अभियान संवाददाता
विराटनगर । भारतबाट आयात हुने विद्युत् कटौती भएपछि मोरङका औद्योगिक प्रतिष्ठानहरू विद्युत् आपूर्ति प्रभावित हुने चिन्तामा छन् । बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म पूर्ण रूपमा विद्युत् कटौती गरिने चर्चा र हल्ला बढेपछि उद्योग संगठन मोरङले यस विषयमा आफ्नो ध्यानाकर्षण गराएको जनाएको छ ।
गत पुसदेखि नै अघोषित रूपमा दैनिक ४–६ घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुँदै आएकोमा अहिले समस्या थप बढ्ने चिन्ता उद्योगीहरूको छ । विद्युत् आपूर्तिमा हुने समस्याको तत्काल समाधान खोज्न उद्योग संगठन मोरङले नेपाल सरकार, नेपाल विद्युत् प्राधिकरण लगायत सम्बन्धित निकायहरूसँग माग गरेको छ । विगत पाँच–सात वर्षदेखि नै हरेक सुक्खायाममा विद्युत् आपूर्ति अवरुद्ध हुँदा संगठनले लगातार सम्बन्धित निकायमा आवाज उठाइरहेको बताएको छ । प्रसारण लाइन, सबस्टेशन लगायत वितरणका पूर्वाधार निर्माण भइसकेपछि यस्तो समस्या नआउने आश्वासन दिइए पनि हाल भारतबाट आयात हुने विद्युत् कटौतीका कारण औद्योगिक सञ्चालन क्षमता घटेको बताइएको छ । उद्योग संगठनले विद्युत् आपूर्तिको दीर्घकालीन व्यवस्थापनमा कुनै ठोस पहल नभएकोमा चिन्ता व्यक्त गरेको छ । यसले उद्योगहरूमा दैनिक ६ देखि १२ घण्टासम्म विद्युत् आपूर्ति बन्द हुने सम्भावना बढेको संगठनको आकलन छ ।
‘नेपालमा प्रचुर मात्रामा जलस्रोत उपलब्ध भए तापनि दीर्घकालीन जलविद्युत् योजना निर्माण नहुँदा औद्योगिक क्षेत्रले गुणस्तरीय विद्युत् आपूर्ति पाउन सकेका छैनन्,’ संगठनले विज्ञप्तिमार्फत भनेको छ, ‘ऊर्जा उद्योगको आधारभूत कच्चा पदार्थ हो । मागअनुसार विद्युत् नियमित रूपमा उपलब्ध नहुँदा नयाँ लगानी प्रभावित हुने तथा लगानीकर्ताहरू जोखिममा पर्ने समस्या उत्पन्न भएको छ ।’
उद्योग संगठन मोरङले नेपाल सरकार, ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् आपूर्तिसम्बन्धी योजना सार्वजनिक गर्न माग गरेको छ । सुक्खायाममा हरेक वर्षयस्तै समस्या दोहोरिइरहे पनि सरकारी निकायहरूबीच आपसी द्वन्द्व रहनु दु:खद भएको संगठनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।