अहिले उखुको मूल्य निर्धारणको विषय विवादमा परेको छ । विवाद समाधान गर्न उद्योगी र किसानबीच दुईपटक वार्ता भयो । तर, हाम्रो माग सम्बोधन गर्न उद्योगीहरू सहमत भएनन् । त्यसो हुँदा अहिलेसम्म उखुको मूल्य निर्धारण हुन सकेको छैन । यो विवाद समाधान नहुँदा खेतमै उखु सुकेर जान्छ । यो विवाद गएको वर्ष पनि उत्पन्न भएको थियो । अन्तत: उखुको मूल्य प्रतिक्विण्टल रू. ४ सय ११ निर्धारण भएको थियो । अहिले हामीले रू. ५ सय २५ प्रतिक्विण्टल मूल्य निर्धारण हुनुपर्ने माग राखेका छौं ।
किसानले मूल्य निर्धारणको ठोस आधार दिन नसकेकाले मूल्य निर्धारण नभएको आरोप उद्योगीबाट सार्वजनिक भएको छ । बजारमा चलेको दररेटलाई नै आधार बनाई हामीले मूल्य निर्धारणको माग गरेका हौं । यसैले उद्योगीहरूको यो आरोपमा कुनै सत्यता छैन । नवलपरासीस्थित इन्दिरा सुगर मिलले भ्याटसहित ७३ रुपैयाँ प्रतिकेजीमा चिनी विक्री गरेको छ । यसबाट अहिले भ्याटबाहेक ६५ रुपैयाँ प्रतिकेजीका दरले चिनी विक्री भइरहेको कुरा स्वत: सिद्ध हुन्छ ।
(उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीसँगको कुराकानीबाट) वर्ष ८, अंक ७१, बुधवार १३ मङ्सिर, २०६९