लक्ष्मी ग्रूपले दक्षिण कोरियाली कम्पनी हुन्डाई गाडीको उत्पादन थाल्दा अर्को एउटा कम्पनीले देशभित्रै विद्युतीय चारपांग्रे गाडी उत्पादन गर्ने प्रक्रिया अगाडि बढाएको छ ।
चीनको एक कम्पनीसँग लिखित सम्झौता गरेर काम अघि बढाएको कोशी एनके मोटर्स प्रालिले १ वर्षभित्रमा विद्युतीय सवारी उत्पादन गर्न थाल्ने बताएको छ । यसका लागि शुरुआती चरणमा ३ अर्ब रुपैयाँ लगानी हुने कोशी एनके मोटर्सका अध्यक्ष टीकाराम पुरीले जानकारी दिए ।
देशभित्र विद्युतीय गाडी लोकप्रिय भइरहेका बेला कोशी एनके मोटर्सले चिनियाँ कम्पनी स्यामन गोल्डेन ड्रागन अटोबडी कम्पनीसँगको सहकार्यमा देशभित्रै विद्युतीय चारपांग्रे गाडी उत्पादन गर्ने तयारी थालेको हो । दुई कम्पनीबीच वैशाख १७ गते सम्झौता भएको थियो ।
एनके मोटर्सले विराटनगरसँग सीमा जोडिएको बूढीगंगा गाउँपालिकामा १५ बिगाहा जमीनमा उद्योगको नक्सापास गरेको छ भने असोज महीनादेखि उद्योगको भवन निर्माणको थालनी हुने र १ वर्षभित्रमा नै उद्योग सञ्चालनमा आउने पुरीले जानकारी दिए । पुरीका अनुसार नेपालमै उत्पादन हुने विद्युतीय सवारी अन्यको तुलनामा ३० प्रतिशत सस्तो पर्नेछ ।
हालको योजना अनुसार पहिले विद्युतीय बस, माइक्रो बस, पिकअप भ्यान र कारको उत्पादन थालिनेछ । चीनका विभिन्न अन्य कम्पनीहरूसँग पनि पाट्र्सको सम्झौता भइसकेको छ । पहिलो चरणमा २२ सिटे स्कूल बस उत्पादन गरिने पुरीले बताए ।
मागको आधारमा शुरूमा करीब ५ सय थान विद्युतीय स्कूल बस उत्पादन गर्ने लक्ष्य रहेको उनले बताए । त्यसपछि क्रमश: सबै किसिमका चारपांग्रे सवारीसाधन उत्पादन गरिनेछ । स्कूल बससहित पब्लिक बस, माइक्रो बस र विद्युतीय कारसमेत उत्पादन गर्ने पुरीले बताए ।
‘कम्पनीले नेपाली परिवेश र आवश्यकताअनुसार प्रत्येक महीना ७५० ओटा गाडी उत्पादन गर्नेछ,’ पुरीले भने । कम्पनीले उत्पादन गर्ने विद्युतीय गाडी पेट्रोलियम पदार्थबाट चल्नेभन्दा ३० प्रतिशत सस्तो पर्ने उनको भनाइ छ ।
यस अघि हुलास कम्पनीको मुस्ताङ म्याक्सले मेड इन नेपाल भनेर डिजेलबाट चल्ने चारपांग्रे सवारी उत्पादन गरेको थियो । मेड इन नेपाल लेखिएको पहिलो विद्युतीय सवारी आफ्नो हुनेमा पुरी विश्वस्त देखिए ।
स्यामन गोल्डेन ड्रागन अटोबडी कम्पनीले चारपांग्रे सवारी र त्यसका पाटर््सको उत्पादन गर्दै आएको छ । उक्त कम्पनीसँगको सहकार्यले नेपालमै गुणस्तरीय र आधुनिक विद्युतीय सवारीसाधन उत्पादन तथा बजारीकरण गर्न मद्दत पुग्ने विश्वास अध्यक्ष पुरीले गरेका छन् ।
आर्थिक वर्ष २०८०/२०८१ मा ४ अर्ब ६२ करोड लगानी गर्ने गरी विद्युतीय सवारी एसेम्बल गर्ने छ ओटा कम्पनी उद्योग विभागमा दर्ता भएका छन् । तिनमा कोशी एनके मोटर्स तीन अर्ब, एशिया भेहिकल्स ८६ करोड ८० लाख, नेपाल जियाक्सिङ न्यु इनर्र्जी ४ करोड, जेम्स ग्रिन इलेक्ट्रो मोबिलिटी २८ करोड, नेपाल कोरियन ई–भेहिकल ४० करोड र कर्ल इलेक्ट्रिक अटो २ करोड ७५ लाखमा स्थापना गर्ने गरी दर्ता गरिएका हुन् ।
अहिलेसम्म दुईपांग्रे र चारपांग्रे सवारीसाधनका गरी आठओटा एसेम्ब्ली प्लान्ट सञ्चालनमा आइसकेका छन् । योबाहेक अढाई दर्जन एसेम्ब्ली प्लान्ट सञ्चालनका लागि दर्ता भएका छन् ।
नवलपरासीको रामग्राममा बजाजको एसेम्ब्ली प्लान्ट सञ्चालनमा आएको ७ वर्ष भयो । त्यसयता यात्री, टीभीएस, रोयल इन्फिल्ड, यामाहा, हिरो, क्रश एक्स ‘सिएक्स’ र हुन्डाईको एसेम्ब्ली प्लान्ट खुलिसकेका छन् । तीमध्ये सातओटा दुईपांग्रे मोटरसाइकल र स्कूटर र हुन्डाईको चारपांग्रे कारप्लान्ट रहेका छन् । यात्री र क्रश एक्स देशमै डिजाइन गरेर उत्पादन भइरहेको स्वदेशी ब्रान्ड हो ।
हालै मात्र यात्रीसँग चर्चित व्यावसायिक घराना सिप्रदी समूहले साझेदारी गर्ने सम्झौता गरेको छ । भारतीय टाटा गाडीको विक्रेता सिप्रदीको प्रवेशसँगै यात्रीले विद्युतीय मोटरसाइकलसँगै स्कूटर पनि उत्पादन गर्ने लक्ष्य लिएको छ ।