सम्पत्ति शुद्धीकरण निवारण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धमा केन्द्रित भई कार्य गर्ने महत्त्वपूर्ण संयन्त्र नै वित्तीय जानकारी एकाइ हो । सूचक संस्थाबाट प्राप्त शंकास्पद कारोबारको विवरण, सूचना प्राप्त गर्ने, त्यसको विश्लेषण गर्ने र विश्लेषणबाट प्राप्त निष्कर्षलाई कानून कार्यान्वयन गर्ने निकाय समक्ष पठाउने काम गर्छ । यसले सम्पत्ति शुद्धीकरण, विभिन्न अपराधसँग सम्बद्ध कसूर तथा वित्तीय अपराधसम्बन्धी जानकारी विभिन्न प्रतिवेदनमार्फत सार्वजनिक गर्छ ।
यहाँ वित्तीय संस्था वा घरजग्गा खरीदविक्री, व्यवसायी, क्यासिनो वा इन्टरनेट क्यासिनो व्यवसायी, बहुमूल्य धातु वा वस्तुको कारोबार गर्ने व्यवसायी, लेखा व्यवसायी, नोटरी पब्लिक, लेखापरीक्षकजस्ता गैरवित्तीय पेशाकर्मी वा व्यवसायीलाई सूचक संस्थाका रूपमा मानेको छ । यस्ता संस्थाले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानीसम्बन्धी कसूर भएको शंका लागेमा वा शंका गर्नुपर्ने आधार भएमा ३ दिनभित्र एकाइलाई शंकास्पद कारोबारसम्बन्धी प्रतिवेदन पठाउनुपर्छ ।
वित्तीय जानकारी एकाइमा दिएको सूचना कुनै उजुरी नभई कसूर भएको वा कानून उल्लंघन भएको आशंकाको जानकारी मात्र हो । एकाइबाट सम्प्रेषण हुने कुनै पनि सूचना प्रमाण होइनन्, तर प्रमाण जुटाउने आधार हुन् ।
विश्वका सबैजसो निकायले वित्तीय अपराधको केन्द्रीकृत सूचनाको भण्डारका रूपमा स्थापना, सञ्चालन तथा व्यवस्थापन गर्ने गरी वित्तीय जानकारी एकाइको व्यवस्था गरिएको हुन्छ । आतंकवादमा वित्तीय लगानीको दमनसम्बन्धी महासन्धि १९९९, संगठित अपराधसम्बन्धी अभिसन्धि २००१ र भ्रष्टाचार विरुद्धको महासन्धि २००० ले सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानीको निगरानी एकाइको आवश्यकता रहेको कुरा औंल्याएको छ ।
यसै महासन्धिको आधारमा नेपालमा सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ जारी भई नेपालमा समन्वयकारी निकायका रूपमा २०६५ वैशाख ९ गते एकाइको स्थापना भएको हो । एकाइमा राष्ट्र बैंकको गभर्नरबाट नियुक्त गरिएको एक प्रमुख तथा आवश्यक कर्मचारीहरू रहने र तिनको योग्यता, सरुवा, संगठनको संरचना, दरबन्दी, पदमुक्त हुने अवस्था विनियमद्वारा व्यवस्था गरेबमोजिम हुन्छ ।
सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४, संगठित अपराध निवारण ऐन २०७०, भ्रष्टाचार निवारण ऐन २०५९ जस्ता कानूनले सम्पत्तिको स्रोत लुकाई, छली, बदली गैरकानूनी आर्जन गर्न नहुने, कुनै व्यक्ति वा संगठनले आतंककारी क्रियाकलाप गरी आर्जित सम्पत्ति वित्तीय लगानी गर्न नहुने, कुनै व्यक्ति वा संस्थाले संगठित अपराध गर्न, आपराधिक लाभ लिन, विध्वंसात्मक काम गर्न नहुने, भ्रष्टाचार तथा पदीय दुरुपयोग गरी सम्पत्ति आर्जन गर्न नहुने कुरामा जोड दिएका छन् । यस्ता कसूरजन्य कार्यका सम्बन्धमा सूचना संकलन गर्ने, विश्लेषण गर्ने र प्रवाहित गर्ने काम एकाइको हुने गरी कानूनी व्यवस्था गरेको छ ।
सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा ९ मा नेपाल राष्ट्र बैंकमा एक स्वतन्त्र र स्वायत्त रूपमा वित्तीय जानकारी एकाइ रहने व्यवस्था गरेको छ । सम्पत्ति शुद्धीकरण, आतंकवादी क्रियाकलापमा वित्तीय लगानी तथा सम्बद्ध कसूर (ऐनको दफा २ को खण्ड (श) सम्बद्ध अनुसूचीमा उल्लिखित कसूर) सम्बन्धमा शंकास्पद कारोबारसम्बन्धी प्रतिवेदन तथा त्यससम्बन्धी सूचना प्राप्त गर्ने, त्यसको विश्लेषण गर्ने र विश्लेषणको निष्कर्ष प्रवाह गर्ने काममा एकाइ स्वायत्त र स्वतन्त्र रहेको छ । एकाइले यस ऐनले निर्धारण गरिएको सीमा वा त्यो भन्दा बढीको कारोबारको विवरण प्राप्त गर्ने, शंकास्पद कारोबारसम्बन्धी प्रतिवेदन प्राप्त गर्ने र त्यसको विश्लेषण गर्ने, मुद्रा तथा विनिमेय अधिकारपत्र सम्बन्धी विवरण प्राप्त गर्ने कार्य गर्छ ।
शंकास्पद कारोबारसम्बन्धी प्रतिवेदनलगायत ऐनबमोजिमको अन्य प्रतिवेदन तथा जानकारी विश्लेषण गर्दा सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर वा अन्य कसूर सम्बन्धमा शंका लागेमा विश्लेषणको निष्कर्ष आफै वा सम्बद्ध निकायको अनुरोधमा विभाग वा अनुसन्धान तहकिकात गर्ने निकायमा प्रवाह गर्नुपर्छ । एकाइले शंकास्पद कारोबारको पहिचान, त्यससम्बन्धी प्रतिवेदन तथा जानकारी सूचक संस्था वा सम्बद्ध निकायलाई आवश्यक पृष्ठपोषण तथा मार्गदर्शन र प्र्रतिवेदनको प्रभावकारिता सम्बन्धमा सूचक संस्थाको निरीक्षण गर्न नियमनकारी निकायलाई सहयोग गर्नुपर्छ ।
सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कसूरको प्रकार, कसूर गर्ने प्रविधि, पद्धति तथा प्रवृत्तिसमेतको विवरण संलग्न गरी काम कारबाहीको वार्षिक प्रतिवेदन राष्ट्र बैंकसमक्ष पेश गर्नुपर्छ ।
साथै सूचक संस्था, सम्बद्ध निकाय, नियमनकारी निकाय तथा आफ्नो कर्मचारीलाई आवश्यक तालीमको व्यवस्था गर्ने काम, कर्तव्य पनि यस एकाइको हो । समान प्रकृतिको काम गर्ने विदेशी निकायसँग पारस्परिकताको आधारमा सहयोग आदानप्रदानसम्बन्धी समझदारी कायम गर्ने काम वित्तीय जानकारी एकाइको हो । एकाइले समान प्रकृतिको काम गर्ने कुनै मुलुकको निकायसँग आवश्यक सूचना वा सहयोेग माग गर्न र त्यस्तो निकायको अनुरोधमा सूचना दिन वा सहयोग प्रदान गर्न सक्छ । त्यसरी आफूलाई प्राप्त सहयोग वा सूचनाको प्रयोग गर्दा त्यस्तो निकायले तोकिदिएको शर्तहरूको पालना गर्नुपर्छ ।
कुनै व्यक्तिले राष्ट्र बैंकले तोकिदिएको सीमाभित्र रही कारोबार गर्न सक्छ । कुनै व्यक्तिले एकमुष्ट वा पटकपटक गरी राष्ट्र बैंकले तोकेको अवधिभित्र सीमाभन्दा बढी रकमको कारोबार गरेमा सूचक संस्था तथा सरकारी निकायले त्यस्तो कारोबार भएको मितिले १५ दिनभित्र वित्तीय जानकारी एकाइलाई कारोबारसम्बन्धी प्रतिवेदन दिनुपर्छ । त्यस्तो कारोबारसम्बन्धी प्रतिवेदन, शंकास्पद कारोबारसम्बन्धी प्रतिवेदन तथा सूचना, कागजात, विवरण सम्बन्धमा गोपनीयता कायम गर्नुपर्छ ।
एकाइमा कार्यरत कर्मचारीले आफ्नो कामको सिलसिलामा थाहा पाएको जानकारी आफू उक्त एकाइमा रहे वा नरहेको अवस्थामा समेत गोप्य राख्नुपर्छ । एकाइले सम्पत्ति शुद्धीकरण ऐनबमोजिम प्राप्त सूचना, कागजात, विवरणको प्रयोग, विश्लेषण, प्रवाह गर्ने, पहुँच प्राप्त गर्ने, सुरक्षित, गोपनीयता तथा व्यवस्थित गर्न आवश्यक कार्यविधि र सूचक संस्था तथा अन्य सम्बद्ध निकायले एकाइलाई दिनुपर्ने प्रतिवेदन, सूचना, जानकारी सम्बन्धमा आवश्यक निर्देशिका बनाई लागू गर्न सक्छ ।
समान प्रकृतिको काम गर्ने विदेशी निकायसँग पारस्परिकताको आधारमा सहयोग आदानप्रदानसम्बन्धी समझदारी कायम गर्ने काम वित्तीय जानकारी एकाइको हो । एकाइले समान प्रकृतिको काम गर्ने कुनै मुलुकको निकायसँग आवश्यक सूचना वा सहयोेग माग गर्न र त्यस्तो निकायको अनुरोधमा सूचना दिन वा सहयोग प्रदान गर्न सक्छ ।
सम्पत्ति शुद्धीकरण तथा आतंककारी र विनाशकारी हातहतियारमा वित्तीय लगानी नियन्त्रण गर्न सूचना तथा जानकारीको आदानप्रदान गर्ने र सरोकारवाला निकायबीच समन्वय गर्न वित्तीय जानकारी एकाइको भूमिका महत्त्वपूर्ण रहेको हुन्छ । सूचक संस्था, नियमकारी निकाय, अनुसन्धान तथा अभियोजन गर्ने निकाय र मन्त्रालयसँग आवश्यक समन्वय गरी एकाइले आफ्नो कार्यसम्पादन गर्दै आएको छ । एकाइले आफ्नो कामलाई आधुनिक प्रविधिसँग जोड्दै गोएएमएल सफ्टवेयर प्रणाली प्रयोगमा ल्याई सूचना तथा विवरण संकलन गर्दै आएको छ । अहिले सबै सूचक संस्था यो प्रविधिमा नजोडिएकाले कार्यान्वयनमा समस्या आउने देखिन्छ ।
आफ्नो कामका सम्बन्धमा वित्तीय जानकारी एकाइ स्वतन्त्र र स्वायत्त रहेको छ । एकाइले प्रत्यक्ष रूपमा कसैको नियमन तथा अनुसन्धान गर्दैन । एकाइले शंकास्पद कारोबारसम्बन्धी विवरण सृजना गर्दैन । त्यस्तो शंकास्पद कारोबार वा संलग्न व्यक्तिहरूसँग सम्पर्क पनि गर्दैन । यसले सूचक संस्थाहरूको सुपरिवेक्षण तथा वित्तीय अपराधको अनुसन्धान वा अभियोजनको काम गर्दैन ।
तर, एकाइमा प्राप्त हुने वित्तीय कारोबारसम्बन्धी विवरणको सूक्ष्म तरीकाले विश्लेषण गरी गोप्यताका साथ सम्बद्ध अनुसन्धानकारी वा नियमनकारी निकायमा पठाउने गर्छ । अनुसन्धानकारी निकायबाट सूचनाको आधारमा प्रमाण संकलन गर्ने र त्यसका आधारमा मात्र अपराधको अनुसन्धान र अभियोजन हुने गर्छ । सूचक संस्था, नियमनकारी तथा अनुसन्धानकारी निकायले सूचना गोप्य राख्न सकेन भने अनधिकृत व्यक्तिको पहुँच पुग्न गई अनुसन्धानमा समस्या आउँछ ।
वित्तीय जानकारी एकाइमा दिएको सूचना कुनै उजुरी नभई कसूर भएको वा कानून उल्लंघन भएको आशंकाको जानकारी मात्र हो । एकाइबाट सम्प्रेषण हुने कुनै पनि सूचना प्रमाण होइनन्, तर प्रमाण जुटाउने आधार मात्र हुन् । यस्ता सूचनालाई गोप्य राख्नुपर्ने अन्तरराष्ट्रिय मान्यता तथा प्रचलित कानूनमा समेत व्यवस्था गरेको छ । एकाइलाई सूचना दिएको आधारमा सजाय हुँदैन । एकाइमा रहेको सूचना सम्प्रेषणले देशमा वित्तीय अपराध र आतंकवादी क्रियाकलाप निवारण हुने र देशमा सुशासन कायम हुने हुँदा सूचक संस्थाले एकाइलाई सूचना तथा जानकारी उपलब्ध गराउन पछि पर्नु हुँदैन ।
(लेखक अधिवक्ता हुन् ।)