वीरगञ्ज । निजी सवारीसाधन लिएर आएका भारतीय पर्यटकले नेपाल प्रवेश गर्दा भन्सारमा सवारी दर्ता प्रमाणपत्र (आरसी)को सक्कल देखाउन नसकेकै कारण हैरानी खेप्नुपर्ने अवस्थाको अन्त्य भएको छ । वीरगञ्ज भन्सार कार्यालयले सवारीधनीले आफ्नो मोबाइलमा देखाएको विवरण अनलाइनमार्फत हेर्दा प्रमाणित भएमा ‘सहजीकरण’ गर्न थालेको भन्सार अधिकारीहरूले बताएका छन् ।
भारतमा सक्कल काजगात आवश्यक नपर्ने भएकाले कतिपय भारतीयले सक्कल कागजपत्र नबोकी आउने गरेका छन् । ‘यस्तोमा सहजीकरण नगर्दा पर्यटकहरूले अनावश्यक हैरानी बेहोर्नु परेकाले उनीहरूले देखाएको कागजात अनलाइनमा भिडाउँदा मिलेमा प्रवेश अनुमति दिने गरिएको छ,’ वीरगञ्ज भन्सारका एक जना अधिकारीले भने । आरसीको विवरण अनलाइनबाटै हेर्न सकिने भएकाले सहजीकरण सहज भएको हो । भन्सारले भारतीय सवारीसाधनलाई सुविधा पास वा दैनिक भन्सार महशुल लिएर प्रवेश अनुमति दिने गरेको छ ।
सुविधा पासमा महशुल लाग्दैन । यो एकपटकमा २४ घण्टाका लागि दिइने भन्सारले बताएको छ । आफ्नो सवारीसाधन लिएर १ दिनभन्दा बढी नेपाल बस्न चाहने भारतीयले दैनिक ५६५ रुपैयाँका दरले महशुल बुझाउनुपर्छ । आरसीको सक्कल काजगात नलिई आएका भारतीयलाई सहजीकरणका नाममा नाकामा बिचौलियाले अनधिकृत रकम दोहन गर्ने गरेकाले त्यसको निकासका लागि सहजीकरण गरिएको भन्सार अधिकारीहरूले बताए ।
सवारीसाधन लिएर आएका भारतीय पर्यटकबाट अनधिकृत रकम लिएर बिचौलियाले भारतीय शहर रक्सौलमा नक्कली कागजात बनाउने गरेका छन् । ‘पर्यटकले सिमानामा आएर हैरानी भोग्नु नपरोस् भनेर सक्कल कागजात नभएको अवस्थामा अनलाइनबाट भेरिफाई गरेर भए पनि प्रवेश अनुमति दिने व्यवस्था मिलाइएको हो,’ प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले भने ।
सुविधा पासमा कडाइ
भन्सारले सीमावर्ती वीरगञ्ज बजारसम्म भारतीय निजी सवारीसाधनलाई भन्सार महशुल नलिई ‘सुविधा पास’ दिने गरेको छ । तर, पछिल्लो समयमा यस्ता पासको दुरुपयोग बढेपछि कडाइ गरिएको भन्सारले बताएको छ । सुविधा पासमा भित्रिएका सवारीसाधन सीमावर्ती बजारमै राख्ने र भन्सार कर्मचारीको मिलेमतोमा दैनिक रूपमा घरघरमा पास पुर्याइने धन्धा चलेको थाहा पाएपछि अधिकारीहरूले नियन्त्रणको उपाय अपनाएका हुन् ।
‘अब सुविधा पास वा महशुलमा सवारी भित्त्याउन त्यस्ता सवारी भन्सारमै ल्याउनुपर्छ । भन्सारको प्रणालीले त्यस्ता सवारीसाधनको नम्बर ‘रिड’ गरेपछिमात्रै पास जारी हुन्छ,’ एकजना भन्सार अधिकारीले आर्थिक अभियानसँग भने ।
के हो आरसी ?
आरसी भारतको क्षेत्रीय ट्राफिक निकायमा सवारी दर्ताको प्रमाण हो, जसमा सवारीको दर्ता नम्बर, इन्जिन नम्बर, चेसिस नम्बर, इन्धनको प्रकार र सिट क्षमता उल्लेख गरिएको हुन्छ ।
भारतीय ब्लु बुक भारतको सवारीको मूल्य निर्देशिका हो । यो सवारी किनबेचका लागि त्यस्तो सवारीसाधनको वास्तविक मूल्य पत्ता लगाउन सहयोगी ठानिन्छ ।
स्वघोषणामा भारू भित्र्याउन पाइने
नेपाल घुमफिरका लागि आउने भारतीय पर्यटकले भन्सारमा स्वघोषणा गरेर भारतीय रुपया भित्त्याउन सक्ने भन्सारले बताएको छ । ‘भन्सारमा घोषणा गरेर भारू ल्याउन कुनै समस्या छैन । हामीले नाकामा त्यसका लागि सहजीकरण गरिदिएका छौं,’ लामिछानेले भने । यसका लागि भन्सारको यात्रु शाखामा राति १० बजेसम्म कर्मचारी खटाइएको पनि भन्सार अधिकारीहरूले बताएका छन् ।