फागुन २५, विराटनगर । नेपाल खाद्य संस्थान अञ्चल कार्यालय, विराटनगरले सवा २ करोड रुपैयाँभन्दा बढी मूल्यको धान खरीद गरेको छ । सो कार्यालयले रू. २ करोड २६ लाख ५५ हजार मूल्यको १० हजार ६ सय ७४ क्वीण्टल धान खरीद गरेको हो । पहिलो पटक खरीद शुरू गरेको सो कार्यालयले प्रति क्वीन्टल रू. २ हजार १ सय २४ का दरले १० हजार २ सय ९७ क्वीण्टल सोना मन्सुली धान र प्रति क्वीण्टल रू. २ हजार ८० का दरले ३ सय ७७ क्वीण्टल राधा धान (मोटो) खरीद गरेको हो ।
मोरङ जिल्लामै उत्पादित धान संस्थानकै परिसरमा खरीद गरिएको हो । उक्त धानको कुटानी गराएपछि ६ हजार ५ सय क्वीण्टल चामल तयार हुनेछ । कुटानीका लागि ठेक्कासमेत दिइसकिएको सो कार्यालयले बताएको छ । सो परिमाणका चामल कारागारमै खपत हुने भएकाले पहाडी जिल्लाका मागलाई ध्यानमा राखी १० हजार क्वीण्टल चामल खरीदका लागि बोलपत्र आह्वानको तयारी भइरहेको कार्यालय प्रमुख गणेशप्रसाद चापागाईंले जानकारी दिए । यस अञ्चलअन्तर्गतका मोरङ, सुनसरीको झुम्का, धनकुटा, भोजपुर र तेह्रथुम कारागारमा १ वर्षमा ६ हजार ५ सय क्वीण्टल चामलको माग हुने गरेको छ । रासस
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.