काठमाडौं । ओरियण्टल होटल्स लिमिटेडले यस वर्ष ५ दशमलव २६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । असोज १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको आधारमा करसमेत ५ दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब १२ करोड ८० लाख ९० हजार छ । सोही पूँजीको आधारमा ५ करोड ९३ लाख ७३ हजार रुपैयाँ बराबरको नगद लाभांश तिवरण गर्ने प्रस्ताव कम्पनीले गरेको हो । सोही बैठकले असोज २५ गते बिहान ११ बजे २६औं वार्षिक साधारण सभा गर्ने निर्णय पनि गरेको छ । कम्पनीले ललितपुरकाे जाउलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा सभा गर्ने निर्णय गरेको हो ।
सो सभा प्रयोजनका लागि असोज १२ देखि २५ गतेसम्म बुक क्लोज गर्ने निर्णयसमेत कम्पनीले गरेको छ । बुक क्लोजको आधारमा अघिल्लो कारोबार दिनसम्म कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
अघिल्ला तीन आर्थिक वर्ष भने कम्पनीले लाभांश वितरण गरेको छैन । यसअघि आर्थिक वर्ष ०७५/७६ को मुनाफाबाट कम्पनीले ५ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि १० दशमलव ७९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।