काठमाडौं। सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गतको सातौं प्रतियोगिता ‘सूर्य नेपाल काठमाडौं ओपन’ आज (मंगलवार)देखि रोयल नेपाल गल्फ क्लबमा शुरू हुँदैछ । ७२ होलको चारदिने प्रतियोगिता शुक्रवारसम्म चल्ने बताइएको छ । उपाधिको लागि ३२ प्रोफेसनल र ८ एमेच्योर गरी कुल ४० गल्फरले दाबेदारी प्रस्तुत गर्दैछन् ।
प्रतियोगिताको कुल पुरस्कार राशी ७ लाख ३ हजार ५०० रुपैयाँ रहेको छ । विजेताले १ लाख २० हजार तथा दोस्रो र तेस्रो हुने खेलाडीले क्रमश: ८२ हजार र ६६ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यसैगरी चौथो हुनेले ५५ हजार र पाँचौं हुने खेलाडीले ४३ हजार नगद हात पार्ने बताइएको छ ।
पिजीए नेपालका अध्यक्ष रविन्द्रमान श्रेष्ठले यो प्रतियोगितामा राम्रो स्कोर निस्किने र प्रतियोगिता प्रतिस्पर्धात्मक हुने विश्वास रहेको बताए । पछिल्लो समय गल्फको स्तर बढेको र निरन्तर प्रायोजन गरेकोमा उनले प्रायोजक सूर्य नेपाल प्रालिलाई धन्यवाद दिए ।