धूम्रपान तथा सुर्ती सेवन स्वास्थ्यको लागि हानिकारक छ । यसको सेवनले मानिसमा फोक्सोको क्यान्सर, मस्तिकाघात, मुख तथा घाँटीको क्यान्सर हुन्छ । यस्को सेवनले महिलामा कम तौल, अपाङ्गता भएको र मरेको बच्चा जन्मने सम्भावना हुन्छ । सुर्तीमा हुने निकोटिन, टार, कार्बनमानोक्साइडले मुटु र फोक्सोको रोग लाग्ने र नाइट्रोसोमाइन र बन्जोपाइरिनले चारओटा प्रमुख नसर्ने रोगहरू क्यान्सर, दीर्घ श्वासप्रश्वास, मधुमेह र मुटु रोग लाग्ने गरेको तथ्य स्वास्थ्य विज्ञानबाट प्रमाणित भइसकेको छ । चुरोट, हुक्का, तमाखु सल्काउँदा वा त्यसबाट निस्कने धूँवालाई निल्न पुग्दा सीधै फोक्सोमा पुगेर श्वासप्रश्वासमा असर पुर्याउने गर्छ । विश्वभरमा थुप्रै मानिस धूम्रपानका कारण फोक्सोसम्बन्धी रोग लागेर मर्ने गरेको पाइएको छ ।
नेपाल सरकारले मानिसको स्वास्थ्य माथिको जोखिम कम गर्न र धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन, विक्रीवितरणलाई नियमन गर्न सुर्तीजन्य पदार्थ (नियमन र नियन्त्रण गर्ने) ऐन, २०६८ ल्यायो । ऐनले सार्वजनिक स्थलमा धूम्रपान तथा सुर्ती सेवन गर्न रोक लगाएको छ । ऐनअनुसार व्यवस्थापकले सार्वजनिक स्थलको आवश्यकताअनुसार विभिन्न ठाउँमा धूम्रपान तथा सुर्ती सेवन गर्न नपाउने बेहोराको सूचना सबैले देख्ने र पढ्न सक्ने गरी टाँस्नुपर्छ । सार्वजनिक स्थलमा धूम्रपान तथा सुर्ती सेवन गर्ने व्यक्तिलाई दण्ड, जरीवाना गर्ने कानूनी व्यवस्था गरेको भए तापनि कार्यान्वयन भएको छैन । यस्तो सूचना कमै देख्न सकिन्छ । बजारमा खुला रूपमा सुर्तीजन्य पदार्थ विक्री भइरहेको छ । कानूनबमोजिम लेबुल, टे्रडमार्क, उत्पादकको नाम, ठेगाना, निकोटिनको मात्रा तथा अन्य आवश्यक विषय उल्लेख गरी सुर्तीजन्य पदार्थको उत्पादन तथा विक्रीवितरण गर्र्न पाउँछ । तर, १८ वर्ष नपुगेको व्यक्ति र गर्भवती महिलालाई सुर्तीजन्य पदार्थ विक्रीवितरण गर्न पाइँदैन, उपहार दिन पनि पाइँदैन । शिक्षण संस्था, स्वास्थ्य संस्था, बाल कल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अनाथालयजस्ता स्थानमा १ सय मीटरभित्रको घर पसलबाट सुर्तीजन्य पदार्थ विक्रीवितरण गर्न पाइँदैन । धूम्रपान तथा सुर्ती सेवनबाट मानिसको स्वास्थ्यमा हुने गम्भीर असरको बारेमा चेतना जगाउन र नेपाल सरकारले नियमन गर्न नसक्दा कानून कागजमा मात्र सीमित हुन पुगेको छ ।
उत्पादकले चुरोट तथा सुर्तीजन्य पदार्थको बट्टा, र्यापर्स, प्याकेट तथा पार्सलको प्याकेजिङ र लेबुलको बाहिरको ७५ प्रतिशत भागमा सुर्तीजन्य पदार्थ स्वास्थ्यका लागि हानिकारक भएको बेहोराको मन्त्रालयले तोकेको चेतावनीमूलक सन्देश र सुर्तीजन्य पदार्थ सेवनको असरबाट भएको घातक, रंगिन चित्र छाप्नुपर्ने व्यवस्था छ । अहिले उत्पादकले मुख, फोक्सोको क्यान्सर देखिने रंगिन चित्र राखेको पाइन्छ । साथै सुर्तीजन्य पदार्थको प्याकेट तथा र्यापर्समा उत्पादकले नाइट्रोसोमाइन, बेन्जोपाइरिन, टार, कार्बनमोनोक्साइड लगायत रासायनिक तत्त्वहरू रहेको उल्लेख गरिएको छ । तर, यसले यस्ता वस्तुको प्रयोगकर्तालाई खासै फरक पारेको देखिँदैन । मानिसमा धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवनको लत नै रहेको देखिन्छ । यसको लतले मानिशहरूको स्वास्थ्य जोखिम बढाउनुका साथै आर्थिक, सामाजिक, सांस्कृतिक जीवनमा समेत नराम्रो असर गरेको छ । पछिल्ला दिनहरूमा सुर्तीजन्य पदार्थको सेवन गर्ने बानीको कारण युवा वर्ग बढी मात्रामा उच्च जोखिममा देखिएको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर सुर्तीजन्य पदार्थको सेवन गर्ने मानिसको संख्या १ अर्ब ५० करोडभन्दा बढी भएको अनुमान छ । त्यस्तै विश्वमा हरेक १० जनामा १ जनाको र प्रत्येक ६ सेकेण्डमा १ जनाको सुर्तीजन्य पदार्थको असरको कारणले मृत्यु हुने गरेको छ । यस्तै अवस्था रहेमा सन् २०३० सम्ममा ८० लाख मानिसको मृत्यु हुने अनुमान संगठनले गरेको छ । नेपालमा ३५ दशमलव ५ प्रतिशत पुरुष र १५ दशमलव ५ प्रतिशत महिलाले धूम्रपान गर्ने गरेको पाइएको छ भने सुर्तीजन्य पदार्थको सेवन गर्नेहरूमा ३१ दशमलव २ प्रतिशत पुरुष र १५ दशमलव ५ प्रतिशत महिला रहेको पाइएको छ । हरेक वर्ष नेपालमा करीब २७ हजार मानिसको मृत्यु सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने गरेको छ । यसको असरबाट प्रत्येक दिन करीब ५५ जना र प्रतिघण्टा ३ जना नेपालीको मृत्यु हुने गरेको छ ।
नेपाल सरकारले धूम्रपान तथा सुर्तीजन्य पदार्थको नियन्त्रण तथा यसको उपभोगबाट उत्पन्न रोगको रोकथाम र उपचारका लागि स्वास्थ्य कर कोषको व्यवस्था गरेको छ । धूम्रपान तथा सुर्तीजन्य पदार्थको अन्त:शुल्क करबाट उठेको कुल रकमको कम्तीमा २५ प्रतिशत रकम स्वास्थ्य कर कोषमा जम्मा गरिने व्यवस्था सुर्तीजन्य पदार्थ (नियमन र नियन्त्रण गर्ने) नियमावली, २०६८ को नियम १८ मा छ । सरकारले प्रत्येक वर्षको आर्थिक ऐनबमोजिम कर लगाउने, कर घटाउने, बढाउने, छूट दिने गर्छ । आर्थिक ऐन, २०८१ को दफा ४ बमोजिम यस आर्थिक वर्ष २०८१/८२ का लागि सरकारले स्वास्थ्य जोखिम कर लगाएको छ । विदेशबाट पैठारी हुने र स्वेदशमा उत्पादित बिँडीमा प्रतिखिल्ली ३० पैसा, चुरोट र सिगारमा प्रतिखिल्ली ६० पैसा र तयारी खाने सुर्ती, खैनी, गुट्खा, पानमसलामा प्रति किलोग्राम ६० रुपैयाँका दरले समदरमा स्वास्थ्य जोखिम कर लगाई असुल गरिन्छ । यस किसिमको कर विदेशी उत्पादनको हकमा पैठारीका बखत भन्सार बिन्दुमा र स्वदेशी उत्पादनका हकमा प्रतिष्ठानबाट निष्कासनका बखत आन्तरिक राजस्व विभागले असुल गरिन्छ । विभागबाट असुल भएको स्वास्थ्य जोखिम कर रकम स्वास्थ्य कर कोषमा जम्मा गरिन्छ । कोषमा जम्मा भएको रकम धूम्रपान तथा सुर्तीको उपभोगबाट उत्पन्न रोगको रोकथाम, नियन्त्रण, निदान, उपचार तथा अनुसन्धान गर्न, धूम्रपान तथा सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि स्वास्थ्य, शिक्षा, जनचेतनामूलक र सेवामूलक कार्यक्रम सञ्चालन गर्न खर्च गरिन्छ । कोषमा जम्मा भएको कर रकम धूम्रपान तथा सुर्तीको उपभोगबाट उत्पन्न रोगको निदान, उपचार तथा अनुसन्धान गर्न सरकारी अस्पतालहरूलाई ७५ प्रतिशत, जनचेतनामूलक र सेवामूलक कार्यक्रम सञ्चालन गर्न मन्त्रालयअन्तर्गतका केन्द्र वा महाशाखालाई १५ प्रतिशत र त्यस्तो पदार्थको उपभोगबाट उत्पन्न रोगको रोकथाम र उपचारसम्बन्धी कार्यक्रम सञ्चालन गर्न सामाजिक संस्था वा गैरसरकारी अस्पताललाई १० प्रतिशत रकम बाँडफाँट गरिन्छ । गत आर्थिक वर्ष नेपाल सरकारले कोषमा ४० करोड रुपैयाँ उपलब्ध गराएको थियोे । उक्त रकम नियमावलीले तोकेबमोजिम ७४ ओटा संस्थालाई उपलब्ध गराएको देखिन्छ ।
नेपाल सरकारले सुर्तीजन्य पदार्थको प्रयोगलाई कम गर्दै लैजान प्रत्येक वर्ष आर्थिक ऐनले विदेशबाट पैठारी हुने र स्वदेशी उत्पादनको चुरोट, बिँडी, सिगार, सुर्ती, खैनी, गुट्खा, पानमसलामा करको दर बढाउने गरेको छ । सुर्तीजन्य पदार्थमा कर लगाई महँगो बनाउँदैमा यसको प्रयोगमा कमी आएको छैन । कानूनले नै सुर्तीजन्य पदार्थको बजारमा उत्पादन तथा विक्रीवितरण गर्न पाउने व्यवस्था गरेको छ । मानिशहरूमा सुर्तीजन्य पदार्थको सेवन गर्ने बानी पछि बिस्तारै लत बन्दा स्वास्थ्यको जोखिम बढ्न जान्छ । अन्तत: यसको अधिक सेवनले मानिसको ज्यानसमेत जाने गर्छ । यस्तोमा करको रकमले रोगको उपचार गर्नुभन्दा रोगको बाटो छेक्नु बुद्धिमानी हुन्छ ।
लेखक अधिवक्ता हुन् ।