काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आजबाट वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गरेको छ ।
कम्पनीले सर्वसाधारणका लागि विक्री गरिने कुल कित्ता आईपीओमध्ये पहिलो चरणमा १० प्रतिशत आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि विक्री खुला गरेको हो ।
कम्पनीले आफ्नो जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गर्न अनुमति पाएको छ ।
जसमध्ये १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता आईपीओ श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिएको हो ।
उक्त आईपीओ खरीदका लागि वैदेशिक रोजगारीमा रहेका नेपालीले पुस ३ गतेसम्म आवेदन दिन सक्नेछन् । आवेदन दिँदा घटीमा १० कित्तादेखि बढीमा १ लाख कित्तासम्म माग गर्नुपर्नेछ ।
कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड छ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर अनलाइनमार्फत आवेदन दिन सक्ने व्यवस्था छ ।