भक्तपुर । तिहार नजिकिएसँगै भक्तपुरको ‘पोर्टरी स्क्वायर’मा माटोका भाँडा बनाउन कुमालेलाई भ्याइनभ्याई छ । तिहारको विद्युतीय झिलिमिली बत्तीको प्रयोग बढे पनि सांस्कृतिकरूपमा दियोको प्रयोग हुने पालाको माग बढ्ने गरेको छ ।
विगतका वर्षमा भन्दा यो वर्ष यस्ता सामाग्रीको माग झनै बढिरहेको व्यवसायीको भनाइ छ । काठमाडौं महानगर, मकवानपुरको थाहा नगरपालिका लगायतले प्लाष्टिकजन्य सजावटका सामग्रीमा प्रतिबन्ध लगाएपछि माटोको दियो, पालालगायत वस्तुको माग बढेको उनीहरूको भनाइ छ ।
कुमालेहरूका अनुसार उत्पादन भएका पाला भक्तपुरसँगै काठमाडौं, ललितपुर, काभ्रेपलाञ्चोकको बनेपा र पनौती, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, कास्कीको पोखरा, चितवनको नारायणगढ, पर्साको वीरगञ्जबाट समेत माग हुने गरेको छ ।
परम्परागतरूपमा बनाइने यस्ता माटोका भाँडा पर्यटकका लागि पनि आकर्षण बन्ने गरेका छन् । भक्तपुरमा माटोका भाँडा स्थानीय प्रजापति समुदायले बनाउँदै आएका छन् ।
तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान