वीरगञ्ज । वीरगञ्ज नाकाबाट भित्रिने अधिकांश वस्तुको आयात निरन्तर ओरालो लागेको छ । आयातमा आधारित आपूर्ति व्यवस्थामा आयात घट्नु सकारात्मक भए पनि आन्तरिक उत्पादनसमेत घटेकाले यो चिन्ताको विषय भएको सरोकारवाला बताउँछन् ।
भन्सार विभागका अनुसार चालू आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो त्रैमासमा वीरगञ्ज भन्सारबाट १ खर्ब २७ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ । गत आवको सोही अवधिमा १ खर्ब ३७ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । चालू आव पहिलो त्रैमासमा वीरगञ्ज आईसीपी भन्सार कार्यालय हुँदै आयात हुने मुख्य वस्तुको परिमाण घटेपछि राजस्व पनि प्रभावित भएको भन्सार कार्यालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांकमा उल्लेख छ । यो नाकाबाट मूलरूपमा आयात हुने इन्धन, सवारीसाधन र औद्योगिक कच्चा पदार्थ हुन् ।
कोरोना महामारीयता यी सबै वस्तुको आयात परिमाण वर्षेनि घटिरहेको छ । सरकारले नियन्त्रणको नीति लिएपछि आयात खस्किन शुरू गरेको हो । सरकार उक्त नीतिबाट पछि हटे पनि आयात सुध्रिएको छैन ।
यो नाकाबाट आयात हुनेमा इन्धन, सवारीसाधन र औद्योगिक कच्चा पदार्थ मुख्य रहेकोमा ती सबै वस्तुको आयातमा उल्लेख्य ह्रास आएको आईसीपी भन्सारका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले बताए । भन्सारले वेबसाइटमा राखेको तथ्यांकअनुसार चालू आवको साउन, भदौ र असोज महीनामा गत आवको सोही अवधिको तुलनामा सबैजसो वस्तुको पैठारी परिमाण र त्यसबाट आउने राजस्व घटेको देखिन्छ ।
इन्धन आयात निरन्तर ओरालो
सबैभन्दा बढी भित्रिने डिजेल आयातमै २५ प्रतिशतले कमी आउँदा यसबाट उठ्ने राजस्वमा २७ प्रतिशत गिरावट आएको छ । चालू आवको ३ महीनामा भारतबाट १२ अर्ब रुपैयाँ बराबरको १३ करोड ५५ लाख १८ हजार लिटर डिजेल आयात भएको छ ।
जब कि गत आवको सोही अवधिमा १८ करोड १४ लाख ८० हजार लिटर यस्तो इन्धन भित्रिएको थियो ।
विद्युतीय सवारीसाधन आयात बढ्नु र खाना पकाउन विद्युतीय चूल्होको प्रयोगले इन्धन आयात घटेको हुन सक्ने भन्सार अधिकारी बताउँछन् । देशभित्रै विद्युत्को खपत बढ्नु र विकास निर्माणका काममा शिथिलता आएकाले इन्धनको खपत घटेको हुन सक्ने प्रमुख भन्सार प्रशासक लामिछानेले बताए ।
खाना पकाउने ग्यासको आयात परिमाण पनि ३१ प्रतिशतले घट्दा राजस्वमा १४ प्रतिशत कमी आएको छ । गत आवको पहिलो ३ महीनामा ६ अर्ब ३९ करोड रुपैयाँ बराबरको ७ लाख २१ करोड किलोग्राम एलपी ग्यास आयात भएकोमा यो परिमाण चालू आवमा ४ करोड ९८ लाख किलोग्राममा खुम्चिएको तथ्यांक छ ।
पेट्रोल आयात ९ करोड ६४ लाख लिटरबाट ७ करोड ४७ लाख लिटरमा झरेको छ । हवाई उडानमा खपत हुने इन्धन आयात २३ प्रतिशतले घट्दा यसबाट उठ्ने राजस्व ३३ प्रतिशतले घटेको भन्सारको तथ्यांक छ ।
नेपाल उद्योग वाणिज्य महासंघ व्यापार समितिका अध्यक्ष सुबोधकुमार गुप्ता स्वदेशमा उत्पादन र खपत बढेर आयात घटेमात्रै त्यसलाई सकारात्मक मान्न सकिने बताउँछन् । ‘विद्युतीय सवारीसाधनको प्रयोग केही हदसम्म सकारात्मक भए पनि विकास निर्माणका काम ठप्प भएकाले इन्धनको खपत घटेको देखिन्छ । यसरी घटेको आयातबाट खुशी हुनुपर्ने स्थिति छैन,’ अध्यक्ष गुप्ताले भने ।
पछिल्लो समय विद्युत् आपूर्ति झन् समस्याग्रस्त बन्दै गएको वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपाल बताउँछन् । ‘उद्योगमा विद्युत्को नियमित आपूर्ति छैन । पछिल्लो समय औद्योगिक प्रतिष्ठानहरूमा विद्युत्को आपूर्ति नियमित नभएको गुनासो बढ्न थालेको छ । यस्तो अवस्थामा विद्युत् आपूर्ति प्रभावकारी भएर इन्धनको आयात घटेको ठान्नु आत्मरतिमात्रै हुन सक्छ,’ राजपालको तर्क छ ।
सवारीसाधनको आयात खस्कियो
जीप, कार र भ्यानको आयात परिमाण ६६ प्रतिशतले घटेको छ । गत आवको शुरूका ३ महीनामा ६३४ ओटा यस्ता साधन आयात भएकोमा चालू वर्षको सोही अवधिमा यो संख्या २१५ मा सीमित भएको छ । विद्युतीय
सवारीसाधनको आयात बढेको र त्यस्ता सवारी अधिकांश उत्तरी नाकाबाट भित्रिएकाले वीरगञ्जबाट यो परिमाण कम देखिएको प्रमुख भन्सार प्रशासक लामिछानेको भनाइ छ । विद्युतीय कार, जीप र भ्यानको आयात परिमाणसमेत चालू आवको ३ महीनामा गत आवको तुलना अवधिभन्दा करीब ६५ प्रतिशत न्यून छ । गतवर्ष पहिलो त्रैमासमा १९० ओटा यस्ता साधन आयात भएकोमा यसपालि यो संख्या ६७ मात्रै छ ।
बस र ट्रकको चेसिस, ट्रक, मिनीट्रक, पिकअप र डेलिभरी भ्यान, ट्याक्टर, तीनपांग्रे विद्युतीय सवारीसाधन, मोटरसाइकल र मोटर पार्ट्स सबैको आयात खस्किएको छ ।
घट्यो औद्योगिक कच्चा पदार्थ
औद्योगिक कच्चा पदार्थ आयात पनि खुम्चिएको छ । सरकारले आयातमा लगाएको नियन्त्रण र प्रतिबन्ध हटाए पनि आयातमा त्यसको प्रभाव देखिएको छैन । ‘बजारमा माग घटेपछि उत्पादनमा कमी आएको छ । अधिकांश उत्पादनमूलक उद्योगले उत्पादन कटौती गरेका कारण त्यसको असर कच्चा पदार्थको आयातमा समेत देखिएको हो,’ उद्योगी सुरेश रुँगटाले भने ।
रुँगटाका अनुसार अहिले उद्योगहरूको औसत उत्पादन क्षमताको ३०/३५ प्रतिशतमा खुम्चिएको छ । यो नाकाबाट मुख्य रूपमा प्रशोधित तेल उत्पादन गर्ने उद्योगले अर्धप्रशोधित तेल, फलाम उद्योगको कच्चा पदार्थ आउने गरेकोमा ती सबैको आयातमा कमी आएको छ ।
स्वदेशी उत्पादनको खपत बढेर यस्ता वस्तुको आयात घटेको भएमात्रै त्यसलाई सकारात्मक भन्न सकिने व्यवसायी नवनीत अग्रवाल बताउँछन् । स्वदेशमा उत्पादन पनि घट्ने र इन्धन र कच्चा पदार्थको आयात ओरालो लाग्दा अर्थतन्त्र मन्दीमा रुमलिएको स्पष्ट हुने अग्रवालको भनाइ छ ।
भारतले हालै तेल आयातमा कर बढाएपछि निकासी बढ्ने अपेक्षा गरिएकोमा त्यसको प्रभाव देखिइसकेको छैन । अधिकांश उद्योगले कच्चा पदार्थ मौज्दातमा नराखेको र भित्त्याएर उत्पादन गर्न २ महीनासम्म लाग्ने भएकाले भारतीय नीतिको प्रभाव देखिन समय लाग्ने उद्यमीहरूले बताए ।
यो नाकाबाट भित्रिने सूर्यमुखी, पाम आयल र भटमासको अर्धप्रशोधित तेलको आयात परिमाण क्रमश: ५६, ५८ र २ प्रतिशतले घटेको देखिन्छ । यी वस्तु स्वदेशमा प्रशोधन गरी भारत निकासी हुँदै आएकोमा निकासी प्रभावित भएपछि स्वदेशी बजारमै सीमित थिए ।
भन्सार विभागका अनुसार चालू आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो त्रैमासमा वीरगञ्ज भन्सारबाट १ खर्ब २७ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ । गत आवको सोही अवधिमा १ खर्ब ३७ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।