नेपालमा शिक्षा अव्यावहारिक भयो, सैद्धान्तिक भयो, प्रयोगात्मक भएन भनेर बारम्बार चर्चा भइरहे पनि सरकारले शिक्षालाई शीपसँग जोड्ने ठोस कार्यक्रम ल्याउन सकेको छैन । ल्याएका कार्यक्रमको प्रभावकारिता पनि देखिन्न । भारतले ल्याएको अटल टिंकरिङ ल्याब नेपालका लागि एउटा बलियो पाठ हुन सक्छ । भारतको संघीय बजेट २०२५ प्रस्तुत गर्दै अर्थमन्त्री निर्मला सीतारमणले भारतका सरकारी विद्यालयहरूमा आगामी ५ वर्षभित्र ५० हजार अटल टिंकरिङ ल्याब खोल्ने बताएकी छन् । भारतले विश्वव्यापी पहुँच स्थापना गर्नका लागि सन् २०१४ देखि यस्तो ल्याब सञ्चालनमा ल्याएको हो । नप्रवर्तनात्मक काम गर्नका लागि यो ल्याब एउटा कार्यक्षेत्र हो । विद्यालय तथा विश्वविद्यालयहरूमा अध्ययनरत विद्यार्थीमा नवप्रवर्तनात्मक सोच विकास गर्न र उद्यमशीलता विकास गर्न यो ल्याब सञ्चालनमा ल्याइएको हो । अटल टिंकरिङ ल्याबको उद्देश्य भारतीय विद्यार्थीहरूमा प्राविधिक नवप्रवर्तन, विज्ञान, गणित र इन्जिनीयरिङका प्रति चासो र रुचि बढाउनु हो । यो एक यस्तो प्लेटफर्म हो, जहाँ विद्यार्थीहरूलाई स्वतन्त्र रूपमा प्रयोग, आविष्कार र नयाँ विचारहरूको निर्माण गर्ने अवसर प्राप्त हुन्छ । अटल टिंकरिङ ल्याबको मुख्य उद्देश्य युवाहरूमा सृजनात्मकता र समस्या समाधान गर्ने क्षमता विकास गर्नु हो, ताकि उनीहरूले भविष्यमा आफै समस्याहरूको समाधान गर्न सकून् र देशलाई प्राविधिक दृष्टिकोणमा नयाँ दिशा दिन सकून् । अहिले भारतमा १० हजार टिंकरिङ ल्याबहरू स्थापना भइसकेका छन् । त्यस्तै ३५ ओटा प्रदेश र संघीय क्षेत्र गरी ७७ ओटा जिल्लामा यो अहिले फैलिएको छ । यसमा ६ हजारभन्दा बढी मेन्टरहरू छन् भने १ करोडभन्दा बढी विद्यार्थी यसमा सक्रिय छन् । यसमा विभिन्न क्षेत्रका १६ लाखभन्दा बढी परियोजनाहरूमा अनुसन्धान भइरहेको छ ।
अटल टिंकरिङ ल्याबको प्रमुख उद्देश्य भनेको विद्यार्थीहरूमा नवप्रवर्तन र उद्यमशीलता प्रवर्द्धन गर्नु हो । यो पहल भारतको आत्मनिर्भर भारत अभियानसँग पनि सम्बद्ध छ, जसले युवाहरूलाई नयाँ प्राविधिक शीप सिकाउन र तिनीहरूलाई भविष्यमा व्यावसायिक जीवनका लागि तयारी गराउन प्रोत्साहित गर्छ । विद्यार्थीहरूलाई त्यस्ता शीपहरू दिनु नै यसको मुख्य उद्देश्य हो ।
अटल टिंकरिङ ल्याबले विद्यार्थीहरूलाई मेकिङ, कोडिङ, रोबोटिक्स, इन्टरनेट अफ थिङ्स र अन्य विज्ञान र प्राविधिक क्षेत्रमा काम गर्ने अवसर दिन्छ । यसले विद्यार्थीहरूलाई सृजनात्मक परियोजनाहरूमा काम गर्ने र नयाँ प्रयोग गर्ने वातावरण उपलब्ध गराउँछ । यहाँ विद्यार्थीहरूलाई प्रयोगशाला सामग्री, उपकरणहरू र नयाँ विचारहरूको आधारमा प्रोटोटाइप तयार गर्ने अवसर मिल्छ, जसले तिनीहरूको समस्या समाधान गर्ने क्षमता र रचनात्मक सोचमा सुधार ल्याउँछ । नेपालमा सरकारले यस्तो कुनै कार्यक्रम ल्याएको छैन । विद्यालय तहमा विज्ञानजस्तो विषयको पनि सैद्धान्तिक पढाइ हुन्छ र लिखित जाँच मात्रै हुन्छ । प्रयोगात्मक कुरा सिकाइँदैन । नेपालका अत्यधिक विद्यालयमा विद्यार्थीहरूले ल्याब भनेको के हो भन्नेसमेत थाहा नपाएको अवस्था छ । निजी ठूला विद्यालयहरूले समेत गतिलो प्रयोगशाला बनाएको पाइन्न । फाट्टफुट्ट केही प्रयोग देखाउने गरिएको छ तर विद्यार्थीले आफ्नो हातले कुनै प्रयोगात्मक कार्य गर्न पाउँदैनन्, टाढैबाट हेर्नेमात्र हो । त्यही भएर नेपालका विद्यार्थीमा सिकाइमा तत्परता छैन । जसरी हुन्छ पास हुन पाए हुन्छ भन्ने सोच व्याप्त छ । यस्तो जनशक्ति देशको विकासमा कसरी उपयोगमा आउला ?
नेपालमा सरकारलाई कसरी धेरै विद्यार्थी पास गराउने भन्ने चिन्ता छ । अत्यधिक निजी विद्यालयहरू एसईईमा धेरै विद्यार्थी उच्च ग्रेडसहित पास गराएको भनी प्रचारबाजीमा रमाउँछन् । अझ अर्को विडम्बना के छ भने अहिले सामाजिक सञ्जालका कारण धेरै विद्यालयले नाचगानलाई उच्च प्राथमिकता दिने गरेका छन् । अभिभावक दिवस मनाउने भन्दै विद्यार्थीलाई नाच्न र गाउन निकै तालिम दिइन्छ, प्रोत्साहित गरिन्छ । अभिभावक पनि यसैमा दंग छन् । कसैले भने विद्यालयमा गएर प्रयोगशाला कस्तो छ, विद्यार्थीलाई नवीन सोचका लागि कत्तिको प्रोत्साहित गरिन्छ भनेर कसैले पनि चासो लिने गरेको पाइँदैन । नृत्य शिक्षकको व्यवस्था गर्ने विद्यालयले नवीन सोचका लागि कुनै मेन्टरको व्यवस्था गरेको पाइँदैन । एसईईको परिणाम राम्रो देखाउन बिहान ६ बजेदेखि बेलुकी ७ बजेसम्म विद्यालयमै राखेर पाठ घोकाउने गरिन्छ । यसैमा अभिभावक पनि खुशी देखिएका छन् । सरकारी विद्यालयले पनि यही सिको गरेका छन् । भएकै ल्याबको पनि पर्याप्त प्रयोग हुँदैन । कक्षा ११ र १२ मा विज्ञानका विद्यार्थीले भने निश्चित पाठको प्रयोगात्मक अभ्यास गरेकै हुनुपर्ने व्यवस्था छ । त्यस्तै व्यवस्था कक्षा ८, ९ र १० मा पनि गर्नुपर्ने हो ।
भारतको अटल टिंकरिङ ल्याबहरू मुख्यत: कक्षा ६ देखि १२ सम्मका विद्यार्थीहरूका लागि लक्षित गरिएका छन् । यी ल्याब स्कूलहरूमा स्थापना गरिन्छ र विद्यार्थीहरूलाई नयाँ प्राविधिक उपकरणहरू जस्तै ३डी प्रिन्टर्स, रोबोटिक किट्स, इलेक्ट्रोनिक सर्किट सामग्री र अन्य प्राविधिक उपकरणहरूको प्रयोग गर्ने अवसर मिल्छ । विद्यार्थीहरूले यी उपकरण प्रयोग गरेर आफ्नो विचारलाई वास्तविकतामा परिणत गर्न सक्छन् । ल्याबमा विशेषज्ञ प्रशिक्षक र प्राविधिक मार्गदर्शकहरू पनि हुन्छन्, जसले विद्यार्थीहरूलाई विभिन्न प्राविधिक र वैज्ञानिक समस्याहरूको समाधान खोज्नमा मद्दत गर्छन् । यहाँ विद्यार्थीहरूले समूहमा काम गर्दै उनीहरूको सामूहिक सोच र टीमवर्कलाई पनि बलियो बनाउँछन्, जसले भविष्यमा उनीहरूको नेतृत्व क्षमता र सामाजिक जिम्मेवारीमा सुधार ल्याउँछ । यसले विद्यार्थीहरूमा नवप्रवर्तन र सृजनात्मकता बढाउन मद्दत गर्छ । यहाँ विद्यार्थीहरूलाई नयाँ विचारहरू तयार गर्ने र तिनीहरूलाई प्रोटोटाइपमा परिणत गर्ने अवसर मिल्छ । ल्याबको माध्यमबाट विद्यार्थीहरूले नयाँनयाँ प्राविधिक उपकरणहरूको प्रयोग गरेर आफ्ना शीपहरूमा सुधार गर्न सक्छन् । अटल टिंकरिङ ल्याबमा विद्यार्थीहरूले विभिन्न प्रोजेक्ट्स र समस्यामा काम गर्ने अवसर पाउँछन्, जसले उनीहरूको समस्या समाधान गर्ने क्षमता बढाउँछ । यस्तै यसले उनीहरूमा टीमवर्क र नेतृत्व क्षमता विकास गर्छ, जुन भविष्यका लागि अत्यन्त महत्त्वपूर्ण हुन्छ ।
नेपालमा सरकारले यस्तोखालको कार्यक्रम ल्याउन आवश्यक छ । युवा विद्यार्थीमा रहेको सृजनात्मक क्षमताको उपयोग गर्न सक्ने गरी यस्तै कुनै एक कार्यक्रम नेपालभर सञ्चालन गर्न आवश्यक छ । शुरूमा केही विद्यालयमा नमूनाका रूपमा सञ्चालन गर्ने र बिस्तारै त्यसलाई देशभर लागू गर्ने व्यवस्था मिलाउनुपर्छ । काठमाडौं महानगरपालिकाले अहिले किताबरहित शुक्रवार कार्यक्रम ल्याएको छ । यो निकै सृजनात्मक सोचको कार्यक्रम हो तर त्यसका लागि पर्याप्त आधार नबनाइएकाले अपेक्षित परिणाम दिन भने सकेको छैन । यस्तै ल्याब बनाएर शुक्रबार त्यसमा विद्यार्थीलाई काममा लगाउने हो भने त्यसले प्रविधिका क्षेत्रमा विद्यार्थीलाई पक्कै पनि आकर्षित गर्नेछ । त्यसैले यो कार्यक्रमलाई सुधार गरेर मुलुकभर लागू गर्न आवश्यक छ ।
अहिले यदाकदा केही विद्यार्थीले स्वरुचिले प्लेन, हेलिकोप्टर, विद्युतीय गाडी, रोबोट आदि बनाएका छन् तर त्यसमा विद्यालयबाट कुनै सहयोग भएको छैन । सरकारले त्यस्ता विद्यार्थीलाई काम गर्न प्रयोगशाला र सहयोग गर्न मेन्टरको व्यवस्था गर्ने हो भने पक्कै पनि उपयोगी वस्तु बनाउन वा समाजमा विद्यमान समस्या समाधान गर्न कुनै उपाय पत्ता लगाउन सक्छन् ∕ यस्तै सोचका केही कार्यक्रम निजीक्षेत्रले ल्याएको छ जुन विद्यालयसँग सहकार्य गरेर सञ्चालन गर्न थालिएको छ । त्यसमा कारखाना, रोबोटिक्सजस्ता केही संस्थाले विद्यार्थीसँग बेग्लै शुल्क लिएर विद्यार्थीलाई केही मात्रामा प्रयोगात्मक कुरा सिकाउन खोजेको पाइन्छ । यो पूर्णतया व्यावसायिक हो र यसले नवप्रवर्तन गराउने नभई केही निर्देशित कामहरू गर्न मात्र सिकाउँछन् । त्यसैले सरकारले नेपालमा पनि भारतको अटल टिंकरिङ ल्याबजस्तै कार्यक्रम ल्याउन आवश्यक छ । यस्तो कार्यक्रम भारतमा मात्र होइन, जापानमा पनि छ । जापानमा कुनै विद्यार्थीले केही नयाँ कुरा पत्ता लगायो भने त्यसलाई पेटेन्ट दिइहाल्ने गरिन्छ । भोलि त्यसको प्रोटोटाइप बनाएर उसले पेटेन्ट विक्री गर्न सक्छ । यसलाई कसैले प्रयोग गरेमा उसले रोयल्टी पाउँछ । चीनमा पनि विद्यालयका साना नानीहरूलाई नै ल्याबमा धेरै काम सिकाइन्छ । त्यसैले गर्दा प्रविधिका क्षेत्रमा चीन अगाडि बढ्न सकेको हो । अब नेपालले पनि यस्तै खालको कार्यक्रम ल्याउन ढिला गर्नु हुँदैन ।