मङ्सिर २१, सुर्खेत । राम्रो आम्दानी हुन थालेपछि सुर्खेतमा रात्रिबस व्यवसायमा लगानी वृद्धि हुँदै गएको छ । आरामदायी सीट, भरपर्दो सेवा र सुरक्षित यात्राका कारण रात्रिबस सेवामा यात्रुको चाप बढ्न थालेपछि यस व्यवसायप्रति लगानीकर्ता आकर्षित हुन थालेका हुन् । अहिले सुर्खेत–काठमाडौं सडकखण्डमा दुईओटा यातायात समितिका करीब २२ ओटा सुविधासम्पन्न बस सञ्चालनमा छन् । ३५ सीट क्षमता भएका सुविधासम्पन्न त्यस्ता रात्रिबस सेवामा व्यवसायीले प्रतिबस ५० लाखदेखि ७० लाख रुपैयाँसम्म लगानी गरेका छन् । यो सडकखण्डको रात्रि बससेवा अहिले सिण्डिकेट प्रणालीको प्रभावबाट मुक्त रहेकाले यस क्षेत्रमा व्यावसायिक लगानीमैत्री वातावरण निर्माण हुन सकेको बस व्यवसायी बताउँछन् ।
रात्रिबस सेवामा यात्रुको चाप बढ्न थालेपछि मध्यपश्चिमाञ्चल यातायात व्यवसायी सङ्घले हालै मात्र सुर्खेत–काठमाडौं रुटमा अत्याधुनिक सुविधासम्पन्न रारा मेट्रो एसी बस सञ्चालनमा ल्याएको छ । रात्रिबस सेवामा लगानी वृद्धि हुँदै गएपछि यातायात व्यवसायी सङ्घहरूले प्रदान गर्ने सुविधाका आधारमा भाडादर पनि कायम गरिएको छ । वातानुकूलित सेवासहितको बसमा सुर्खेत–काठमाडौंसम्म यात्रा गर्न १ हजार ६ सय ५० रुपैयाँ भाडा तिर्नुपर्दछ । खानासहितको भाडा भने १ हजार ८ सय रुपैयाँ रहेको छ ।
बसको सीट क्षमताभन्दा बढी यात्रु नराख्ने र जथाभावी नचढाउने, नओराल्ने काम रात्रिसेवामा हुने भएकाले यात्रुले त्यस्ता बसमा सुरक्षित महसूस गर्ने गरेका छन् । काँक्रेविहार यातायात व्यवसायी सङ्घले सुर्खेत–काठमाडौंका लागि सामान्य बस सेवाका लागि रू. १ हजार, डिलक्समा १ हजार २ सय, क्यापिटल स्तरको १ हजार १ सय र बुलबुले मेट्रोका लागि प्रतियात्रु १ हजार २ सय रुपैयाँ भाडा निर्धारण गरेको छ । यस्तै मध्यपश्चिमाञ्चल यातायात व्यवसायी सङ्घले सामान्य बस सेवाका लागि १ हजार, डिलक्समा १ हजार २ सय र रारा मेट्रो एसीको प्रतियात्रु १ हजार ६ सय ५० रुपैयाँ भाडा निर्धारण गरेको सङ्घका लेखापाल यादव बीसीले जानकारी दिए । सुर्खेत–काठमाडौं रुटमा ठूला लगानीका आरामदायी रात्रिबस सेवा सञ्चालनमा ल्याएपछि यस क्षेत्रमा लगानी वृद्धि हुँदै गएको सङ्घका अध्यक्ष विष्णुबहाुदर खड्काको भनाइ छ ।
यसैबीच सुर्खेतमा प्रधान कार्यालय रहेका मध्यपश्चिमाञ्चल यातायात व्यवसायी सङ्घ र काँक्रेविहार यातायात व्यवसायी सङ्घले पछिल्लो ४ महीना मात्रै नयाँ यातायातका सवारीसाधनमा २९ करोड रुपैयाँ लगानी गरेका छन् । रात्रिसेवाका लागि सञ्चालनमा ल्याइएका सातओटा रारा मेट्रो एसी बसमा मात्र ४ करोड ९० लाख रुपैयाँ लगानी गरिएको छ । ‘चालू आवको साउनदेखि कात्तिकसम्म सङ्घमा थप ४४ ओटा नयाँ सवारीसाधन भित्रिएका छन् । यसमध्ये दिवा सेवाका लागि १० ओटा बस, मिनीबस दुई र २५ ओटा माइक्रो थपिएका छन्,’ अध्यक्ष खड्काले भने । यी सबै सवारीसाधनमा करीब २१ करोड ३० लाख रुपैयाँ लगानी भएको छ । त्यस्तै काँक्रेविहार यातायात व्यवसायी सङ्घमा पछिल्लो ४ महिना यता १५ ओटा नयाँ बस थपिएको जानकारी दिए । ती नयाँ बसमा ७ करोड ५० लाख रुपैयाँ लगानी गरिएको छ ।