मङ्सिर २४, काठमाडौं । वैदेशिक रोजगारीमा जाने कामदारले गरेको बीमाबाट वार्षिक १ अर्ब रुपैयाँभन्दा बढी बीमाशुल्क सङ्कलन हुने गरेको छ । आर्थिक वर्ष २०६८/६९ मा वैदेशिक रोजगारीमा गएका ५ लाख ३१ हजार ७ सय कामदारबाट १ अर्ब २९ लाख रुपैयाँ बीमाशुल्क सङ्कलन भएको बीमा समितिले बताएको छ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने सम्पूर्ण कामदारले अनिवार्य बीमा गर्नुपर्ने व्यवस्था लागू गरेपछि बीमा गर्नेको सङ्ख्या बढेको हो ।
सरकारले गतवर्ष संस्थागत, व्यक्तिगत र पुनःरोजगारीमा जाने सबै कामदारले अनिवार्य बीमा गर्नुपर्ने व्यवस्था लागू गरेको थियो । त्यसअघि एकपटक गएर फर्केका कामदार पुनः सोही कम्पनीमा जान चाहेमा बीमा गर्नु पर्दैनथ्यो । गत आवमा मात्र पुनः रोजगारीमा जाने १ लाख ४६ हजारभन्दा बढी कामदारले बीमा गरेका छन् ।
त्यस्तै, संस्थागत र व्यक्तिगत गरी ३ लाख ८४ हजार कामदार वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगार बीमाले नेपालको बीमा उद्योगलाई उकास्नसमेत महत्वपूर्ण भूमिका निर्वाह गरेको बीमा समितिका कार्यकारी निर्देशक विनोद अर्यालले बताए । ‘नेपालमा जीवन र निर्जीवन बीमा गरी वार्षिक रू. १९ अर्बजति बीमाशुल्क उठ्छ,’ उनले भने, ‘वैदेशिक रोजगारबाट उठेको बीमाशुल्कले कुल बीमाशुल्कको ५/६ प्रतिशत अंश ओगट्छ ।’
वैदेशिक रोजगारीमा जाने अधिकांश कामदारले २ वर्षे बीमा गराएर जाने गरेका छन् । तर, मलेशियाको रोजगारीमा जाने कामदारले भने ३ वर्षको बीमा गराउने गरेको विभागले बताएको छ । ‘प्रायः देशबाट नेपाली कामदारको भिसा आउँदा २ वर्षको समयावधि तोकिएको हुन्छ,’ विभागका एक उच्च अधिकारीले भने, ‘तर, मलेशियाको भिसा तथा करारनामामा भने ३ वर्ष निर्धारण गरिएको हुन्छ ।’ कामदारले २ वर्षे बीमाबापत ३५ वर्षभन्दा कम उमेरकाले रू. १ हजार ८ सय २५ बीमाशुल्क तिर्ने गरेका छन् ।
त्यसभन्दा बढी उमेर भएकाले केही बढी शुल्क तिर्नुपर्छ । त्यस्तै ३ वर्षे बीमाबापत २ हजार ४ सय ३० रुपैयाँ बीमाशुल्क लिने गरिएको समितिले बताएको छ । गत आवमा झण्डै १ लाख कामदार ३ वर्षे बीमा गराएर मलेशियाको रोजगारीमा गएका छन् । उनीहरूबाट मात्रै २३ करोड रुपैयाँभन्दा बढी बीमाशुल्क उठ्ने समितिले बताएको छ ।
समितिका अनुसार वैदेशिक रोजगार बीमाले नेपालको जीवन बीमा पोलिसीमा पनि ठूलो अंश ओगटेको छ । गत आवमा नेपालका बीमा कम्पनीले जारी गरेका कुल जीवन बीमा पोलेसीको झण्डै ६० प्रतिशत अंश वैदेशिक रोजगारले ओगटेको समितिको तथ्याङ्क छ । ‘गत आवमा नेपालका बीमा कम्पनीले ८ लाख ९४ हजार जीवन बीमा पोलिसी जारी गरेका थिए,’ समितिका एक उच्च अधिकारीले भने, ‘त्यसमध्ये ५ लाख ३१ हजारभन्दा बढी पोलिसी वैदेशिक रोजगारीमा जाने कामदारको रहेको छ ।’
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2024 New Business Age Ltd. All rights reserved.