मङ्सिर २०, काठमाडौं । उद्योगमन्त्री नवीन्द्रराज जोशीले देशभित्र रोजगारीका थप अवसर सृजना गर्नका लागि सरकारसँग सहकार्य गर्न निजीक्षेत्रलाई आह्वान गरेका छन् । उद्यमशीलता विकास कार्यक्रममा सरकारलाई सघाइरहेका राष्ट्रिय तथा अन्तरराष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधिसँग मन्त्रालयमा भएको छलफलमा उनले त्यस्तो आह्वान गरेका हुन् । छलफल उद्यमशीलता विकासबाट रोजगारी सृजना विषयमा केन्द्रित थियो । मन्त्री जोशीले भने, ‘१ हप्ताभित्र तपाईंहरूले गरेका काम र काम गर्दा भोगेका समस्याको जानकारी सरकारलाई दिनुहोस् । म तपार्इंहरूलाई फेरि बोलाउँछु ।’
मन्त्रीले युवालाई म मेरो देशमा बसेर कमाउन सक्छु भन्ने प्रत्याभूति दिन प्रभावकारी योजना चाहिएको र त्यसका लागि सबै पक्ष मिलेर काम गर्नुपर्नेमा पनि जोड दिए । उनले स्थानीय स्तरमा गैरसरकारी संस्थाको गलत छाप परेकाले पनि सङ्घसंस्थाले सरकारसँग सहकार्य गर्नुपर्ने उनकोे भनाइ थियो । उनले भने, ‘आउनुहोस् मिलेर भविष्यको योजना बनाऊँ ।’ मन्त्रीले अहिलेसम्म उद्योग मन्त्रालयले सही नेतृत्व लिन नसकेकाले अब मिलेर सहकार्य गर्नुपर्ने बेला आएको पनि बताए ।
कार्यक्रममा उद्योग राज्यमन्त्री कञ्चनचन्द्र बादे श्रेष्ठले ५ लाख युवाले श्रमबजारमा अत्यन्त जोखीम बेहोरेर काम गरिरहेकाले तिनीहरूलाई स्वदेशमै व्यवस्थित गर्नुपर्ने चुनौती सरकारसामु रहेको बताए । उद्योग मन्त्रालयका सचिव शङ्करप्रसाद कोइरालाले सञ्चालित कार्यक्रमहरूलाई अझ बढी प्रभावकारी बनाउन छलफलको आयोजना गरिएको बताए । कार्यक्रममा सहभागी गैससका प्रतिनिधिले हालसम्म गरिएका प्रयासले श्रमबजारको आवश्यकतालाई सम्बोधन गर्न नसकेकाले बजार आवश्यकता अध्ययन गरी त्यसअनुकूलका नीति तथा कार्यक्रम बन्नुपर्ने बताएका थिए ।
कार्यक्रममा मन्त्रालयका सहसचिव यामकुमारी खतिवडा र घरेलु तथा साना उद्योग कार्यालयका निर्देशक नारायणप्रसाद बिडारीले रोजगारीका लागि घरेलु उद्यम उपयुक्त रहने आशयसहितका कार्यपत्र प्रस्तुत गरेका थिए ।