वीरगञ्ज । हनुमान जयन्तिको अवसरमा वीरगञ्जमा निकालिएको शोभायात्रामा झडप भएपछि उत्पन्न तनावलाई सुल्झाउन लगाइएको कर्फ्यु आइतवार राति १२ बजेसम्मका लागि लम्ब्याइएको छ ।
शनिवार निकालिएको शोभायात्रालाई लक्षित गरी केही युवाले ढुंगा प्रहार गरेपछि झडप भएको थियो ।
शुरुमा शनिवार साँझ साढे ७ बजेदेखि आइतवार मध्याह्न १२ बजेसम्मको लागि कर्फ्यु आदेश भएको थियो । पर्साका पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले कर्फ्यु आदेशलाई निरन्तरता दिँदै राति १२ बजेसम्म लम्ब्याएका हुन् ।
वीरगञ्जको पूर्व बाइपास सडक, पश्चिम श्रीसिया, उत्तर गण्डक चोक र दक्षिण शंकराचार्यद्वार क्षेत्रभित्र कर्फ्यु लगाइएको हो । यो क्षेत्रमा आवतजावत, भेला, जलुश र सभासम्मेलनमा रोक लगाइएको प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ ।
शनिवार भएको झडपमा पर्साका प्रहरी उपरिक्षक गौतम मिश्रसहित २५ जना सुरक्षाकर्मी र ८ जना अन्य व्यक्ति घाइते भएका थिए । कर्फ्यु उल्लंघन गरेको भन्दै प्रहरीले चलाएको छर्रा लागेर अन्य एक जना घाइते भएका थिए ।
शनिवारको घटनामा अवस्था नियन्त्रणमा लिन प्रहरीले १४५ सेल अश्रुग्यास र २ राउण्ड हवाइ फायर गरेको प्रमुख जिल्ला अधिकारीले अर्यालले आइतवार जानकारी दिए ।
समस्या समाधानका लागि आइतवार सर्वदलीय र सर्वपक्षीय बैठक भएका थिए । सर्वदलीय बैठकमा सामाजिक सद्भाव कायम गर्न अपिल गर्ने प्रतिबद्धता गरेको छ ।
घाइते भएका सुरक्षाकर्मी, सञ्चारकर्मी, आमनागरिकहरूको स्वास्थ्य लाभको कामना गर्दै उपचारका लागि राज्यसँग माग गर्ने समझदारी भएको हो । विवाद उत्पन्न गर्ने कार्यमा संलग्न जोसुकै भए पनि तिनीहरूलाई कानूनी कारवाहीको लागि माग गर्ने प्रतिबद्धतामा सर्वदलीय हस्ताक्षर भएको छ ।