काठमाडौं । जानकी फाइनान्स कम्पनी लिमिटेडले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनी तेस्रो त्रैमाससम्ममा रू. १० करोड ८६ लाख नोक्सानी ब्यहोरेको छ । गत आवको यसै अवधिमा भने कम्पनीले रू.१ करोड ५३ लाख नाफा कमाएको थियो ।
चालू आवमा कम्पनीको इम्पेयरमेन्ट चार्ज बढेकाले नोक्सानीमा गएको हो । गत आवमा कम्पनीको इम्पेयरमेन्ट चार्ज रू. १० करोड २९ लाख रहेकोमा चालू आवमा बढेर रू. २३ करोड ९ लाख पुगेको छ । जसका कारण कम्पनीको सञ्चालन नाफा पनि रू. १० करोड ६६ लाख ऋणात्मक रहेको छ । त्यस्तै कम्पनीको निष्क्रिय कर्जा पनि बढेको छ । गत आवमा कम्पनीको निष्क्रिय कर्जा २३ दशमलव ६० प्रतिशत रहेकोमा चालू आवमा बढेर २८ दशमलव ९१ प्रतिशत पुगेको हो ।
कम्पनी नोक्सानीमा भएसँगै प्रतिशेयर आम्दानी २४ रुपैयाँ ७३ पैसा ऋणात्मक रहेको छ । त्यस्तै प्रतिशेयर नेटवर्थ रू.७६ दशमलव ९४ रहेको छ ।
चुक्ता पूँजी रू. ६९ करोड ४ लाख रहेको कम्पनीले तेस्रो त्रैमाससम्ममा जगेडामा रू. २९ करोड ८६ लाख सञ्चिती गरेको छ । रिटेन्ड अर्निङ भने रू. ४५ करोड ७७ लाख ऋणात्मक रहेको छ ।