पुस ३०, काठमाडौं (अस) । नेपाल बैङ्कर्स सङ्घका पदाधिकारीहरूले सुरक्षित कारोबार ऐन तत्काल लागू गर्न सरकारसँग आग्रह गरेका छन् । मङ्गलवार अर्थमन्त्री शङ्करप्रसाद कोइरालासँग भेट गरी सङ्घका पदाधिकारीहरूले बैङ्किङ सेवालाई सहज र विवादमुक्त बनाउन ऐन आवश्यक भएको बताए ।
ऐन नहुँदा दोहोरो कर्जा र घरजग्गालाई मात्र धितो बुझ्ने परम्पराका कारण समस्या उत्पन्न भएको उनीहरूको गुनासो छ । सङ्घका अध्यक्ष राजेन्द्रसिंह भण्डारीको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले वाणिज्य बैङ्कहरूको पारदर्शी सेवालाई सहकारीसँग दाँजेर नहेर्नसमेत आग्रह गरेको छ । वर्षेनि ७ अर्ब रुपैयाँभन्दा बढी राजस्व बुझाउने वाणिज्य बैङ्कहरूलाई सरकारले सम्मान व्यक्त गरेर ओझेल परेको छवि सुधार्न मद्दत गर्नुपर्ने बैङ्क सञ्चालकहरूको भनाइ छ । सो अवसरमा अर्थमन्त्री कोइरालाले उत्तराद्र्धमा सरकारले कुनै नीतिगत निर्णय गर्न नसके पनि भएको कानूनले निर्देशित गरेका विषयलाई गम्भीर भएर लागू गर्ने आश्वासन दिए । उनले कर्जा सूचना केन्द्र वा सरोकारवाला निकायमार्फत बैङ्कर्सहरूका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे । अर्थसचिव शान्तराज सुवेदीले वाणिज्य बैङ्कका साझा मुद्दाका विषयमा आफू गम्भीर रहेको र समाधानका लागि तत्काल प्रयास थाल्ने बताए ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.