चैत २२, काठमाडौं । विद्युतभार कटौती मुक्त गर्नका लागि नेपाल विद्युत् प्राधिकरणले वार्षिक करीब १५ अर्ब रुपैयाँ बराबरको विद्युत् भारतबाट आयात हुने बताएको छ ।
हालसम्म प्राधिकरणले रू. नौ अर्ब छ करोड ८४ लाख बराबरको विद्युत् आयात गरेकामा बाँकी रहेको तीन महीनामा थप रू. छ अर्ब बराबरको विद्युत् आयात हुने प्रक्षेपण गरिएको हो । प्रक्षेपण गरिएकोभन्दा कम पनि हुनसक्ने प्राधिकरणको बुझाइ छ ।
प्राधिकरणमा मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गत वर्ष करीब रू. १४ अर्ब बराबरको विद्युत् आयात भएको बताए । उनका अनुसार गत वर्ष रू. १३ अर्ब ९७ करोड २१ लाख ९४ हजार ५ सय २२ मूल्यको विद्युत् आयात गरिएको थियो । चालू आवको अन्त्यसम्म हिसाब गर्ने हो भने करीब रू. एक अर्ब बढीको मात्रै विद्युत् थप आयात हुनेछ ।
विद्युत् निर्यात गर्ने अवस्था आउँछ
ऊर्जा संकटलाई समाधान गर्न मात्रै तत्कालका लागि विद्युत् आयात गरिएको र केही आयोजना सम्पन्न भएपछि प्राधिकरण आफैँले विद्युत् निर्यात गर्नुपर्ने अवस्था आउने प्राधिकरणको भनाइ छ । प्रतिशतको हिसावमा गत वर्षभन्दा १ दशमलव ४४ प्रतिशत मात्रै बढी विद्युत् आयात हुने देखिएको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले जानकारी दिए ।
यो वर्ष प्राधिकरणले एक अर्ब ९७ अर्ब २० करोड युनिट बिजुली भारतबाट आयात गरेको र गत वर्ष एक अर्ब ७३ करोड नौ लाख युनिट बिजुली आयात भएको थियो । चैतमा वर्षात् भइरहेकाले पनि आन्तरिक बिजुली उत्पादन बढेको र आधा दर्जन आयोजना सम्पन्न भई १ सय ५ मेगावाट बिजुली उत्पादन थप भएको उनको भनाइ छ । अझै प्रणालीमा ४५ मेगावाट थप हुने तयारीमा रहेको कार्यकारी निर्देशक घिसिङको भनाइ छ ।
हाल विद्युत् प्राधिकरणले साँझ ९ सय २० मेगावाटसम्म बिजुली आपूर्ति गरिरहेको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी आयोजना सम्पन्न भएपछि वर्षात्मा बिजुली बढी हुने जानकारी दिँदै उनले त्यसलाई खपत कसरी बढाउने विषयमा छलफल भइरहेको उल्लेख गरे ।
४४ अर्व आम्दानी
गत वर्ष रू. ३२ अर्ब कुल आम्दानी गरेको प्राधिकरणले यस वर्ष त्यो भन्दा रू. १२ अर्ब बढी आम्दानी गर्नेछ । गत वर्ष पाँच हजार गिगावाट आवर विद्युत् उपलब्ध भएकामा यस वर्ष छ हजार गिगावाट आवर विद्युत् उत्पादन हुनेछ ।
चुहावट चार प्रतिशतले घट्यो
प्राधिकरणले देशव्यापी अभियानका रुपमा बढाएको विद्युत् चुहावट तथा चोरी नियन्त्रण अभियानले हालसम्म करीब चार प्रतिशतले चुहावट र चोरीमा कमी आएको बताएको छ । त्यसबाट प्राधिकरणलाई रू. एक अर्ब २० करोड बराबरको आम्दानी भएको छ ।
चालू आवको अन्त्यसम्म करीब पाँच प्रतिशत विद्युत् चुहावट कम हुनेगरी कार्य अगाडि बढाइएको कार्यकारी निर्देशक घिसिङले जानकारी दिए ।
हुँदै नभएको महसुलको गलत प्रचार
कार्यकारी निर्देशक घिसिङले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले हुँदै नभएको महसुल प्राधिकरणले तिरेन भनेर गराइएको प्रचार पूर्णत गलत भएको बताए । विभिन्न आयोजनाले घर भाडामा लिँदा बाँकी रहेको केही रकम प्राधिकरणले तिनुपर्ने हुनसक्ने तर प्रचार गरिएजस्तो रू. ५० करोड बक्यौता रहेको भन्ने प्रचार असत्य रहेको बताएका छन् ।
प्राधिकरणले लिमिटेडलाई रू. ४४ लाख मात्रै महशुल तिर्न बाँकी रहेको र त्यो पनि विभिन्न आयोजनाका नाममा रहेको महशुल मात्रै रहेको बताएका छन् । प्राधिकरणले लिमिटेडलाई के कति महशुल तिर्नुपर्ने हो सो को जानकारी दिन र आधिकारिक पत्राचार गर्न आग्रह गरेको समेत उनको भनाइ छ । रासस