजस्ता कुराले कतै पनि अवरोध नआओस् भनेर सरकारले त्यसअनुसार तयारी गर्नुपर्छ । अवैध बाटोबाट सामान ल्याएर निकासी गर्दा राज्यलाई वित्तीय रूपमा घाटा नहोला तर त्यसले नेपालको छवि बिगार्छ । त्यसैले सरकारले यस्तो कुरामा ध्यान दिनुपर्छ ।
नेपालबाट १० खर्बको वस्तु तथा सेवा निर्यातको सम्भावना भए पनि त्यसको ज्यादै कम मात्रै निर्यात गर्न सकेको छ । निर्यात सम्भावना उपयोग गर्न नसक्नुमा निर्यातका लागि भएका अवरोध हटाउन नसक्नु वा त्यसलाई सहज बनाउन नसक्न एउटा प्रमुख कारण हो । त्यसैले नेपाली उत्पादनले गैरभन्सार अवरोध खेप्न नपरोस् भन्नेमा सरकारले व्यापार साझेदार मुलुकसँग स्पष्ट रूपमा सम्झौता गर्नुपर्छ र अवरोध भएमा तत्कालै कूटनीतिक माध्यमबाट समाधान खोज्नुपर्छ । अन्यथा नेपाली उत्पादनले सधैं यस्तै समस्या भोगिरहनेछ ।