त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्ग विस्तारका लागि दैनिक १० घण्टा विमानस्थल बन्द गर्दा त्यसको फाइदा गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थललाई भएको छ । उद्घाटन भएको लामो समयसम्म अन्तरराष्ट्रिय उडान नपाएको यस विमानस्थलबाट अहिले पाँचओटा वायुसेवा कम्पनीले उडान गरिरहेका छन् । यो निकै सकारात्मक छ । तर, भैरहवामा यी वायुसेवा कम्पनीहरू स्वत: आएका होइनन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले एक प्रकारको दबाब नै दिएकाले उनीहरू त्यहाँबाट सेवा दिन तयार भएका हुन् । अझै सबै एयरलाइन्स त्यहाँ गएका छैनन् । त्यसो त सरकारले भैरहवा विमानस्थलबाट उडान गर्ने कम्पनीहरूलाई केही छूट र सुविधा पनि दिएको छ । त्यसो गर्दा उनीहरूको लागत घट्ने आकलन सरकारले गरेको छ । भैरहवाबाट अन्तरराष्ट्रिय उडान हुन थालेपछि त्यहाँका स्थानीय व्यवसायीहरूमा एकप्रकारले उत्साह छाएको छ, साथसाथै उडानको निरन्तरतामा आशंका पनि छ । अहिले भैरहवा गएका वायुसेवा कम्पनीमध्ये थाइल्यान्डको एयर एशियाबाहेक अन्यको उडान नेपालबाट पश्चिमतर्फको रहेको छ । भैरहवाबाट पश्चिम भएर विमान बाहिरिन पाए पनि भित्रिन भने सिमराको आकाश नै प्रयोग गर्नुपर्छ र फर्केर फेरि पश्चिमतिर लाग्नुपर्छ । त्यसैले अहिले जेजति उडान भइरहेका छन् तिनको निरन्तरता होला भन्न सकिँदैन ।
तर, भारतले पश्चिमको कुनै एक विन्दुबाट प्रवेश मार्ग दिएमा भने भैरहवाबाट निरन्तर अन्तरराष्ट्रिय उडान हुने देखिन्छ । त्यतिमात्र होइन, जाडो महीनामा भैरहवामा विमान अवतरण र उडान पनि कठिन भइरहेको छ किनभने त्यहाँ बाक्लो तुँवालो लाग्ने गरेको छ । बिहीवार नै विमान आकाशमा होल्ड गर्नु परेको थियो । यो समस्या समाधानका लागि इन्स्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम जडान गर्नुपर्ने हुन्छ । तर, भारतले यसका लागि अनुमति नदिँदा प्रक्रिया नै अगाडि बढेको छैन । यसको विकल्पमा आरएनपी सिस्टम जडान गर्ने तयारी भइरहेको सरकारी अधिकारीहरूले बताएका छन् । त्यसैले भैरहवा विमानस्थल अन्तरराष्ट्रिय उडानको निरन्तरताका लागि चुनौती नै रहेको छ । सरकारले कूटनीतिक पहलबाट यो समस्या समाधान गर्न पहल गरे पनि समाधान हुन सकेको छैन । भारतले विभिन्न बहाना गरिरहेको छ । त्यसैले यसका लागि उच्चस्तरीय पहल आवश्यक हुन्छ तर राजनीतिक दलमा उच्च प्रतिबद्धताको अभावले त्यसो हुन सकिरहेको छैन । भारतले स्वीकृति नदिएर आउने समस्याको समाधान नेपालसँग छैन ।
तर, नेपाल आफैले गर्नुपर्ने काम पनि गरिरहेको छैन । भैरहवा विमानस्थलबाट अन्तरराष्ट्रिय उडान नियमित गराउने हो पहिलो काम वैदेशिक रोजगारीमा जानेहरूका लागि सबै काम भैरहवाबाटै गर्न सक्ने व्यवस्था गरिनुपर्छ । म्यानपावर कम्पनीदेखि भिसा आवदेनसम्म, स्वास्थ्यपरीक्षणदेखि अन्य सरकारी कागजातका लागि काठमाडौं आउनुपर्ने अवस्था रहेसम्म भैरहवा विमानस्थलबाट यात्रु पाउन कठिन देखिन्छ किनभने भैरहवामा ओर्लने र चढ्ने सबै यात्रु वैदेशिक रोजगारीमा गएकाहरू नै छन् । यी सबै सेवा त्यहाँ पुगेमा स्थानीय अर्थतन्त्रमा पनि मद्दत पुग्नेछ । अर्को, भैरहवामा तेस्रो मुलुकबाट अत्यधिक पर्यटक सीधै आउने वातावरण बनाउन सकियो भने यहाँको विमानस्थल सञ्चालनमा आउँछ । खासगरी बुद्ध धर्ममा आस्था राख्ने जनसंख्या भएका मुलुकबाट त्यहाँ बौद्धमार्गीलाई आकर्षित गर्न सकिने देखेर पनि यो विमानस्थल निर्माण भएको हो । त्यसैले उक्त क्षेत्रमा बुद्ध जन्मस्थल मात्र होइन, अन्य पर्यटकीय वस्तु तथा सेवा र पर्यटकीय पूर्वाधारमा लगानी गरेर विदेशी पर्यटक ठूलो परिमाणमा भित्त्याउने नीति लिइनुपर्छ । विमानस्थल बनाउनुको कारण लुम्बिनीमा बौद्ध धर्मावलम्बीहरू ठूलो संख्यामा आउन सक्छन् भन्ने अनुमान भए पनि त्यसअनुसार पर्यटन प्याकेज नै बन्न सकेको छैन । बौद्ध पर्यटकहरूलाई केही दिन रोक्न सक्ने गरी लुम्बिनीमा कार्यक्रम गर्न सके यहाँको विमानस्थल राम्ररी सञ्चालन हुन सक्छ । सरकारले विभिन्न सुविधा दिने भनेर निर्णय गरे पनि ती सुविधा भैरहवाबाट अझै दिन थालिएको छैन । सरकारले ती सुविधा तत्काल शुरू गर्ने सम्भावना पनि कमै देखिएको छ । त्यसैले यहाँबाट अन्तरराष्ट्रिय उडानको निरन्तरताका लागि सरकारले दिन्छु भनेका सुविधाहरूको कार्यान्वयनमा निर्भर देखिन्छ ।